झण्डै ५००० हजार वर्षको प्राचीन इतिहास बोकेको मिथिलाको अत्यधिक भूभाग अहिले बिहारको सीमामा पर्दछ भने इतिहासमा प्रख्यात् जनक महानको राजधानी जनकपुर तथा प्रसिद्ध कर्णाटवंशी राजाको राजधानी बाराको सिम्रौनगढ नेपालमा पर्दछ । काठमाण्डौ उपत्यकामा पनि कर्णाटवंशी राजाहरुले शासन गरेको विभिन्न शिलालेख र इतिहासले प्रमाणित गरि सकेको छ ।
मिथिला आफ्नो स्थापनाकाल देखि आफ्नो राज्यलाई साम्राज्यमा रुपान्तरण गरेको थियो र राजा जनकलाई जनक महान तथा सम्राटको उपाधि प्राप्त थियो । यस इतिहासलाई पूर्वाग्रही र अल्पज्ञानबाट तोडमरोड गरि बिगारेर लेख्नु, भन्नु इतिहासप्रतिको घात नै ठहरिन्छ ।
उपेन्द्र झा
माधव सिंहको समयमा मिथिलाको राजधानी दरभंगा थियो र यो एउटा जमीन्दारीमा सिमित थियो । मिथिलामा अनेक स्थानीय राजाहरु आफ्नो आफ्नो क्षेत्रमा वर्चस्व जमाएका थिए । मिथिला स्वायत्त राज्य भएपनि दिल्ली शासकको आन्तरिक प्रभाव कायम थियो । यस क्षेत्रका राजाहरु दिल्ली शासकलाई खुशी पारेर क्षेत्रगत शासन लिएका थिए । इतिहासमा छिटफुट नाम आएपनि यिनीहरुको राजवंशावली छैन, शासनको निरन्तरता पनि पाइँदैन । मिथिला सानै राज्यमा परिणत भएपनि खण्डवला वंशको राजवंशावली कायम रह्यो । माधव सिंह पश्चात् छत्रसिंह राजा भयो । १८१२ ई.मा नेपालसंग अंग्रेजको झगडा चलि रहँदा छत्रसिंहले अंग्रेजलाई सहयोग गरेको कारण यिनले महाराज बहादुरको उपाधि पाएका थिए । छत्रसिंहको छिमेकी राज्यसंग मित्रतापूर्ण घनिष्ठ सम्बन्ध थियो । सौराष्ट्रको मन्दिरलाई जीर्णोद्धार गरि माधवेश्वर महादेवको स्थापना र धर्मशालाको निर्माण छत्रसिंहले गराए ।
छत्रसिंह पश्चात् रुद्रसिंह राजा भयो । तर आफ्नो शासनको अल्पावधि पछि राजा महेश्वर सिंहको शासन शुरु भयो । यिनकै कालमा सिपाही विद्रोह भएको थियो र अंग्रेजहरुले यिनलाई विश्वास गर्न छोडेका थिए । यिनले अंग्रेजलाई धेरै प्रकारको मद्दत गरे पनि विश्वास भने जित्न सकेन । नाथपुर र पूर्णियाँबीच हुलाकलाई व्यवस्थित गर्न यिनले अंग्रेजलाई १६वटा घोडा घोडसवार सहित दिएका थिए । संथाल विद्रोहमा पनि यिनले अंग्रेजको सहयोग गरेका थिए । १८६० ई.मा यिनको निधन भयो । दरभंगा राज्य १८ वर्ष अर्थात् १८७८ ई. सम्म कोर्ट अफ वार्ड्सको अधीनमा रह्यो । त्यसपछि मिथिलाको राजगद्दीमा महाराज लक्ष्मीश्वर सिंह बसे । लक्ष्मीश्वर सिंह कुशल शासक, प्रशासक, विद्याप्रेमी तथा उदार चरित्रका थिए । यिनको पालामा मिथिलाको उल्लेखनीय विकास भएको थियो । यिनले ठाँउ ठाँउमा धेरै अस्पताल र शिक्षण संस्थाहरुको स्थापना गरे । दरभंगामा लेडी डफरिन अस्पताल, खडगपुर मँुगेरमा अस्पताल, कलकत्ता विश्वविद्यालयलाई अपार धनराशिबाट सहयोग गर्यो । दरभंगामा निःशुल्क शिक्षा ग्रहण गर्न अनेक शिक्षण संस्थाहरु स्थापना गरे । स्वराज्यका लागि कम्पनी सरकारसंग लडि रहेका काँग्रेसलाई बार्षिक सहयोगको साथ साथै अनेक काममा मद्दत गरेका थिए । काँग्रेसको अधिवेशनका लागि यिनले प्रयागमा लाउपर कास्ल किनेर दिएका थिए । आफ्ना समकालीन व्यक्तित्वहरु महात्मा गाँधी, जवाहरलाल नेहरु, के. एम. बनर्जी, नरेन्द्रनाथ सेन, आनन्दमोहन बोस, सुरेन्द्र नाथ बनर्जीसंग यिनको घनिष्ठता थियो । तत्कालीन लेजिस्लेटिभ काउन्सिलको प्रमुख सदस्य र बिहारको जमीन्दारहरुको सभापति रहेका कारण यिनको धेरै नाम चलेको थियो । साहित्य प्रेमी र परोपकारी चरित्रका कारण महाराज लक्ष्मीश्वर सिंहको महत्वपूर्ण कार्यकाल मिथिला इतिहासमा सुरक्षित छ ।
लक्ष्मीश्वर सिंह पछि रामेश्वर सिंह गद्दीमा आसीन भयो । राजा हुनु भन्दा पूर्व रामेश्वर सिंह दरभंगा, छपरा तथा भागलपुरको मजिस्ट्रेट पद सम्हाली सकेका थिए । रामेश्वर सिंह राजाको रुपमा कुशल शासक र प्रशासक थिए । बिहारमा संस्कृत एशोसिएशनको स्थापना यिनकै प्रयासबाट भएको थियो । हिन्दू विश्वविद्यालयमा यिनको उल्लेखनीय योगदान थियो । सनातन धर्मसभाको सर्वेसर्वा तथा विहार जमीन्दार सभाको आजीवन सभापतिको रुपमा रामेश्वर सिंहको योगदान थियो । धार्मिक विचारका कारण राज सिंहासन त्यागेर सामाजिक सेवामा रामेश्वर सिंहले आफ्नो जीवन अर्पण गर्यो ।
रामेश्वर सिंहले सिंहासन त्यागेपछि १९२९ ई.मा महाराज कामेश्वर सिंह मिथिलाको अन्तिम राजा भयो । १९४७ ई.मा भारतको अजादीसंगै राजा, महाराजा तथा जमीन्दारी प्रथाको अन्त भयो । यहाँसम्म आई पुग्दा मिथिला खुम्चिएर जमीन्दारीको रुपमा परिणत भएका कारण राजाको धेरै ठूलो महत्वाकाँक्षा देखिदैन । महाराज कामेश्वर सिंहलाई देशमा परिवर्तनको आँधी चलिरहेको बेला आफ्नो पूर्वज जस्तो बृहद् मिथिला बनाउने अभियानको आकाँक्षा थिएन । कामेश्वर सिंह निःसन्तान रहेका कारण उनले आफ्ना श्रीसम्पत्तिको ठूलो भाग जन कल्याणमा लगाए । उनले आनन्द वाग पैलेस संस्कृत विश्व विद्यालयको स्थापना हेतु दान गरे । मिथिला रिसर्च इन्स्टिच्युको स्थापनाका साथै मिथिला मिहिर लगायत धेरै पत्र पत्रिकाको संस्था स्थापना गरे । यहाँ आएर मिथिला राजवंशको अन्त भयो ।
कालगणक इतिहासकार जैकोबी तथा रीज डेविड्सलाई आधार मानेर डा० हेमचन्द्र रायचौधरी अनुसार राजा जनक महान अर्थात शिरध्वजको शासनकाल १२औं शताब्दि ईशा पूर्व रहेको थियो । शिरध्वजलाई इतिहासले जनकवंशको ११औं जनक मानेको छ । इतिहासले राजवंंशको पीढिलाई ३० वर्ष मानेको छ । यसरी जनकवंशको स्थापना जनकमहान शिरध्वज भन्दा ३०० वर्ष पूर्व ठहरिन्छ । राँगेय राघवले आफ्नो रचना प्राचीन भारतीय परम्परा और इतिहास पृष्ठ १७२ अनुसार ३५०० ईशापूर्व सत्ययुगको शुरुवात् मानेको छ । ८०० वर्ष सम्म सत्ययुग रह्यो । २७०० ईशापूर्वमा श्रेतायुग प्रारम्भ भयो । यही श्रेतायुगमा राम सीता तथा जनकको चर्चा गरिएको छ । झण्डै ५००० हजार वर्षको प्राचीन इतिहास बोकेको मिथिलाको अत्यधिक भूभाग अहिले बिहारको सीमामा पर्दछ भने इतिहासमा प्रख्यात् जनक महानको राजधानी जनकपुर तथा प्रसिद्ध कर्णाटवंशी राजाको राजधानी बाराको सिम्रौनगढ नेपालमा पर्दछ । काठमाण्डौ उपत्यकामा पनि कर्णाटवंशी राजाहरुले शासन गरेको विभिन्न शिलालेख र इतिहासले प्रमाणित गरि सकेको छ ।
मिथिला आफ्नो स्थापनाकाल देखि आफ्नो राज्यलाई साम्राज्यमा रुपान्तरण गरेको थियो र राजा जनकलाई जनक महान तथा सम्राटको उपाधि प्राप्त थियो । यस इतिहासलाई पूर्वाग्रही र अल्पज्ञानबाट तोडमरोड गरि बिगारेर लेख्नु, भन्नु इतिहासप्रतिको घात नै ठहरिन्छ ।