कसैको अनुकम्पा नबनोस् जातीय समानताका मुद्दा

Read Time:7 Minute, 39 Second


टोप अस्लामी  
सदियौंदेखि निरन्तर जगडिँदै  आएको समस्या हो जातीभेद । यसले गर्दा बहुजातीय बहुसाँस्कृतिक सामाजिक बनौट रहेको हाम्रो देश हरेक क्षेत्रबाट समस्याग्रस्त छ । यद्यपि यहाँको विविधता साँच्चि नै राष्ट्रिय सम्पत्ति र आभुषण हो । यहाँ विविधताको उचित र सही व्यवस्थापन हुन सकेमा मात्र राष्ट्रिय गौरवको असली मर्म सँधै उचोँ रहन्छ । तर त्यसतर्फ राज्यले आँखा चिम्लिरहेको छ । सत्ताधारीहरुले यहाँका जातीहरुलाई चाहिँदाको भाँडो मात्र बनाएका छन् । तर जातीय भेदको समस्या कति गम्भिर छ भन्ने कुरा ऐतिहासिक दृष्टान्त पढ्दा मात्र होइन वर्तमान विश्वलाई हेर्दा पनि सहजै बुझ्न सकिन्छ ।  

विश्व भरी नै मार्च २१ लाई जातीभेद विरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । वर्तमानको नेपाली राजनीति र राज्यले आमनेपालीहरुमा सदियौंदेखि थोपार्दै आएको विभेदको प्रत्यूत्तरमा उर्लेको जनभावना र विभेद विरुद्धको सामुहिक आवाज हो भन्ने स्पष्ट छ । यसले के स्पष्ट गर्दछ भने यहाँको दमित र सामाजिक पिडालाई अझै यहाँको घिन लाग्दो राजनीतिक आवरणले छोपीरहेको छ र सामाजिक संघसंस्थाहरु यसलाई निर्भिकतासाथ उछेल्न हिच्किचाईरहेका छन् । आफ्ना सामाजिक अधिकारहरु र यर्थाथताहरुलाई अधित्तम उचाईमा पुर् याएर राज्यको सर्वाङ्गिण विकासका ढोकाहरु तब खोलिन्छन् भन्ने कुरा फेरी सुस्ताएको छ । जातीभेदको विरुद्ध चेतना बुलन्द गर्ने अहम जिम्मेवारी लिएको सामाजिक संस्थाहरु बुद्धिजिविहरु कहिलेसम्म औपचारिकता मात्रै पुरा गरेर बसीरहने ?
 
सामाजिक विभेद विरुद्धका चेतना प्रवाह गर्ने ठेक्का लिएका गैरसरकारी तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु कहिलेसम्म हेपिएकाहरुको नाममा डलर खेती मात्रै गरिरहने  केही न केही समसामयिक र अरु सृजनात्मक काम जिम्मेवार पक्षले गर्नै पर्दछ । विशेष गरी नेपालको बहुसंख्यक आदिवासी जनजातिहरु दलितहरु अल्पसंख्यकहरु जातीय रुपमा अत्यन्तै थिचिएका छन् । आफ्नै देशमा दोस्रो दर्जाको नागरिक सरह हुनु परेको छ । आदिवासी जनजातिहरु आफ्नै भाषा धर्म संस्कृतिबाट विमुख बनाइएका छन् । प्राकृतिक स्रोतमाथिको पहुँच तथा स्थानीय स्वशासनको अधिकार आदिवासीहरुको नैसर्गिक अधिकार हुन । दलितलाई हुनुपर्ने मानवीय व्यवहार यसको साथै लैगिक समानताको कुरालाई राज्य र त्यसका कुनै पनि अंगले अझै व्यवहारिक सहजतामा स्विकार्न सकिरहेको छैन ।

वास्तवमा यहाँका सामाजिक संस्थाहरुले शान्तिपूर्ण रुपमा जुन समाज र राष्ट्रिय हितका कुराहरु उठाईरहेका छन् त्यसलाई अझै व्यापक छलफलमा उतार्न सबैले गम्भिरताका साथ सोच्नै पर्ने बाध्यता सिर्जना गर्न र आदिवासी जनजातिहरु दलितहरु र तमाम पिछडिएकाहरुको अधिकार कानुनी रुपमै प्रत्याभूत गर्नेतर्फ राज्यले बोध गर्ने अवस्थासम्म पुर् याउन अझै धेरै कसरतहरु गर्नै पर्छ जुन बाँकी नै छन् । यसका लागि पहिले त जातीभेद तथा कुनै पनि सामाजिक विभेद विरुद्धका संघर्षहरुलाई कसैको अनुकम्पाको अभियानको रुपमा हेरिनु हुँदैन । सामाजिक इमानदारिता प्रमुख हुनुपर्दछ यस्ता संघर्षहरुमा ।
 
सबै पक्षबाट त्यहि बुझिनुपर्दछ कि जातीय भेदभावको विरुद्धमा गरिने सकारात्मक जागरण अन्तरकि्रया र साँस्कृतिक भिन्नताबारे छलफल र त्यससँगै देखिने विभेद विरोधी संघर्ष नेपालको आर्थिक सामाजिक प्रगतीका निम्ति अत्यावश्यक सामाजिक न्यायका रुपमा लिइनुपर्दछ । <br>
अन्तराष्ट्रिय आँखामा दक्षिण एसिया बढी गरेर जातीय विभेदको चपेटामा चेपिएको छ । नेपालको राज्य प्रणालीले पनि यहाँको मूलभूत समस्यालाई संधै नजरअन्दाज गरेको छ । यहाँको कथित ठूला राजनीतिक दलहरुको दृष्टि मुलुकको मूलभूत र गम्भिर समस्या समाधान गर्ने तर्फ कहिल्यै दत्तचित्त भएन । स्थिति भताभुङ्ग भएपछि सोच्नु र त्यस अगावै सम्भावित खतराहरुमाथि दुरदृष्टि राख्नु जमिन आकाशको फरक छ । कहिलेसम्म यहाँको जातीय समस्याको खातिर उजागर आवाजलाई तुहाउने जाल हानी रहने  ? आदिवासी जनजातिहरु हरेक हिसाबले कहिलेसम्म दमित भईरहने ? कहिलेसम्म अरुको आडभरोसामा आश्रित भईरहने ? जातीय मुक्तिबाट विमूखहरु । आफ्नो उत्पिडनसम्बन्धमा केवल औपचारिकता मात्र अरु कतिसयवर्ष स्विकार्ने ?  यहाँको दोस्रो दर्जा सरह व्यवहार गरिएका तर राष्ट्रका बहुसंख्यक जनताबाट आवाजहरु बुलुन्द भईरहका छन् । राज्यले इमानदारिताका साथ ति कुरालाई प्राथमिकतमा पार्ने ? शासकहरुले कहिलेसम्म अडकाई राख्ने ?

निश्चय नै समूह विरुद्धको भेदभाव उनीहरुका आर्थिक तथा सामाजिक विकासका लागि प्रमुख बाधक हो । एउटा महत्वपूर्ण मानव समुदायका सम्भावनाहरुलाई वेवास्ता गर्नु राष्ट्रिय रुपमा चौतर्फी विकासको ढोका बन्द गर्नु हो । तशर्थ सदियौंदेखि यस्ता समस्या नेपालमा बल्झिरहेको सन्दर्भमा संसारको दृष्टिमा गुलजर नेपाल हुनका लागि औपचारिकता मात्रले स्थायित्व प्राप्त गर्न सक्दैन । कर्तव्य बोध सबैपक्षबाट व्यवहारितामा प्रत्याभूत हुनु जरुरी छ ।
(राष्ट्रिय जनमुक्ति पार्टीका प्रचार प्रसार विभाग प्रमुख अस्लामीको पुस्तक ‘आदिवासीहरुको मुक्ति’बाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %