बि. के . राना मगर, अध्ययन र अनुसन्धान गरेर कुरा गरियो भने कुरा मिल्छ, नत्र मिल्दैन | त्यसै सतहमा लेख्न थालियो भने त्यसले ठीक संदेश दिन सक्दैन, उल्टो भ्रम पैदा गर्दछ | ‘राखी’ त्यौहार मगर जातिको हो र हुने पर्छ भनेर हामीले कहिँ कतै लेखेका छैनौ वा त्यसरी वकालत गरिएको छैन | त्यसो भन्न खोजिएको पनि छैन | तर कसैले कुनै चाडपर्व वा त्यौहार मनाउछु भन्छ भने वा मनाउन चहान्छ भने त्यसलाई उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो भनेर पनि बुझ्न सक्नु पर्छ | त्यसलाई रोक्न मिल्छ र ?
नवलपरासी जिल्लाको अर्खलाका मगरहरुलाई गेरी शेफर्डहरुले सन् १९८२ मा ‘लाइफ अमंग द मगर्स’ (Life Among the Magars ) भन्ने किताब अंग्रेजीमा लेखिकन सरकारको आंखोमा छारो हालेर नेपाली भाषामा चाहिँ ‘सारचो कुरा’ भन्ने बाइबल ‘मगर कुरामा’ लेखेर त्यहाका मगरहरुलाई ‘तिमीहरु अब मेरा साथ ईशाई बन’ भन्दा ति सरल मिजासका मगरहरु भटाभट इसाई बन्छन भने त्यसलाई रोक्ने कुनै छ उपाय त ? कसले रोक्यो त ?
त्यो ‘सारचो कुरा’ का बारे २०५७ पौष महिनाको अन्तिम साता पाल्पाको एउटा वृहत सभामा एकजना वृद्ध मगर बाजेले सुनाउदा हामीले त्यसबारे आफ्नो कुरा राखेका थियौ | उनै गेरी शेफर्डहरुलाई मगर समाजले अझै पनि अभिनन्दन गर्ने गरेको कुरा छापामा आउने गरेकै छ | यसैगरी डेभिड वाट्टरसका परिवारका सबै सदस्य लगाएत माइक अपिज़हरु सबैजना एकसाथ लागेर रुकुम रोल्पाका मगरहरुलाई पनि इसाई बनाएका रहेछन भने त्यसको जवाफ चाहिँ कसले दिने नि ? यस सन्दर्भमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सन् २००२ मा आयोजना गरेको राष्ट्रिय भाषा नीति सम्बन्धी एक राष्ट्रिय संगोष्टीमा, त्यसरी नेपालमा इसाईकरणको निम्ति अन्तराष्ट्रिय ठेक्का लिएको संस्था SIL को प्रतिनिधिका सामुन्ने यो लेखोटको लेखनदासले अर्थात् यो बि. के . राना मगरले कडा शव्दमा प्रतिवाद गरेको तर नेपालका सबैजसा नामी सुनामी प्राध्यापक, भाषाविदहरुले चाहिं चुँ सम्म नगरेका कुरा अहिले पनि झल्झली सम्झना भै रहेको छ |
त्यसैले यस्ता कुराहरुमा आफ्नो चस्माले मात्र हेर्नु हुदैन | अरुको चस्माले हेर्न सिक्नु पर्दछ | समय अनुसार समाजमा सांस्कृतिक परिवर्तन हुन्छ भन्ने कुरा नबुझ्दासम्म राज बलिहांगको कुरा गर्दा हिन्दु संस्कृतिसंग मात्र जोड्न चाहेको भन्ने भ्रममा परिन्छ | वस्तुत : यहाको आदिवासी समुदायको संस्कृतिमा श्रुति, परम्परा र पुराणका मनगडंत कुरा सुहाई नसुहाई जोडेर हिन्दु संस्कृतिका पृष्ठपोषकहरुले आफ्नो बनाएर हैरान पारे भनेर खुलेर लेख्ने अर्को को थियो त त्यसबेला ? (‘समदृष्टि साप्ताहिक’ २०५५ साल भदौ २० को अंकमा हेर्नु होला – ‘मगर भाषाको नेपाली भाषामा प्रभाव बारे केही कुरा ‘ शीर्षकको मेरो एउटा लेख ) | यस्ता सवालहरुमा धुरन्धर भनेर कहलाइएका विद्वान् प्राध्यापकहरुसंग बहस गरेको झन्डै २०/२२ वर्ष भै सकेको छ | राजा बलिहांगलाइ ‘मगर राजा’ हुनु पर्दछ भनेर लेखेको आज होइन, झन्डै १६ वर्ष पहिले लेखेको हो यो गोरखाको राना मगरले | अब अहिले आएर इतिहासका केही धुरन्धर विद्वानहरुले स्वीकारेका छन् , बेठीक लाग्दैन | खै त, ति बलिहांगलाइ ‘मगर राजा’ थिए भनेर कसले, कहिले लेख्यो त यो अदना बि. के. राना भन्दा पहिले ? यो ‘राखी’ संस्कृति नेपालमा पनि व्यापक भएर गएको प्रमाण हो हाम्री बहिनी अनिता रानाको हिजो विहानको ‘राखी ‘| त्यसबारे कुरा गर्नुको मतलब मगर समाजमा पनि राखी संस्कृति भित्य्राईनु पर्दछ भन्ने थिएन | आफु खुशी जता मन लाग्यो त्यता लगियो भने त्यो कुरा मिल्दैन | अनिता बहिनीले ‘राखी’ को संदेश पठाए पछि जवाफमा सो कुरा लेखिएको हो | हिन्दु संस्कृति मान्ने रानी कर्णावती र मुस्लिम बादशाह ह्युमायुको प्रसंग पनि त्यसबेलाको ‘राखी संस्कृति’ र त्यसले तत्कालिन समाजमा पारेको प्रभावको कुरा गरेको हो | दाज्यू र बहिनी बीचको पवित्र सम्बन्धको कुरा गरेको मात्र हो | मगर समाजमा पनि त्यस्तो हुनै पर्दछ भनेको होइन तर राम्रा कुराहरुलाई स्वीकार गर्दा राम्रै हुने हुन्छ भन्न चाहेको मात्र हो | राजा बलिहांग र तिहारको प्रसंगमा ११/१२ वर्ष पहिले नै संछिप्त भाषा बैज्ञानिक विश्लेषण गरेर कान्तिपुरमा छपाई सकिएको छ | राजा बलिहांगको कुरा तिहारमा मात्र सिमित राख्न सकिन्न | जसरी माघे संक्रान्तिलाइ पनि आदिमकाल देखिनै सारा सन्सार भर मनाइन्छ , यो राखी संस्कृतिको प्रसंग पनि त्यस्तै हो |
अब ऐतिहासिक भाषा विज्ञानका आधारमा ‘राना’ वा ‘राणा’ बारे कुरा गर्दा संस्कृत भाषाको ‘राजा’ भन्ने शव्दको राम्रो अनुशीलन गरिएन भने, अर्थात् त्यो शव्द कसरी ‘राजा रामका’ पालामा सूर्यलाइ किन त्यससंग जोडियो भन्ने राम्ररी नबुझिए सम्म नेपालका मगरहरुलाई पनि चित्तौरको महाराणा प्रतापको कुरासंग जोड्न खोजेको भन्ने भ्रम हुन जान्छ |
राजा बलिहांगको प्रसंगमा बलिहांगलाइ अशुर वा राक्षस मान्ने विष्णु पुराणका महापण्डित, मठाधिस वा सो पुराणका ठेकेदारहरु अर्थात् आज नेपाल भन्ने मुलुकमा आफ्नो मात्र एकक्षत्र हैकम चलाउनेहरुका विरुद्द त्यो आवज उठाइएको थियो भन्ने नबुझिनु विडम्बना नै हो | यो त कस्तो भो भने पृथ्वीनारायण शाहलाई कुनै एकजना राजनीतिक नेता वा लेखकले( कुनै स्थापित इतिहासकारले होइन, त्यसैले त्यो कुनै प्राज्ञिक हो होइन छलफलको विषय बन्छ |) ‘मगर’ लेखे भन्दैमा आकासै झ्याम्मै खसेको झैं ठानेको जस्तो हुन गो | त्यही कुरा स्वयं द्रव्य शाहका सन्तति अन्तराष्ट्र्य स्तरमा नै ख्याती प्राप्त विद्वान ऋषिकेश शाहले आफ्नो पुस्तक ‘प्राचीन तथा मध्ययुगको नेपाल’ अर्थात् (Ancient and Medieval Nepal ) मा सन् १९९२ मा नै लेखिसकेका हुन भन्ने हेक्का हुनु पर्ने कुरा थियो | त्यही कुरा ह्यामिल्टनले पनि सन् १८१९ मा नै लेखिसकेका हुन, अरुहरुले पनि लेखेका छन् र यो बि. के. रानाले पनि लेखेको छ नि | त्यो कुन नौलो कुरा भो त ? यस्ता कुराहरुमा ध्यान दिनु आवस्यक हुन्छ |