मुर्ति बनाएर मासिक १० लाख कमाई

Read Time:5 Minute, 42 Second

 

म काठमाडौंमै जन्मे हुर्केको ठिटो हुँ । मेरो नाम विजय महर्जन हो । छाउनीमा २८ वर्ष पहिले जन्मेको हुँ । अहिले मुर्तिकला गरेर सुखजिलो जीवन बिताएको छु । धेरै युवा साथीहरु रोजगारीका लागि विदेशिएका छन् । घरपरिवार त्यागेर विदेश जाने रहर कसैलाई पनि हुँदैन । मलाई भने मुर्तिकलाले स्वदेशमै रोजगारीको अवसर दिएको छ ।

काठमाडौं शिक्षण अस्पताल प्राङ्गणमा थिङ्ग उभिएको गणेशमान सिँहको अधवैसै उमेरको शालिक मैले बनाएको हुँ । पूर्णकदको यो सालिक बनाउन दुई महिना लागेको यिो त्यसबापत मैले रु. १५ लाख पारिश्रमिक प्राप्त गरें । सालिकमा गणेशमानले लठ्ठी टेकेका छैनन् र काँधमा गलबन्दी पनि छैन । यस्तो किन गरिएको हो भने लोह पुरुष भनेपछि सबैको दिमागमा बलियो मान्छेको कल्पना हुन्छ र बलियो हुने भनेकै वैशमा हो त्यति बेला लठ्ठी र गलबन्दी लगाउने कुरै भएन । निर्जीव मूर्तिमा प्राण भर्न सजिलो हुँदैन । र मुर्तिकारको वास्तविक कला प्राण भर्नुमै निहित हुन्छ ।

दुई महिनामा १५ लाख रुपियाँ कमाउनु नै ठूलो कुरा भने होइन । मेरो  पछिल्लो सिर्जना ८ फिट अग्लो शिवको मुर्ति सार्वजनिक नहुँदै चर्चाको विषय बनेको छ । मुर्ति हेर्दा शिवले श्वास फेरिरहेको अनुभूत हुनु यसको विशेषता हो । अर्डर नलिइकन बनाएको योलाई विश्व हिन्दु महासंघले रु ५० लाखको अफर गरेको छ । मुर्तिको अर्को विशेषता के हो भने यो मुर्ति जस्तै धेरै मुर्ति बनाउनु पर्यो भने कम पैसा पनि पुग्छ ।

मेरो पहिलो व्यावसायिक प्रोजेक्ट भने काठमाडौं र पोखराका बेकरी क्याफेमा ठडिएका मोमो म्यान हुन । १२ वटा यस्ता मोमो म्यान बनाउन मैले त्यति बेला रु।१२ लाख पारिश्रमिक लिएको थिएँ । प्रेस काउ_िन्सल अगाडिको मनोमेन पनि मैले नै बनाएको हुँ ।

अलिकति मिहिनेत गर्दा महिनाको १० लाख कमाउन गाह्रो छैन । तर यसका लागि एकाग्रता र निरन्तर अभ्यास भने अति आवश्यक हुँदो रहेछ । मैले ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक गरेको छु ।

स्कूले जीवनमा म मोर्डन आर्टमा रमाएँ । स्कूल पढ्दादेखि नै पकेट खर्च आफै जुटाउँथे । धनीका छोराछोरीको भन्दा मेरो आर्थिक शान बेग्लै थियो । काठमाडौ।मा गाडी मात्रै चढ्न त दैनिक एक घण्टा काम गर्दा पनि पुग्छ ।

शुरुमा स्थापना गरेको छाउनीको स्टुडियो त छँदैछ । ठमेलमा हिन्दु देवताको मुर्ति बनाउँछु । माथि भनेको शिवको मुर्ति त्यहिँ बनाएको हुँ । अहिले बबरमहलको रिभिटेडमा अर्को स्टुडियो छ । त्यहाँ बुद्धको मुर्ति बनाउँछु । म अलि आध्यात्मिक भएर पनि हिन्दु र बुद्धसम्बद्ध देविदेवताको मुर्ति एकै ठाउँमा बनाउन उचित लागेन ।

पूर्ण एकाग्रता नभई मुर्तिमा आत्मा भर्न सकिदैन । तर आत्म भरीसकेपछि पैसाको चिन्ता हुँदैन । देउता र भगवानको मुर्तिलाई जति पैसा भनेपनि मान्छेले खासै वार्गेनिङ गर्दैनन् ।

अर्को कुरा नेपाल जस्तो विकासील देशले विकसीत देशलाई पछार्न सक्नै भनेकै यस्तै कलाकारितामा हो । उनीहरुसँग प्रविधि छ । हामीसँग आफ्नै कला र दर्शन । यसलाई तीव्रता दिनसके मुलुकको आर्थिक मुहार फेर्न गाह्रो हुँदैन । चीनले विकास गरेको एकैपटक सस्तो मूल्यमा धेरै सामान उत्पादन गर्न सकिने प्रविधिलाई यहाँ पनि उपयोग गर्न सकिन्छ । पहिलो मुर्ति बनाउन सिर्जनशीलता चाहिने भएपनि त्यसको संख्या सजिलै धेरै बनाउन सकिन्छ । जस्तो बेकरी क्याफेहरुमा राखिएका मोमो म्यानहरु एउटा डिजाइन गरिसकेपछि बाँकी सजिलै बनेको थियो ।

पैसाका लागि भनेर बनाउँदा कलाकारिता मर्छ । तर कलाकै लागि मिहिनेट गर्दा सरस्वतीसँगै लक्ष्मी पनि खुशी हुने रहेछ । तर मासिक १०-१२ लाख रुपियाँ कमाउँदैमा मख्ख भएर बस्दिन । मेरी एउटी छोरी छिन् । उनलाई म संसारमा सबैभन्दा बढी माया गर्छु । तर जुन दिन मलाई छोरीको भन्दा आफूले सिर्जना गरेको मुर्तिको बढी माया लाग्छ अनि बल्ल भन्छु म साँच्चिकै कलाकार भएछु । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %