न्युयोर्क/नेपालका प्रथम शहीद लखन थापा मगरको १३५ औ स्मृति दिवस हिजो न्युयोर्कमा एक भव्य कार्यक्रम बिच नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना) र मगर संघ अमेरिकाको संयुक्त आयोजनामा मनाइयो | आज भन्दा १३५ बर्ष अगाडी, जति बेला नेपाली जनताहरु अशिक्षाको अन्धकारमा रोमाल्ली रहेको परिस्थिति थियो, जति बेला आजको जस्तो सुचना र संचारको प्रभाव त के नाम निशान पनि थिएन, त्यस्तो अबस्थामा देशमा श्री ३ भनिएको जंग बहादुर राणाको दमन, अत्याचार र क्रुर निरंकुस जहानिया हुकुमी शासनको दब्दबाह अबस्थामा नेपाली सेनाको गोरख गण (मगर पल्टन) मा सोह्र सत्र बर्ष सम्म खाएको सेनाको जागिर छाडेर पांच छ बर्षको(१९२७-१९३३) गहन सोच बिचार सहित जंग बहादुर को दमन,शोषण र अत्याचारको बिरुध्द जनतालाई संगठित पारी जनस्तर बाट गरिएको नेपालको पहिलो राजनीतिक विद्रोहको क्रममा जंग बहादुरको सेना द्वारा नियन्त्रण गरि झुन्द्याएर फासी दिइएको शहीद लखन थापा मगर नै नेपालको प्रथम शहीद हो र वाहालाई नेपालको प्रथम शहीद घोषणा गर्नमा नेपाल सरकारले ढिला सुस्ती गर्नु हुन्न भन्ने कार्यक्रममा उपस्थित सबैको एकमत रहेको थियो |
कार्यक्रममा देशको सहिद होस् या नहोस, दसलाखको शहीद घोषणा गर्दै शहीदको संख्या बढाउने क्रममा राजनीतिक दल र नेपाल सरकारले नेपालको वास्तविक प्रथम शहीद लखन थापा मगरलाई प्रथम शहीदको मान्यता दिन आनाकानी गरिएको प्रति कार्यक्रममा उपस्थित ब्याक्तित्वहरुले बक्तब्यको क्रममा आक्रोस ब्याक्त गर्नु भएको थियो | कार्यक्रममा उपस्थित ब्याक्तित्व हरुले प्रथम शहीद लखन थापामगर को आगामी स्मृति दिवस एक दुई सस्थाहरुले मात्र नभई अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आयोजना गरिने ध्रिड प्रतिबद्दता ब्याक्त गर्नु भएको छ |
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना)का भूतपूर्व अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले शहीद लखन थापामगरलाई प्रथम सहीद घोषणा गर्नको लागि संसारभर रहेका आदिवासी जनजातिहरु एक भई हस्ताक्षर संकलन गरि राज्यलाई दवाव दिनु पर्ने आजको टटकारो आवश्यकता रहेको बाताउनु बताउनु भयो | अमेरिका नेपाल फ्रेन्डशिप सोसाइटीका भुतपुर्ब अध्यक्ष प्राध्यापक डा. तारा निरौलाले जगबहादुर राणाबाट देशलाई मुक्त गरि नेपालमा सत्ययुगको जस्तो शान्ति र न्याय ल्याउनु पर्छ भनि गोरखाबाट देशकै लागि सोच्ने ब्याक्ति शहीद लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नु पर्छ, होइन भने के कति कारणले हुन सक्दैन र लखन थापा भन्दा अघाडी नेपाली जनस्तर बाट राजनीतिक आन्दोलन गर्ने ब्याक्ति को हो ? भनि प्रस्न मात्र गरेनन, यसको स्पस्ट जानकारी दिने आधिकारिक निकाय नेपाल सरकारले ढिला सुस्ती गर्नु हुन्न भन्नु भयो | नेपाली कांग्रेसका युवा नेता मुनीन्द्र नेम्बांगले देशको लागि आफ्नो जीवन बलिदान दिने शहीद थापालाई इतिहासले बिर्सदै गएको र शहीदको नाममा जसलाई पायो त्यसलाई शहीद घोषणा गर्ने राज्यसंग शहीदको परिभाषा र मापदण्ड खोज्नु पर्नेआबस्यकता औल्याउनु भयो | यसै गरी अधिकारकर्मी बिष्णु माया परियारले देशमा राजनीतिक आरक्षणको आधारमा शहीदहरुको सूचि लामो भई रहेको अवस्थामा थापालाई प्रथम शहीद भन्नुमा राज्यले गरेको ढिलाई प्रति आशंका व्यक्त गरिन | सोही कार्यक्रममा यूनाईटेड नेपलिज डेमोक्रेटिक फोरमकी अध्यक्ष सीता खरेलले लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्नको लागि सम्पूर्ण नेपाली समुदाय एक भई सरकारलाई दबाव दिनु पर्ने बताइन |
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिपना)का अध्यक्ष शिवकुमार राईको सभापतित्वमा संपन्न उक्त कार्यक्रममा तामांग सोसाइटी अफ अमेरिकाका अध्यक्ष भरत लामा, किरात राई सोसाइटी अफ अमेरिकाका बोर्ड चेयर मणि बांग्देल, न्युयोर्क कलामंचका अध्यक्ष रामराजा छेत्री, किरात याक्थुंग चुम्लुंगका कार्यबाहक अध्यक्ष देवेन्द्र सम्बाहाम्फे, शेर्पा किदुगका अध्यक्ष छोंग्बा शेर्पा, एन आर एन इजरायलका भू.पु. महासचिव बी. आर. लामा, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी रानामगर, सिन्धु समाजका यु. एस. ए. को अध्यक्ष बंशलाल तामांग,एन. आर. एन. अमेरिकाको कोषाध्यक्ष डा. विनोद शाह, फिपनाका महासचिव दीपेश लिम्बू, लगायतका सहभागीहरूले प्रथम शहीद लखन थापा मगरको योगदान र व्यतित्वको बारेमा आ-आफ्नो मंतव्य राख्नु भएको थियो |
मगर संघ अमेरिकाका सचिव मान बहादुर रानामगरले संचालन गरेको उक्त कार्यक्रममा पत्रकार प्रदीप थापामगरले शहीद लखन थापामगर शहीद र प्रथम शहीद हुनुपर्ने कारण र वाहाको जीवनीबारे प्रकाश पार्नु भएको थियो भने फिपनाका प्रथम उपाध्यक्ष विनोद पोमोले स्वागत मंतव्य राख्नु भएको थियो | कार्यक्रममा कवि बुद्ध चेम्जोंगले शहीद थापाको बारेमा लेखिएको कविता वाचन गर्नु भएको थियो |
मान बहादुर रानामगर
सचिब
मगर संघ अमेरिका