पृथ्विनारायण शाह मगर थिए र त देशभक्त थिए

Read Time:12 Minute, 12 Second

 

प्रदिप नेपाल

विश्वमा एउटै मात्र यस्तो एउटा देश छ, जो कहिल्यै, कसैको उपनिवेश भएन । विश्वका दुई सयको हाराहारीमा अहिले स्वतन्त्र भनिएका राष्ट्रहरू आफ्नो इतिहासको कुनै न कुनै कालखण्डमा बेलायत, फ्रान्स, स्पेनलगायतका युरोपेली मुलुकका उपनिवेश भए । नेपालमै पनि झन्डै त्यो दासताको छायाँ पसिसकेको थियो । काठमाडौँ कब्जा गर्ने उद्देश्यले पटनाबाट हिँडेको अंग्रेजी फौजलाई नेपाली फौजले सिन्धुलीगढीबाटै ओरालो नलाइदिएको भए आज हामी, हाम्रो नेपाल र हामी नेपालीको परिचय बोकेर उभिन पाउने थिएनौँ । सियो बनेर छिर्ने र फाली बनेर निस्किने बेलायती उपनिवेशवाद, खालि जयप्रकाश मल्ललाई सघाउन मात्र काठमाडौँ उपत्यकताभित्र छिर्न खोजिरहेको थिएन । काठमाडौं खाल्डामा राज गरेपछि नेपाल नामको बलियो अस्तित्वलाई समाप्त गरेर बेलायती साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन भन्ने उखान सार्थक तुल्याउन त्यो नेपाल छिर्ने कोसिसमा थियो । व्यक्तिगत रूपमा जति रिस उठे पनि नेपाल नाम गरेको स्वतन्त्र राष्ट्र भनिने परिचय पाएको यो नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले बेलायती उपनिवेशवादलाई पराजित गरेका थिए भन्न संकोच मान्नु भनेको कुनै पनि नेपालीले आफ्नै परिचयलाई तिरस्कार गर्नु हो ।

हाम्रा कतिपय समाजशास्त्रीहरूसमेत पृथ्वीनारायण शाहलाई ‘विस्तारवादी’ को आरोप लाउँछन् र ठकुरी क्षत्री भएको हुनाले उनी हरहिसाबले फटाहा हुन् भन्ने निष्कर्ष निकाल्छन् । थोरै अध्ययन गरिदिए यी दुवै भ्रम समाप्तै हुन्थे । पृथ्वीनारायण शाह ठकुरी थिएनन् जन्मले । उनी थिए खाँट्टी मगर । द्रव्य शाहबाट नेपालको इतिहास खोज्ने चलन छ नेपालमा । ती द्रव्य शाह मगर थिए र दौडबाटै तिनले लिगलिगकोटको राज्य जितेका थिए । मगर भएकै हुनाले तिनले गोर्खाका खड्कालाई पराजित गरेर त्यहाँ मगर राज्यको स्थापना गरेका थिए । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मको ज्यानमा मगर जातिको शुद्ध रगत बगेको सच्चाइलाई सबैभन्दा पहिले, प्रदीप लाफा मगरले सार्वजनिक गरेका थिए । यो सच्चाइलाई नेपालका विद्वान्, स्वर्गीय हृषिकेश शाहले पुष्टि गरेका थिए । शाह राजाहरूको कुलदेवता मानिएको स्याङ्जाको आलमदेवीको पुजारी मगर हुनु, अत्यन्तै चर्चित मनकामना माईका पुजारी पनि मगर हुनु, फुपूचेला मामाचेलीको संस्कार नेपालका राजाहरूमा विद्यमान रहनुजस्ता घटनाले पृथ्वीनारायण शाहसम्मको मगरत्वलाई प्रमाणित गर्छन् । सेन राजाहरू मगर थिए भन्नेमा सायद कसैको विमति नहोला । पृथ्वीनारायण शाहको पहिलो विवाह तिनै सेन राजाकी छोरीसँग भएको थियो ।

हो, पृथ्वीनारायण शाहपछि नेपालको राजवंश वर्णशङ्कर हुँदै गयो । मगर रानीको माइतीसँग झगडा परेपछि पृथ्वीनारायण शाह, आफ्नो राज्य विस्तारको सपना बोकेर शिक्षादीक्षा लिन बनारसतिर लागे । त्यहाँ गएपछि उनले आफ्नो मगर मूललाई तिलाञ्जली दिए गङ्गा नदीको किनारमा । उनले गोत्र फेरे । राजपूत कन्यासँग बिहे गरे र क्षत्रीभन्दा माथिल्लो जात हुन जेजे गर्नुपथ्र्यो त्यो सबै गरे । पृथ्वीनारायण शाहपछि ठकुरी हुने प्रक्रियामा लागेका शाह राजाहरू सबै अयोग्य, स्वार्थी, स्त्रीलम्पट भएर आफ्नै खुट्टामा बन्चरो हान्न पुगे । विशेष गरेर पृथ्वीनारायण शाहका छोरा र नाति राजतान्त्रिक इतिहासका सबैभन्दा ठूला खलपात्र बन्न पुगे ।

शाह राजवंशलाई मगरबाट ठकुरी बनाउने अभियानमा सबैभन्दा ठूलो लगानी राजा महेन्द्रले गरेको तथ्य पनि इतिहासले बिस्तारै खुलाउँदै लगेको छ । पृथ्वीनारायण शाहलाई ठकुरी बनाउन उनको नाकमुनि जुँघा टाँस्ने काम राजा महेन्द्रबाटै भएको रहेछ । एकाध वर्षअघि फेला परेको पृथ्वीनारायण शाहको मौलिक सालिकमा जुँघा नभएको कुरो त्यतिबेलै सार्वजनिक भएको जानकारी अध्येता पाठकहरूसँग सुरक्षित होला भन्ने लाग्छ । अहिले त्यो मूर्ति नुवाकोट साततले दरबारमा पुगेको रहेछ ।

पृथ्वीनारायण शाहको यो भूमिकाका बारेमा नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति र नेपाल-चीन सम्बन्ध पुस्तकमा चिनियाँ प्राध्यापक वाङ चुङले यसरी लेखेका छन्, ‘सन् १७६८ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण -खासगरी काठमाडौं उपत्यका) गरेपछि एउटा एकीकृत राजनीतिक शक्तिका रूपमा नेपालले आफ्नो दृष्टि हिमालयको मध्य इलाकाबाट बाहिरी संसारमा राख्न थाल्यो । … शाहले नेपालको एकीकरण गरेपछि नेपालका शासकले उत्तरी हिमाली क्षेत्रका व्यापारिक मार्गको महत्त्वबारे पूरा जानकारी लिए र यस क्षेत्रका व्यापारिक मार्गको सुरक्षा र नियन्त्रण गर्नु नेपालको कूटनीतिक राजनीतिको मौलिक आधार बन्यो ।’ यही रणनीतिको विशिष्ट परिभाषा हो पृथ्वीनारायण शाहले सार्वजनिक गरेको दुई ढुंगाबीचको तरुल सिद्धान्त । त्यही उपदेशमा पृथ्वीनारायण शाहले आफ्नो राष्ट्रियताको त्यस्तो सुन्दर परिभाषा दिएका छन् जसलाई उनीपछिका कुनै पनि शासकले अवलम्बन गरेनन्, गर्न चाहेनन् । पृथ्वीनारायण शाहले आफ्ना भाइभारदार र सन्तानलाई दक्षिणको बादशाहसँग सधैँ होसियार हुने उपदेश त्यसै दिएका थिएनन् ।

तिनै वाङ चुङले पृथ्वीनारायण शाहका बारेमा, सुरुमा गोर्खा राज्य विस्तार गर्ने महत्त्वाकांक्षी योजना लिएर नुवाकोटमाथि आक्रमण गरे पनि बनारस पुगिसकेपछि, भारतीय राजाहरूको बिजोक अवस्था देखेपछि उनी बेलायती उपनिवेशवादका विरुद्ध लड्नपर्ने टुंगोमा पुगेका थिए भनी निष्कर्ष निकालेका छन् ।

पृथ्वीनारायण शाह विस्तारवादी थिएनन्, बरु आर्थिक स्वावलम्बनका पक्षधर थिए भनी वाङ चुङले नेपालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश भनी प्रचारित गरिने आर्थिक स्वावलम्बनका निम्न बुँदाहरूलाई आफ्नो शोधग्रन्थमा यसरी उल्लेख गरेका छन्- -क) विदेशी महाजनलाई वीरगन्जबाट उँभो आउन नदिनु, यिनीहरू देशमा आए भने दुनियाँलाई कङ्गाल बनाई छोड्छन् । -ख) विदेशी कपडा लगाउन मनाही गर्नु, आफ्नो देशमा कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु, त्यसो भएमा नगद विदेश जाँदैन । … (घ) खानी भएका ठाउँमा गाउँ भए गाउँ अन्त सारी खानी चलाउनु, गरो बन्ने जग्गामा घर भए घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नु । (ङ) विदेशी नाचगान र रागतानमा नभुल्नु, आफ्ना सयलका लागि त तीन सहर नेपालका नेवारहरूको नाच झिकाई हेरे पनि हुन्छ, यिनीहरूलाई दिएको नगद ता आफ्नै देशमा रहन्छ । (च) देशका जिनिस, जडिबुटी विदेश लैजानु र नगद खर्चनु आदि ।

बेलायती उपनिवेशवादका सियो बनेर आउने व्यापारीलाई नेपाल छिर्नै नदिने, आफ्नो खर्च आफ्नै उत्पादनबाट धान्ने शिक्षा दिने, आफूले जितेका तीन सहर नेपालका नेवारहरूको संस्कृतिको सम्मान गर्ने राजालाई कसरी विस्तारवादी भन्न सकिन्छ ?

बेलायती शासकहरू पृथ्वीनारायण शाहलाई मन पराउँदैनथे मात्र होइन, सकेसम्मको घृणा नै गर्थे । नेभर माक्र्सवेलले लेखेका पनि छन्, ‘दक्षिण एसियाका भूपरिवेष्ठित पहाडी राज्यहरूमाथिको नियन्त्रण सुदृढ गराउनु बि्रटिस इन्डिया सरकारको निश्चित सुरक्षा रणनीति हो ।’ यो सुरक्षा रणनीतिको अभियानमा बि्रटिस इन्डिया सरकारका विरुद्ध चट्टान बनेर उभिएका पृथ्वीनारायण शाहलाई जति सरापे पनि पश्चिमा इतिहासकारलाई सन्तुष्टि हुँदैन । त्यसैले सिल्भाँ लेभी वा यस्तै अन्य कुनै पश्चिमा इतिहासकारबाट पृथ्वीनारायण शाहका बारेमा लेखिएका कथित ऐतिहासिक टिपोटहरूमाथि विश्वास गर्न सकिँदैन । हो, जंगबहादुर शाहमार्फत राजा सुरेन्द्रलाई आफ्नो षड्यन्त्रको गोटी बनाइसकेपछि भने बेलायती उपनिवेशवाद नेपालका राजाहरूप्रति सहनुभूतिशील देखिन पुगेको छ ।

पृथ्वीनारायण शाहको विरोध गर्नुअघि एकपल्ट, निष्पक्ष मन बोकेर सोचौँ । यो सोच्ने काम नेपालका सबै नेपालीको हो । तथ्यहरूले भन्छन्- पृथ्वीनारायण शाह, आरम्भमा महत्त्वाकांक्षी र बनारस पुगेपछि देशभक्त राजा बनेका थिए, जसले त्यतिबेलाको जल्दोबल्दो बेलायती उपनिवेशवादविरुद्ध लडाइँ लड्ने हिम्मत गरेका थिए र त्यो लडाइँ जितेका थिए । नेपालीको दुर्भाग्य नै भनौं मन परेको छोरो गद्दीको हकदार हुने थिति बनाए पनि पृथ्वीनारायण शाहपछिका कुनै राजामा पनि यो देशभक्ति देखिएन । लम्पट शाह राजाहरूकै कारण नेपाल अर्धउपनिवेश बन्यो ।

कान्तिपुरबाट

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %