आक्षेप खेपिरहेका हङकङेली नेपाली संस्थाका गज्जबको काम

Read Time:10 Minute, 15 Second

३ फ्रेबुअरीका दिन हङकङ म्याग्दी ओभरसीज नेपलिज एसोसियसन  (मोना) हङकङले म्याग्दी जिल्लाका सामूदायिक या सरकारी विद्यालयबाट एसएलसीमा अब्बल अंक ल्याउने दुई विद्यार्थीलाई पुरस्कार दिन एउटा अक्षयकोषको घोषणा गर्यो । १० लाख बराबरको उक्त अक्षयकोषबाट सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रत्येक बर्ष जनही ३० हजार र उत्कृष्ट अंक ल्याउने अर्काे एक जनालाई जनही २० हजार वितरण गरिने बताइएकोछ । संस्थाले औपचारिक कार्यक्रम आयोजन गरि घोषणा गर्नु अगावै नै लगभग  ८ लाख रकम जुटाइसकेकोथियो । यो पुरस्कार यसै बर्ष देखि वितरण गर्न संस्थाका अध्यक्ष दल सेर्वुजा मंगलवार नै नेपाल उडेकाछन् । शिक्षा क्षेत्रमा यसरी ब्यवस्थित रुपमा अक्षयकोष खडा गर्ने पहिलो श्रेय मोनालाई गएकोछ । यो अक्षयकोषको घोषणा भएको २ दिन पछि अर्थात ५ फ्रेबुअरीमा म्याग्दी जिल्लाकै दाना गाविसका बासिन्दाले त्यहाँ स्थित ज्ञानप्रकाश उच्च मावि चलाउन विविक्यू आयोजन गरेर एकै दिन ४९ हजार हङकङ डलर जम्मा गरे । त्यसो त चार बर्ष देखि निरन्तर रुपमा एसएलसीमा उत्कृष्ट अंक ल्याउने एउटा मगर विद्यार्थीलाई नेपाल मगर महिला संघ हङकङले बर्षेनी २० हजार पुरस्कार वितरण गर्दे आएकोछ । तर त्यो अक्षयकोष नै खडा गरेर संचालन गरिएकोछैन ।

यस बर्ष गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङले चितवन समाज हङकङ र धरान मन्च हङकङलाई यस बर्षको परोपकार कार्यमा अब्बल भएको भन्दै सम्मानपत्र वितरण गरेकोछ । चितवनबाट हङकङ आएकाहरुले त्यहाँ स्थित अस्पताललाई एउटा एम्बुलेन्स दिएको थियो भने असहाय विरामीको औषधि उपचारार्थ ५ लाखको अक्षयकोषको समेत ब्यवस्था गरिदिएकोछ । त्यसै गरि धरान मन्चले धरान स्थित रंगशालामा १० लाख बराबरको प्रवेशद्धार निर्माण गरिदिएकोले उक्त सम्मान गरेको बताइएकोछ । धरान मन्चले यसअघि पनि धरानमा बनाइएको करिब ५६ लाख बराबरको घण्टाघर निर्माणमा करिब ४० लाख सहयोग गरेको भन्दै एनआरएनले सम्मान गरेकोथियो ।

मोना अक्षयकोषको जानकारी कार्यक्रम

हङकङमा करिब दुई सय जति नेपाली संस्था सक्रिय रहेको भेटिन्छ । यहाँ नेपालका टोल देखि त्यहाँ भेटिने सबै जातिका जातीय संस्था र प्रायश नाम सुनिने सबै दलका भातृसंगठनहरु यहाँ क्रियाशील छन् । च्याउ सरह उम्रिएका यहाँका यि संस्थाहरुकै कारण हङकङेली नेपाली समाज एकजुट छैन, विभक्त छ भनि आलोचना गरिन्छ । पूर्वले पश्चिमले नगन्ने, गुरुङले राईलाई नमान्ने, धरानले पोखरालाई नसुन्ने गलाकाट प्रतिष्प्रर्धा हङकङेली नेपाली समाजको विशेषता हो । ठुस्किनासाथ नयाँ संस्था जन्मिने यहाँको स्थापित संस्कार नै भैदिएकोछ । त्यसैले यहाँ कसैले कसैको अस्तित्व स्विकार्न नखोजेको देखिन्छ । यहाँ भएका संस्थाहरुमाथि जातीय र साम्प्रदायिकतालाई मलजल गरेर विखण्डनको विऊ छर्ने रोल खेलिरहेको आरोप पनि छ । त्यसैले केहिले यहाँ बढी संस्था हुनुलाई संभावना र सवल भन्दा दुर्वल र घातक रुपमा लिने गरेकाछन् ।
तर अचम्म ! यहि अस्वस्थ प्रतिष्पर्धाले संस्थाहरुले ‘तँ भन्दा म के कम’ भन्दै तछाडमछाड गर्दे यहाँबाट स्वदेशका लागि गज्जबको काम गरिरहेका रहेछन् ।

सुन्दा पत्यार लाग्दैन । यहाँ आफ्ना प्रतिद्धन्द्धि ठानिएका ब्यक्तिलाई बाटोमा देख्दा समेत मुख फर्काएर हिंड्ने साँघुरो संस्कार पढाइरहेका सामूदायिक नेताहरुले देशका निमुखाहरुका लागि  कसरी त्यत्रो ठूलो ह्दय देखाएका होलान् ! भनेर गम्न बाध्य बनाउछ । भोजपुर सेवा समिति हङकङले भोजपुरको सदरमुकाम स्थित अस्पतालमा प्रसृतिगृह बनाउन ५० लाख सहयोग पठाइसकेको रेकर्ड छ । खोटाङ समाज हङकङले नेपालमै पहिलोचाोटी उपभोक्ता समितिबाट निर्माण गरिएको आफ्नो गृह जिल्लाको एयरपोर्ट बनाउन ६ लाख सहयोग जुटाइदिएकोथियो । सहयोगमा प्रवासबाट हङकङले अरुलाई उछिनेको थियो । सरकार र स्थानीय जनताको आधा-आधा लगानीमा बनेको यो एयरपोर्टमा ५ करोड खर्च भएको बताइन्छ । खोटाङमा ५३ लाखको लागतमा बन्न थालेको पूर्व पहाडकै राम्रो भनि प्रचार गरिएको फुटवल मैदानका लागि खोटाङ समाजले धमाधम सहयोग जम्मा गरिरहेकोछ । दान दिन सबै खटेपनि यसरी परोपकार कार्यमा सहयोग जुटाउन पहलकदमी गर्नेमा पश्चिमका संस्थाहरुको तुलनामा पूर्वका संस्था बढी सक्रिय देखिन्छन् ।

खोटाङको एयरपोर्ट . तस्वीर सौजन्य अधिराज राई

यी त ठूला र बलिया संस्थाका कुरा भए । धरानको एउटा वडास्तरको समिति चौकीबारी समाजले त्यहाँ बाल उद्यान बनाउन सन २००४ तिर ३ लाख सहयोग गरेकोथियो । यहि संस्थाको पहलमा निकट भविष्मै बृद्धहरुका निम्ति पनि पार्क बनाउने योजना सहित धरान बृत्तचित्र बनाई आर्थिक संकलन गरिरहेको बताइन्छ ।  त्यसैगरि ब्यक्तिगत प्रयासमा पनि परोपकार कार्य गरिदै आइएकोछ । संगीतकार दिनेश सुब्बा र शिक्षा क्षेत्रका  धन थापाले एउटा साँगितिक कार्यक्रम गरि धरान स्थित नेत्रविहिन विद्यालयलाई एम्बुलेन्स सहयोग गरेको धेरै भएकोछैन ।

एक सामूदययिक नेताको भनाईमा हङकङका नेपालीहरुले आफ्नो ठाँउमा सहयोग गर्ने भनेपछि दिल खोलेर सहयोग गर्ने गरेकाछन् । उनका अनुसार, यहाँबाट दलका भातृसंस्थाले महिनै पिच्छे पैसा उठाएर लग्ने गरेकाछन् । नेता, कलाकार बोलाउदा गोजीबाटै उठाइन्छ । प्रकृतिक र गरिवी विपत्ति भन्दै दिनहू जसो चन्दा  उठाइने गरिन्छ । विभिन्न सहयोगार्थ भन्दै गरिने साँस्कृतिक कार्यक्रममा महगो टिकट नलिई धर हुँदैन । अर्थात, नोकरीबाट महिनाको एकपटक तबल थाप्ने नेपाली कामदारले प्रायश दिनहू जसो स्वदेशमा सहयोग राशि बाँडिरहेको हुन्छ ।
परोपकार गरेबात सम्मान गरेर हौसला दिने एनआरएन हङकङले आफु स्वंयले समेत त्यसो गरेर देखाउने गरेकोछ । एनआरएन हङकङले सुदुर पश्चिमको विद्यार्थीका लागि  कर्णालीमा ३ लाख बराबरको अक्षयकोष खडा गरिदिएकोछ । कोशी बाढी पिडितलाई १० लाख उठाइदिएकोथियो । काठमाण्डु एयरपोर्टमा २०० ट्रली दिएकोछ । देवघाट स्थित अनाथालयलाई १५ हजार यूएस डलर रकम पठाएकोछ । लमजुङमा ५ लाख बराबरको सडक निर्माण गरिदिएकोछ । साउदीमा मृत्युदण्ड पाएकि तर हाल बच्न सफल डोमा शेर्पा बचाउन थालिएको अभियानमा ५५ हजार हङकङ डलर सहयोग जुटाइदिएकोथियो । गत महिना एनआरएन भवन बनाउन यहाँका ब्यावसायी जेएन ज्ञवालीले १० लाख, कृष्ण पणडेले ५ र त्रिलोक गुरुङले ३ लाख सहयोग गरेकाथिए । एनआरएन र नेपाली महासंघ हङकङले स्वदेशमा मात्र हैन जापान र चीनको भूकम्पमा परि बेसहारा भएकाहरुलाई लाखौ सहयोग जुटाइदिएकाछन् ।

नेपाली संस्थाका केहि नेताले हङकङमै आइडी लिएर बसोबास गर्ने नेपालीले किन अरबमा काम गर्ने नेपालीले जसरी देशमा सहयोग पठाउनु परयो रु यहि आफ्नै संस्था बलियो बनाउन लागौ न भन्ने जिकिर गर्न थालेको बताइन्छ । तर त्यस्ता आवाज बलियो छैन । जता गएपनि जहाँ रहेपनि आफ्नो मातृभूमीको सेवा गर्नुपर्छ भन्ने भावना नै हङकङका नेपालीमा ब्याप्त देखिन्छ । यो हिसाबले यहाँ च्याऊ सरह उम्रिएका संस्थाको उपादेयता प्रष्ट देखिन्छ । हङकङेली नेपाली समाजका अन्य पाटा नराम्रा होलान्, छन् पनि तर यो पक्ष स्यालुटयोग्य छ ।

जेवी पुन मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %