विष्णुकुमार सिँजालीको लेखन-सम्पादन तथा हिरामती रानाको सहलेखनमा ‘मगर ढुटआङ कुराकानी’ को तेस्रो संस्करण बजारमा आएको छ । निबुवाखर्क-३ स्याङ्जामा ३५ वर्ष पहिले जन्मेका सिँजालीका मगर भाषा र नेपाली भाषामा कविता संग्रहहरु सार्वजनिक भएका छन् । मगर लेखक संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका सिँजालीका मगर भाषामा ल्हुङ कथा संग्रह लगायत विभिन्न फुटकर लेख रचना प्रकाशित छन् । प्रस्तुत छ सिँजालीसँगको राज्यसत्ता साहित्य वार्ताः-
मगर ढुटआङ कुराकानी कस्तो पुस्तक हो ?
मुलत यो पुस्तक मगर भाषा सिक्न चाहनेहरुका लागि लेखिएको हो । तथापि भाषा जान्नेहरु र भाषा साहित्य अध्ययन अनुसन्धानमा लागेकाहरुका लागि पनि सन्दर्भ पुस्तकको रुपमा प्रयोग हुने अपेक्षा लिएको छु । पुस्तकमा मगर लिपि अक्खारिका पनि पढ्न सकिन्छ । नेपालीबाट मगर र अँग्रेजीको अर्थ खुलाइएको छ । मगर भाषा भित्रकै विविधतालाई पनि समेटिएका छन् । उखान टुक्का र तीन भाषाको तुलनात्मक अध्ययन राखिएका छन् ।
मातृभाषाको पुस्तकलाई प्रकाशक पाउन कतिको गाह्रो छ ?
पाउँदै नपाउने त होइन तर त्यति सजिलो छैन । अलि चल्ने किसिमको पुस्तकले प्रकाशक पाउँदो रहेछ भन्ने उदाहरण मगर ढुटआङ कुराकानी पनि हो । यसमा मगर अध्ययन केन्द्र प्रकाशक रहेको छ भने सोमबहादुर थापा सिँजाली (युके) र देपमाया राना (युके), डबबहादुर गर्वुजा पुन मगर (महाराजगंज), हरि थापा मगर (वीरेन्द्रनगर), हरिदेव थापा मगर (स्याङ्जा) र लाफा स्टेशनरी सेन्टर तानसेन सहप्रकाशक रहेका छन् ।
मगर भाषामा लेख्न कहिले शुरु गर्नुभयो ?
२०५१ तिर लेखिएको लिला शीर्षकको कथा २०५५ मा प्रकाशित भयो । नियमित लेख्न थालेको भने २०६० बाट हो ।
यहाँका कृतिहरु के के छन् ?
ल्हुङ-२०६४ (कथा संग्रह), मगर ढुटाङ कुराकानी २०६६, बडाप २०६७ (कविता संग्रह) तथा फुटकर लेखहरु प्रकाशित छन् । तीन वटा पुस्तक सम्पादन र मगर भाषाको वृहत शब्दकोशमा सहायक सम्पादकको रुपमा काम गरेको छु । २०५५ मा नेपाली भाषामा कथा कविता संग्रह शुन्यताको आकाश र २०६० मा मायापि्रती कविता संग्रह निकालेको थिए ।
नेपाली भाषा लेखिरहेको सर्जक एक्कासी मातृभाषामा आउनुको कारण ?
शुरुमा मातृभाषामै लेख्नुपर्छ भन्ने लागेको थियो । तर जागिरको सिलसिलामा दिक्तेल बस्दा मगर भाषामा लेखिन । खासगरी लोकबहादुर थापा र नारायण तारुङ नाता मगरको प्रेरणाबाट नियमित लेखनमा लागेको हुँ ।
मातृभाषा र नेपाली मध्ये कुनमा लेख्न सहज हुन्छ ?
आत्मियता मगर भाषामै आउँछ । तर हाम्रो भाषामा शब्दहरु पाउन गाह्रो छ । व्याकरण नहुनुको पनि आफ्नै समस्या छन् ।
मातृभाषा लेखनका समस्याहरु के के छन् ?
तुलनात्मक रुपमा पाठक कम छन् । वर्ण पाउन पनि गाह्रो छ । लिपिको प्रवद्र्धन हुनसकेको भए यो समस्या हुने थिएन । राज्यले पनि मगरको मौलिक लिपि अक्खारिकाको विकास विस्तारमा ध्यान दिएको छैन । हाम्रो वास्ताविक भाषामा लेख्ने कि बुझ्ने भाषामा लेख्ने भन्ने अर्को समस्या पनि छ ।
नेपालका अन्य भाषाहरुको तुलनामा मगर भाषाको अवस्था कस्तो छ ?
नेपाली मात्रै होइन नेवारी वा नेपाल भाषासँग पनि मगर भाषाको तुलना हुनै सक्दैन । तामाङ र लिम्बुको पनि हाम्रो भन्दा राम्रो छ । नेवारीको त विश्वविद्यालयमै पढाई हुन्छ । बौद्धग्रन्थहरु तामाङमा लेखिनाले त्यो भाषाको विकासमा मद्दत गर्यो । थारु राई र गुरुङको भन्दा भने राम्रो छ ।
भाषा साहित्यमा सम्बन्धित जातीको लिपिको महत्व के हुन्छ ?
मगरको मात्रै होइन आदिवासी भनेपछि जसको पनि लिपि हुन्छ । जस्तो अक्खा लिपी राखेर लेख्नु र नराखेर लेख्नुमा मगर साहित्यमा धेरै अन्तर हुन्छ । अक्खा लिपि अन्तर घुलन भईसकेको अवस्था छ । १२ औं शताब्दीपछि नेपाल आउनेहरुको भने लिपि नहुन सक्दछ ।
मगर भाषा साहित्य विकासका लागि के गर्नु जरुरी छ ?
स्तरीय कृतिहरु आउनु पर्दछ । विश्वविद्यालयमा पढाई हुनुपर्दछ । प्रज्ञा प्रतिष्ठानमा मगर भाषा जानेको मान्छे हुनुपर्दछ । जस्तो वैरागी काइला प्रतिष्ठानमा जानुभएपछि लिम्बु भाषामा योगदान पुग्यो । यो सकारात्मक कुरा हो । राज्य नलागी भाषा साहित्यको विकास सम्भव देख्दिन ।
जातीय संघ संस्था र सम्बन्धीत समुदायको केही भूमिकै हुन्न ?
अवश्य हुन्छ । अहिले जति भईरहेको छ सबै व्यक्तिगत प्रयासबाट हो भन्दा फरक पर्दैन । राज्यलाई मातृभाषामा लगानी गराउनका लागि पनि हाम्रै दवाव आवश्यक छ । दवाव दिन नेपाल मगर संघले नेतृत्व लिनु पर्दछ ।
]
विश्वव्यापीकरणको जमानामा अंग्रेजी जस्तो अन्तराष्ट्रिय भाषा सिक्न छाडेर मगर भाषा सिक्नुपर्ने कारण के हो ?
मगर भाषामा सिक्नु वा मातृभाषामा साहित्य सिर्जना गर्नु भनेको अन्य भाषा नसिक्नु भन्ने हुँदै होइन । अर्को कुरा भाषा भनेको जातीको पहिचान हो । भाषा र संस्कृति नहुनु भनेको त्यो जातीको अस्तित्व समाप्त हुनु हो ।
मगर लेखकको संघको उपाध्यक्ष पनि हुनुहुन्छ । संघको उद्देश्य के हो ?
मगर सर्जक जन्माउने र लेखकहरुलाई उत्प्रेरणा दिनका लागि मगर लेखक संघ गठन गरिएको हो । देशका विभिन्न भागमा कथा कविता वाचन गर्दै आएको छ । अहिले मगरसम्बन्धी पुस्तकको डिजीटल लाइब्रेरी बनाउने तयारी भईरहेको छ ।