राजमुपा कोषाध्यक्ष भएपछिका तितामिठा अनुभव-हरिशंकर थापा मगर

Read Time:6 Minute, 24 Second

गतवर्ष नवलपरासीमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनयता मैले राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रिय (संघीय परिषद)कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको छु । यसअघि पार्टीको काठमाडौं जिल्ला कार्यसमितिको सदस्य, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै केन्द्रिय कोषाध्यक्षको भूमिका आईपुगेको हुँ । यसवीचमा जनमुक्ति पार्टीको तर्फबाट काठमाडौं महानगरपालिका १० नम्बर वडाको अध्यक्ष र संविधानसभा निर्वाचनमा सभासदमा पनि चुनाव लडें । संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ र ३ मा पार्टीको उम्मेदवार भएँ ।

जिल्ला सदस्यदेखि केन्द्रिय कोषाध्यक्षसम्मको भूमिकामा आईपुग्दा पार्टी संचालनका लागि आर्थिक पक्ष कति महत्वपूर्ण रहेछ भन्ने बुझ्ने अवसर पाएको छु । जनमुक्ति पार्टीले सरकारको एक पैसा नलिएर आदिवासी\जनजाति, दलित, महिला, मधेशी र धार्मिक अल्पसंख्यकहरुको अधिकारका लागि शान्तिपूर्ण संघर्ष गर्दै आएको विदितै छ । यस्तो पार्टीको आर्थिक व्यवस्थापन गर्न सजिलो नहुने रहेछ ।

पार्टीको आर्थिक पक्ष सवल नबनाई राज्यसत्ता प्राप्त गर्न सकिदो रहेनछ भन्ने कुरा हाम्रा साथीहरुले बुझ्नु भएको छ । यसैका लागि हामीले रु १० करोड संकलन गर्ने लक्ष्य लिएका छौं । तर यो लक्ष्य पुरा गर्नका लागि पार्टीका समर्थक शुभचिन्तकदेखि नेता कार्यकर्ता सबैको सकि्रय र सकारात्मक भूमिका अपरिहार्य छ । राज्यसत्ता डटकममार्फत सबैलाई म पार्टीको यो आर्थिक मिसनमा सघाउन पुर् याउन आव्हान पनि गर्दछु । पार्टीको आर्थिक पक्षलाई बलियो बनाउन प्रतिदिन प्रति परिवार सदस्य रु १ जम्मा गर्ने खुत्रुक्के योजनाको बारेमा पनि छलफल भईरहेको छ । यसो गर्दा पार्टीले आर्थिक सहयोग मात्रै होइन कार्यकर्ताहरुको प्रतिबद्धता र समर्थन पनि पाईरहन्छ भन्ने हामीलाई लागेको छ । स्विजरल्याण्ड कोरिया र युकेमा पनि सहयोगका लागि पहल गरेको छु ।

पार्टीका सभासदद्वय एमएस थापा र छियामा राईले प्रति महिना रु ३०\३० हजार लेवी तिर्ने गर्नु भएको छ । संघीय परिषदका पदाधिकारी र सदस्यहरुले पनि मासिक लेवी बुझाउनु हुन्छ । यसवाहेक पार्टीको हङकङ र जापान शाखाबाट पनि मासिक सहयोग आएको छ । पार्टीका शुभचिन्तक तथा नेता कार्यकर्ताहरुले पनि सक्दो सहयोग गरेका छन् । तथापि यतिले देश विदेशमा फैलिएको राष्ट्रिय जनमुक्ति पार्टीको खर्च धान्न अपुग छ । विभिन्न ठाउँमा मैले व्यक्तिगत सहयोग गर्नुपर्ने अवस्था छ । पार्टीको आर्थिक अवस्था बुझेर कतिपय साथीहरुसँग तिता मिठा शब्द पनि प्रयोग गर्नुपर्ने रहेछ । नेता कार्यकर्ताहरुले माग गर्नु भएको भन्दा कम रकम पनि दिनुपर्ने रहेछ ।


तस्विरहरु:-www.rajyasatta.com


२ वर्षमा आफ्नै भवन

आदिवासी\जनजाति, दलित, महिला, मधेशी र मुस्लिम समुदायको पक्षमा २० वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको पार्टीको आफ्नै कार्यालय भवन नहुनु दुःखद विषय हो । देश र जनताको पक्षमा लडिरहेको पार्टीको संघीय परिषदको भवन छिटो भन्दा छिटो बन्नु पर्दछ भनेर मैले २०६७ फागुन २५ गते पार्टी काठमाडौं साङ्खोलामा जग्गा उपलब्ध गराएको छु । करिब रु ४० लाख पर्ने आठ आना क्षेत्रफल रहेको सो जग्गा पार्टीको पूँजीगत सम्पत्तिको रुपमा रहोस् भनेर दिएको हुँ ।

पार्टीको कार्यालय भवन बनेपछि मेरी आमाको शालीक र मेरो परिवारका सदस्यहरुको तस्विर राख्ने सहमति भएको छ । भवन निर्माणका लागि पार्टी सहअध्यक्षद्वय श्रवणकुमार लिम्बु र शंकरलाल चौधरी तथा हरिशंकर थापा मगर सम्मिलित तीन सदस्यीय भवन निर्माण समिति गठन भएको छ । दुई वर्ष भित्र जनमुक्ति पार्टीको आफ्नौ भवनमा कार्यालय रहने गरी काम अघि बढाएका छौं । यसमा पनि सबै साथीहरुको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

मेरो सानो सहयोगले सम्पूर्ण आदिवासी\जनजाति, दलित, महिला, मधेशी र मुस्लिमहरुले अधिकार प्राप्त गर्दछन् भने त्यो भन्दा खुशीको कुरा अरु के हुन सक्दछ । तर राज्यले पिछड्याईएका समुदायको अधिकारका लागि लडिरहेको पार्टी भएकाले साँगठनिक पहल हुनु आवश्यकता छ । एक दुई जनाले चाहेर मात्रै पिछड्याइएका समुदायलाई अधिकार सम्पन्न बनाउन सकिदैन । राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीलाई सहयोग गर्नु सच्चा नागरिक सबैको कर्तव्य पनि हो ।

(राजमुपा कोषाध्यक्ष थापा मगरसंगको वार्तामा आधारित )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %