राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले शासनसत्तामा ९९ प्रतिशतभन्दा बढी प्रतिनिधित्व रहेको वाहुन र क्षेत्रीका लागि पनि छुट्टाछुट्टै जातीय प्रदेश प्रस्ताव गरेको छ । आयोगले मध्य नेपालमा वाहुन प्रदेश र पश्चिम नेपालमा क्षेत्री प्रदेश बनाउन सुझाव दिएको हो । १७ माघ २०६८ मा आयोगका अध्यक्ष डा. मदनप्रसाद परियारले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुझाएको १०९ पेज लामो प्रतिवेदनमा वाहुन र क्षेत्रीका लागि मात्रै होइन दलित समुदायका लागि पनि अलग्गै प्रदेशको परिकल्पना गरेको छ । शासकहरुको जवरजस्त दमनमा परेका दलित समुदायको लागि पनि प्रस्ताव गरिएको प्रदेश भने गैरभौगोलिक हो ।
आदिवासी\जनजाति, दलित, मधेशी, मुस्लिम र कर्णालीवासीमाथि शताब्दियौंदेखि शासन गर्दै आएकाले हुनसक्छ आयोगले वाहुन र क्षेत्री प्रदेशको नाम खुलाउन भने हिम्मत गर्न सकेन । वाहुन प्रदेशलाई नारायणी र क्षेत्री प्रदेशलाई कर्णाली-खप्डत नाम दिइएको छ । राज्यपुर्नसंरचना आयोग स्रोतले दिएको जानकारी अनुसार वाहुन र क्षेत्री प्रदेशको विषयमा आयोगका नौ जना सदस्य मात्रै होइन एमाओवादी काँग्रेस र एमालेका नेतृत्व पनि अनभिज्ञ छैनन् । स्रोतका अनुसार एनेकपा माओवादीका पुष्पकमल दाहाल, मोहन वैद्यपोखरेल, डा.बाबुराम भट्टराई, नेपाली काँग्रेसका सुशिल कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल तथा नेकपा एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई यि प्रदेशको विषयमा जानकारी दिइएको थियो ।
राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले प्रस्ताव गरेको १४ प्रदेशमा राखिएको जडान प्रदेश क्षेत्रीका लागि प्रस्ताव गरिएको हो । अहिलेको समितिले क्षेत्रीहरुको प्रदेशलाई कर्णाली-खप्डत बनाएको मात्रै होइन यसको क्षेत्रफल पनि बृद्धि गरेको छ । क्षेत्री प्रदेशको क्षेत्रफल ४७०९९ वर्गकिलो मिटर छ । बाँकी सबै प्रदेशको क्षेत्रफल भन्दा यो दुई गुणा ठूलो प्रदेश हो । जनसंख्याको हिसाबले भने ताम्सालिङ र मधेश-मिथिला-भोजपुरा भन्दा सानो क्षेत्री प्रदेश सानो छ ।
क्षेत्री प्रदेशको अर्को चाख लाग्दो विषय के हो भने ४८ प्रतिशत क्षेत्रीहरु यहाँ बस्छन् । २०५८ को जनगणनालाई आधार मान्दा २२२४४०७ जनसंख्या रहेको यसप्रदेशमा १०६८५४५ क्षेत्री बस्छन् । समितिले सिमिकोटमा राजधानी प्रदेश राख्ने प्रस्ताव गरेकोमा आयोगले सुर्खेत प्रस्ताव गरेको छ ।
आयोगले वाहुनहरुका लागि बनाएको नारायणी अर्थात वाहुन प्रदेशको प्रस्तावित राजधानी गोरखा हो । एकका एक सदस्यका अनुसार वाहुन बसोबास गरेको क्षेत्र खोज्नकै लागि प्रदेशको नक्सा नुवाकोटको बुद्धिसं चारघरेदेखि गोरखा हुँदै पर्वत पुर् याइएको छ । (हे.नक्सा) ती सदस्यले भने प्रतिवेदनमा नारायणी उल्लेख भए पनि यो प्रदेशको वास्ताविक नाम ‘विप्र’ हो । संस्कृत शब्द विप्रको नेपाली अर्थ वाहुन हो । विप्र प्रदेशमा ४७२२६८ वाहुनहरु बस्छन् । कुल क्षेत्रफल ४९८७।९९ वर्गकिलोमिटर क्षेत्रफल रहेको विप्र प्रदेशमा बाग्लुङ चितवन धादिङ गोर्खा पर्वत नवपरासी नुवाकोट स्याङ्जा कास्की लमजुङ म्याग्दी र तनहुँका विभिन्न गाविस राखिएका छन् । वाहुन प्रदेश मगरात तमुवान नेवा र मधेस-मिथिला-भोजपुरा प्रदेशको वीचमा अवस्थित छ ।