बलदीप प्रभाश्वर चामलिङ
एक लोकमा एउटा बाघ सधै स्यालहरुको बथानमा हिड्ने गर्थे । उ आफुलाई स्यालजस्तै ठान्थे र स्यालजस्तै कराउने पनि गर्थे । एक दिन कुनै अर्को बाघले त्यो बाघलाई स्यालहरु संग हिडेको देखेछ र अचम्म मान्दै भनेछ, “ओ तिम्रो हुल त्यो स्यालहरु होइन, यता हामीसंग आऊ” । तर त्यो बाघले जवाफ दियो,“ म स्याल नै हु नि, कहा तिमी जस्तो छु र ” । त्यो अर्को बाघले स्यालसंग हिडने बाघलाई घिसार्दै लगेर एउटा इनार माथि लग्यो र तल पानीमा उस्को प्रतिविम्ब हेर्न लगायो । अनि त्यो बाघले भन्यो, “ ओ मत तिमी जस्तै बाघ पो रैछु त । धत म यि स्यालहरुको भीडमा हिडिराख्या रैछु । म बाघ भएकै कारण पो यि स्यालहरुले मेरो पहिचान नदिएर मलाई स्याल नै बनाइराखेका रैछन् ” । त्यस पछि उ बाघ झै गर्जन थाल्यो । जंगलमा आफ्नो महत्वको अर्थ खोज्न थाल्यो ।
ठीक यहि भएको छ काग्रेस र कम्युनिष्टमा लाग्ने जनजातिहरुलाई । जनमुक्तिको दार्शनिक र सैद्धान्तिक शक्तिले उनिहरुलाई घिसारेर जातीयमुक्तिको ऐनामा वस्तुगत सत्यता देखाइ दिएको छ । उनिहरुको दिमाग तरंग ल्याइदिएको छ । वास्तविकताको नजिक ल्याइदिएको छ ।
हो, एम एस थापा र गोरेबहादुर खपाङ्गीहरुले यो मुलुक नेपालमा साम्प्रदायिक शासन व्यवस्था छ है भन्दा काग्रेस र कम्युनिष्ट पार्टीहरुमा लाग्ने जनजाति नेताहरुले उल्टै खिसिटिउरी गरिदिन्थे । अर्थात जनमुक्ति पार्टीको दर्शन, विचार, सिद्धान्त र घोषणापत्र “अन्धाहरुको देशमा ऐनाको व्यपार” जस्तै भएको थियो । तर अहिले ति जनजाति नेताहरुको आखां उघ्रिएको भान हुदैछ । बल्ल दष्टिलाई ऐनाको महत्व भएको छ ।
उनिहरुमा काग्रेस एमाले र माओवादीको लातले चेतना त आयो तर निर्दिष्ट पथमा खुट्टा राख्न सकिरहेको छैन । अझैपनि उनिहरुमा प्रत्योत्पन्नमति चाहि नभएको देखियो । राष्ट्रिय जनमुक्ति पार्टीको “बहुजातीय लोकतान्त्रिक समाजवाद” को सैद्धान्तिक राजमार्ग हुदाहुदै कच्चीमार्ग खोजि हिड्दैछन् । उनिहरुको चेतना भ्रुण अवस्था हुनु अगावै नेपालमा जन्मिसकेको जनमुक्ति पार्टीले स्वागतका ढोका खोलि दिदादिदै पनि अर्को पार्टी खोल्ने रे । जनजातिमात्रै नभएर बाहुनहरु पनि भएको पार्टी बनाउने रे । उनिहरुको चेत अझै पूर्णरुपले विकसित नभएको देखियो । नेपालका सिंगो बाहुन समुदायले काग्रेस–एमालेका प्रतिनिधि बाहुनहरु मर्फत नै उनिहरुलाई लात मारिएको अवस्थामा अव फेरि कुन मूर्ख बाहुनहरुले नया पार्टीमा उनिहरुलाई नेता मान्न आउलान् त ? यक्ष प्रश्न छ यो उनिहरुलाई ।
उनिहरुले नया पार्टी खोल्नु भनेको जनमुक्तिलाई अवरोध खडा गर्नु हो । जनमुक्तिलाई अवरोध सजना गर्नु भनेको यो मुलुकको सिंगो आदिवासी जनजाति, दलीत र मधेशीहरुलाई अल्मल्याउनु हो । किनकि ति समुदायहरुको भावनात्मक सम्बन्ध छ जनमुक्तिसंग । जनमुक्ति पार्र्टीसंग जनताको एक प्रकारको मनोवैज्ञानिक मोह र अपेक्षा छ, सो पार्टी प्रावृधिकरुपले अहिले जुनअवस्थामा रहेतापनि । उनिहरुले त्यो गर्नु भनेको आदिवासी जनजाति, दलित र मधेसीहरुलाई अझै केहि शताब्दी पछि धकेल्नु हो । यदि उनिहरुले आदिवासी जनजातिहरु कै हक र अधिकार चाहेको हो भने खुला दिलले जनमुक्ति पार्टीको आन्दोलनमा होष्टेमा हैसे दिन आउनु पर्छ । नत्र उनिहरुको प्रयास निरर्थक नै रहन्छ ।
जनमुक्ति हुदाहुदै अर्को पार्टी खोल्नु भनेको आमाको दुध हुदाहुदै बाउको घुडा चुस्नु हो, मुख हुदाहुदै नाकले पानी पिउने मूर्खता गर्नु हो । यसले हाम्रा मान्छेहरुलाई अल्मल्याउने र रुमल्याउने बाहेक अरु केहि गर्न सक्दैन । उनिहरुले नयै पार्टी खोलेपनि त्यसलाई पार लगाउन सक्दैनन् । उसिनेको अण्डाले चल्ला दिन सक्दैन । उनिहरुमा काग्रेस एमाले र माओवादीले पिल्साइ सकेको मानोविज्ञान छ । उनिहरुको उत्पादकत्व र सृजनात्मकताको दक्षतामा बन्ध्याकरण भैसकेको अवस्था छ । ब्याक्तिसग रिस उठ्यो भनेर पार्टी खोल्दैमा काम लाग्दैन । त्यसको लागि त दर्शन चाहिन्छ, विचार चाहिन्छ, सिद्धान्त चाहिन्छ र जनतासंगको भावनात्मक सामिप्यता पनि चाहिन्छ । तर यि सवै कुराको योग्यता छ जनमुक्तिमा ।
वस्तुगतरुपमा निश्पक्षरुपले भन्नुपर्दा जनमुक्ति पार्टीको सिद्धान्त मुलुकमा हावी भएको छ । जनमुक्ति पार्टीले उठाएको कुरा आज राष्ट्रको वहस भएको छ । सारा मुलुकवासीको चिन्तन जनमुक्ति पार्टीको विचार र सिद्धान्तभन्दा फरक छैन । जनमुक्ति पार्टीको विचारले मुलुकमा अविभावकीय भूमिका खेलिरहेको अवस्था छ । काग्रेस, एमाले र माओवादीलाई जनमुक्ति पार्टीको विचार संजीवनी गोटी भएको छ । यो अवस्थामा जनमुक्ति पार्टी राष्ट्रीय पार्टी हो । यो पार्टीलाई साम्प्रदायिकताको आरोप लगाउने कुनैपनि ठाउ छैन । सवै जातिहरुलाई नीति निर्माणको तहमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्छ भन्नु के साम्प्रदायिकता हो ? मुलुकमा संघीयता हुनुपर्छ र धर्मनिरपेक्ष हुनुपर्छ भन्नु साम्प्रदायिकता हो? साम्प्रदायिक त तिनीहरु हुन जो एक जातीय वर्चस्व कायम गराइरहनु पर्छ भनिरहेका छन् । नेपाल हिन्दु राज्य हुनु पर्छ, राष्ट्रिय जनवार गाइ नै हुनुपर्छ र संघीयता हुनुहुदैन कस्ले भनिरहेका छन् ? वास्तवमा साम्प्रदायिक त उनिहरु नै हुन जस्ले त्यसो भनिरहेका छन् ।
विना अर्थ जनमुक्ति पार्टी जन्म भएको होइन । काग्रेस, एमाले र माओवादीले जे बुझेका छन् त्यो जनमुक्तिले पनि बुझेका छन् । तर काग्रेस एमाले र माओवादीले त्यो बुझेका छैनन् जुन कुरा जनमुक्तिले बुझेका छन् । त्यस कारण वैचारिकरुप उनिहरु भन्दा जनमुक्ति पार्टी उनिहरु भन्दा सधै एक कदम अगाडि नै छ । जनतालाई श्रोतसाधनको पनि मालिक बनाउनु पर्छ र सत्ताको पनि मालिक बनाउनु पर्छ भन्ने पार्टी जनमुक्ति नै हो । जनताको बहुआयामिक आकांक्षालाई सम्बोधन गर्ने जनमुक्ति विचारधार(Janamukti Thought) भनेको बहुजातीय लोकतान्त्रिक समाजवाद हो । जो विचार काग्रेस एमाले र माओवादीको भन्दा एक कोश अगाडि नै छ ।
यस्तो विचार र चिन्तन भएको पार्टीलाई सकुचित र जातिवादी देख्नु भनेको यहा भन्दा ठूलो पूर्वाग्रह र मुर्खता अरु हुन सक्दैन । के कुनै खेतालो अर्काको खेतमा गएर खनजोत गर्दैमा त्यो खेत उस्को हुन्छ ? हुदैन । त्यो खेत त मालिक कै हुन्छ किनकी त्यसको धनीपूर्जा मालिक कै नाममा हुन्छ । यहि कुरा जनजातिहरुले नबुझेका हुन । काग्रेस, एमाले र माओवादीमा पनि छन् जनजाति । तर उनिहरुको हैसियत भनेको भोटर्स र कार्यकर्ता हो । कुनै पद पाए नाम मात्रको पद पाएका छन् । एमालेका अशोक राई, सुवास नेम्बाङ, काग्रेसका भिम बहादुर तामाङ, कुलबहादुर गुरुङजस्ताहरु “बादरको पुच्छर लौरो न हतियार” मात्र हो । तिनीहरु जनजातिको लागि कुनै कामका पात्रहरु होइनन् । अरुको के कुरा गर्नु माओवादीका रामबहादुर थापामगरको हालत हेरे सवै प्रस्ट हुन्छ । वरियाती क्रममा उ भन्दा तलका सचिव सीपी गजुरेल उनलाई उछिनेर उपाध्यक्ष भएका छन् । उसलाई यसको अर्थ नै थाहा छैन । अध्यक्ष भन्दा ठूलोपद महासचिव नै लाग्दो रैछ उनलाई । गाउघरका सोझा मान्छेलाई मेजर, क्याप्टेन भन्दा हवल्दार नै ठूलो पद लागेजस्तो उनलाई पनि भएको देखिएको छ ।
काग्रेस, एमाले र माओवादीमा जनजातिहरु लाग्दैमा सवैको पार्टी बन्न सक्दैन रहेछ भन्ने कुरा त बल्ल थाहा पाए । ठूलो कुरो त त्यो पार्टीमा नेतृत्व हो । वास्तवमा भन्नुपर्दा ति पार्टी भनेको त विशुद्ध बाहुनहरुकै पार्टी हो । किनकी ति पार्टी खोलेकै उनिहरुले हो । जनजाति, दलित र मधेशीहरु भ्रममा परिरहेका मात्र हो । उनिहरु त मालिकको खेत जमीन खनजोत गर्नमात्र गएका हुन । उनिहरु त काग्रेस एमाले र माओवादीका राजनैतिक कमैया मात्र हो । यदि काग्रेस एमाले र माओवादी त्यसो हुन्नथ्यो भने संविधानसभा किन विघटन गराइयो जस्ले आदिवासी जनजातिहरुलाई पहिचान सहितको संघीयता दिन सक्थ्यो ? जनजाति नेताहरुले अव बुझ्ने बेला आएको छ ।
प्रकृतिको नियम यो छ कि हरेक नदीनाला र खहरेहरु समुद्रमा मिल्नैपर्छ बादल बन्नको लागि । अनिमात्र वर्षात हुन्छ र धर्ती हराभरा । त्यसै गरि विभिन्न छरिएर रहेको जनजाति, दलित, मधेसी र पिछडिएको समुदायहरु जनमुक्ति पार्टीको राजनैतिक विचार र सिद्धान्तको समुद्रमा मिसिनै पर्छ नेपाल बनाउन को लागि । सवैको भविष्य सुनिश्चि गर्न लागि । किनकी जनमुक्ति पार्टी भनेको मजदुरको पार्टी हो । पिछडाइएकाहरुको पार्टी हो । आदिवासी जनजाति, दलित र मधेशीहरुको पार्टी हो । यो पार्टी भनेको क्षेत्रीवाहुनहरुको पनि पार्टी हो किनकी क्षेत्रीवाहुनहरुको भविष्य यो मुलुकका आदिवासी जनजाति, दलित र मधेसीहरुको वर्तमानसंग जोडिएको छ । यो मुलुकका आदिवासी जनजाति, दलित र मधेसीहरुको वर्तमान विग्रनु भनेको कसैको पनि भविष्य सुनिश्चित नहुनु हो । त्यसकारण देश बनाउने जनमुक्ति पार्टीको एकमात्र मूल सिद्धान्त हो– बहुजातीय लोकतान्त्रिक समाजवाद(Multinational Democratic Socialism) ।
