युरोपमै स्थापित नेपाली धनाढ्यहरुले स्वदेशमा लगानी गर्नुको रहस्य

Read Time:17 Minute, 53 Second

नागरिकता परिवर्तन गर्दैमा आफू जन्मेको देशलाई विस्रन सकिदैन । गरिब देशमा जन्मिनुको पिडा म मात्रै होइन मेरा शाखा सन्तानले समेत भोगीरहेको हुन्छ ।  तँपाईमाथि विदेशीले गर्ने व्यवहार अहिले कुन देशको नागरिक हुनुहुन्छ भन्ने कुरामा निर्भर गर्दैन बरु तँपाईको ओरिजिनल देश कुन हो त्यहि देशको अवस्थाको आधारमा व्यवहार गरिन्छ ।

उपेन्द्र महतो

विशेषज्ञ धनी बुद्धिजिविहरुले संसारको जुनसुकै देशको नागरिकता लिन सक्छन् । तर नागरिकता जहाँको लिए पनि हाउभाउ स्वभाव चालचलन रंग पर्वहरु भने आफू जन्मेकै देशको हुन्छ । कसैले अमेरिकाको नागरिकता लिए पनि उ कागजी रुपमा मात्रै अमेरिकी नागरिक सरह हुन्छ । उसको शिल स्वभाव संस्कृति सबै नेपाली नै हुन्छ । तँपाईले म अमेरिकन हो भन्दा वित्तिकै ओर्जिनल्ली कुन देशबाट भन्ने प्रश्न सँगै जोडिएर आउँछ । किनभने तँपाईको अनुहार चालचलन स्वभावले तँपाईलाई अमेरिकी होइन भनी रहेको हुन्छ । तँपाईमाथि गरिने व्यवहार अहिले कुन देशको नागरिक हुनुहुन्छ भन्ने कुरामा निर्भर हुँदैन बरु तँपाईको ओरिजिनल देश कुन हो त्यहि देशको अवस्थाको आधारमा व्यवहार गरिन्छ ।त्यति मात्रै होइन अमेरिकीमै जन्मेका सन्तानहरुलाई समेत तिमी वुवा कुन देशको नागरिक भनेर सोधिन्छ । त्यसैले नागरिकता परिवर्तन गर्दैमा आफू जन्मेको देशलाई विस्रन सकिदैन । जुनसुकै देशको नागरिकता लिए पनि आफू जन्मेको देशबाट अलग हुन सकिदैन । गरिब देशमा जन्मिनुको पिडा म मात्रै होइन मेरा शाखा सन्तानले समेत भोगीरहेको हुन्छ । कालो कपाल कालो अनुहार कालोलाई अमेरिकन जस्तो बनाउन सकिदैन ।

त्यसैले आफू जन्मेको देश समृद्ध हुनु ठूलो कुरा हो । त्यसपछि विदेशीहरु नेपाली नागरिकता लिन लालयित हुन्छ । नेपालीहरु उनीहरुको देशको नागरिकता लिन होइन । अरु देशको नागरिकता लिई हालेपनि ओरिजिनल्ली समृद्ध देशको भनेपछि आफ्नै इज्जत बढ्छ ।

नेपालीलाई समृद्ध बनाउन चार पाँच पुस्ता वा त्यो भन्दा बढी समय लाग्ने भए मैले पनि विकसीत देशको नागरिकता लिने निर्णय गर्न सक्थे हुँला तर नेपाललाई छोटो समयमै समृद्ध बनाउन सकिन्छ । पाँच वर्षमै नेपाललाई हुने विरुवाको चिल्लो पात भने जस्तो बनाउन सकिन्छ । १० १२ वर्ष भित्रै सबै नेपालीले अनुभव गर्ने गरी नेपाललाई समृद्ध बनाउन सकिन्छ । संसारमा कोही मान्छे निस्वार्थ हुन सक्दैन र स्वार्थी मानिसले मात्रै केही गर्न सक्छ तर त्यो स्वार्थ व्यक्तिगत हुनुहुँदैन । कसैले उपेन्द्र महतोले निस्वार्थ काम गरिरहेको भन्छ भने त्यो सही होइन । मेरो स्वार्थ के हो भने म एउटा समृद्ध देशको नागरिक बन्नु छ । र देशलाई समृद्ध बनाउन आफ्नो ठाउँबाट सकेको पहल गरिरहेको छु त्यसैले मलाई निस्वार्थ काम गरेको भन्न मिल्दैन । म जति नै धनी भए पनि समृद्ध देशको नागरिकको जति शान मेरो हुँदैन । वाहिर वाहिर जति नै शान जस्तो देखिएपनि भित्री मनमा हिनता हुन्छ ।

गैरआवासीय नेपालीहरुको कुरालाई मिडियाले सकारात्मक रुपमा लिएका छन् । अहिलेका संचार गृहले चाहेको खण्डमा आँपको रुखलाई केरा भनी दिन सक्छन् । अर्को कुरा के हो भने विदेशमा सानोतिनो काम गर्नेदेखि बुद्धिजिवी प्राध्यापक व्यापारी सबैमा हिनताबोध छ । भलै उनीहरुले वाहिर व्यक्त गर्दैनन् । देशको अवस्थाले गर्दा जति नै राम्रो काम गर्दा पनि राम्रो मूल्याकंन भईरहेको हुँदैन ।

२००३ मा म गैरआवासीय नेपालीको लागि विभिन्न देशमा घुम्दासम्म देशमा हिँसा छ भ्रष्ट भयो सुरक्षा छैन देश खत्तम भयो । हामीले के नै गर्न सक्छौं र हामीले गर्दैमा के हुन्छ र  भन्नेहरु अहिले देशको लागि मैले के गरेको छु भन्छन् । केही गरेको छैन भन्दा संकोच मान्छन् । नेपालको लागि आफूले केही नगर्ने अनि गाली मात्रै गर्ने अधिकार कसैलाई पनि छैन । देशको लागि केही नगरी गाली मात्रै गर्दा गर्नेहरु समेत निरुत्साहित हुन्छन् भन्ने कुरा गर्दै हिँड्दा त्यति बेला पिटेर भगाउँथे भने अहिले स्वागत गर्छन । देशको लागि योगदान गर्न सम्पत्तिको थुप्रो चाहिँदैन । मन भए पुग्छ । गल्फ मुलुकमा जानेहरु समेत एक दुई दिनको तलब देशको हितमा लगाउन लाइन लागेर आएका छन् । उनीहरुले पनि के बुझेका छन् भने आफूले कमाएको एक दुई सयले भोलि देश समृद्ध भएपछि आफैलाई समेत फाइदा गर्दछ । समृद्ध भएपछि नेपालमै ५ हजार डलर पाउँछ भने विदेशमा २ सयमा गर्न कोही पनि जाँदैन । स्वदेशमा भन्दा बढी तलब पाए मात्रै जान्छन् ।

अर्को कुरा नेपाली संस्कृति यस्तो छ । हामी यसरी चल्नुपर्छ भनेर आफ्ना सन्ततिलाई सिकाउन पनि मुलुकलाई समृद्ध नबनाई हुँदैन । साँच्चीको नेपाली हुनको लागि नेपाली भाषा पनि जानेको हुनुपर्दछ । नेपाली संस्कृतिको बारेमा अंग्रेजीमा भन्नु पर् यो भने त त्यो विदेशी नेपाली भईहाल्यो नि । यसैका लागि हामीले बच्चाहरुलाई नेपाली भाषा सिकाउन अभियान चलाएका थियौं । भाषासँगै उसले संस्कृति पनि सिक्छन् । जस्तो भाईटिका फलना दिनमा पर्छ दशैं फलना दिन पर्दछ ।

हामी नेपालीहरुको एउटा कमजोरी के देखिन्छ भने जुनसुकै विवाहमा जन्ती हैन वेहुला नै बन्न चाहन्छ । भनाईको मतलब जाने पनि नजाने पनि उनीहरु अंग्रेजी नै बोल्न खोज्छन् । यहाँसम्मकी नेपाली समेत अंग्रजीमै सिकाउन खोज्छन् । यस्ता कुराहरुमा पनि अहिले केही परिवर्तन आएको छ ।

गैरआवासीय नेपालीको कार्यक्रममा पनि कतिपय साथीहरुले अंग्रेजी बोल्नु पर्छ भन्थे । तर मैले नेपालीहरुको कार्यक्रम नेपाली भाषामै संचालन हुनुपर्दछ भन्ने अडान लिएर कार्यक्रम गर्थे ।

अर्को कुरा सयौं भाषा कसैले पनि बुझ्न सक्दैन । त्यसैले नेपालीहरुको वीचमा नेपालीहरुको वीचमा नेपाली भाषा नै बोल्नु पर्दछ सम्पर्क भाषाको रुपमा । नेपाल भनेपछि नेपाली भाषा अनिवार्य हो भन्ने हामीले बुझ्छौं । किनकी एकअर्का वीचको संवाद नै भाषाले गराइदिएको हुन्छ । नेपाली नेपालीवीच अंग्रेजीमा नेपाली संस्कृतिको बारेमा भनेको सुहाउँदैन ।

दोस्रो युद्धताका यहुदीहरुले आफूलाई यहुदीको रुपमा चिनाउन चाँहदैनथे । हिटलरको डरले तर इजरायलको स्थापनापछि नेपालमा ७, ८ सयको संख्यामा रहेको यहुदीहरुले समेत आफ्नो नयाँ वर्ष मनाए । इजरायल धनी नभएको भए उनीहरुले यस्तो गर्ने सक्ने थिएनन् ।

कुनै पनि नागरिकले अर्को देशमा जाँदा आफ्नो देशकै प्रतिनिधित्व गरेको हुन्छ । दुई जना मध्ये एउटा अफगानिष्तान र अर्को अमेरिकीबाट आएको नागरिक भनेपछि हामीले कुन रुपले हेर्छौ। । यसबाट थाहा हुन्छ मुलुकको प्रतिनिधित्व कसरी हुन्छ भन्ने कुरा । नेपालकै कुरा  गर्दा नेपालीहरु कसैसँग भेटन गयो भने नोकरी नै माग्न आएको हो कि जस्तो गर्छन । तर अमेरिकाको एउटा साधारण मान्छे आएपनि हामीले केही सहयोग गर्न आएको हो कि  कुनै सल्लाह पो दिन्छ कि भन्ने फिलीङ्ग हुन्छ ।  आ-आफ्ना मातृभाषा अंग्रेजी भाषा सबै बोल्नु हुँदैन भन्ने होइन । तर सबैले बुझ्ने भाषा जानेर बोल्दा वास्तवमा नेपालीपन फिल हुन्छ । अनि देश प्रतिको माया बढ्छ ।

धेरै कुरा  लादिएको हुन्छ । जस्तो हाम्रा पुर्खाहरु कपडा नलगाएर हिँड्थे । कपडा पनि लादिएको हो तर अहिले कपडा नलगाएर हिँडन त कोही पनि सक्दैन । लादिएको कुरा फाल्दै हिँड्ने हो भने धेरै कुरा फाल्नु पर्ने हुन्छ ।

पाँच वर्षमा नेपाललाई देखिने गरी समृद्ध बनाउन सकिन्छ भन्दा मलाई नेता जस्तै भाषण गर् यो पनि भन्लान् । एउटा ठाउँमा पुगेको व्यत्तिः भएकाले एभरेज भन्दा बढी बोलेको पनि हुन सक्छु । झण्डै यहाँको सुरक्षा अवस्था राजनीतिक अवस्था संक्रमणकाल जस्तै अवस्था ९० मा रुसमा थियो । तर त्यहाँको सरकार बलियो भएको दुई महिनामै त्यहाँका नागरिकले सुरक्षित महशुस गरे । रसियन भन्दा हिनताबोध गर्नेहरुले घमण्डगर्व गर्न थाले कंगो लगायतका अफि्रकी देशहरुमा स्वदेशी र विदेशीलाई लगानी गर्ने वातावरण बनेपछि त्यहिका जनताले शान्ति मागे । १० वर्ष अघिको कंगो देख्नेले अहिलेको कंगो चिन्न मुस्किल पर्दछ । सिराओलिनको त्यहि हालत छ । त्यसबाट मलाई के आत्मविश्वास बढ्यो भने यदि सरकार इमान्दारसाथ अगाडि बढ्यो भने जनताले साथ दिन्छन् ।

प्रधानमन्त्री अर्थमन्त्री र गृहमन्त्री मात्रै इमान्दार हुने हो भने नेपालमा धेरै गर्न सकिन्छ । भ्रष्टाचार कम गर्ने हो भने संसदको मान्छेलाई मन्त्री बन्न दिनु हुँदैन । सरकारलाई नियन्त्रण गर्ने संसदकै मान्छेहरु पालोपालो मन्त्री भएपछि कसले गर्छ नियन्त्रण । वाहिरको मान्छे मन्त्री बन्दा संसदले कारवाही गर्न पनि सक्थ्यो र आफूलाई पालोमा कारवाही गर्ला कि भन्ने डर पनि हुँदैनथ्यो । अर्को कुरा मैले संसारमा कँहि पनि सुनेको छैन कि भ्रष्टाचार गर् यो भनेर मन्त्री पदबाट हटाउने तर भष्टाचार गरेवापत उ माथि कारवाही नहुने । यसो नहुना इमान्दार मान्छेको आत्मबल घट्छ ।

नेपाल सानो देश हो त्यसैले पनि सजिलै विकास गर्न सकिन्छ । हामीसँग प्राकृतिक सुन्दरता जडिबुटीको खानी छ जुन कुरा विकसीत देशहरुले चाहेर पनि बनाउन सक्दैनन् । जलस्रोतमा तेस्रो धनी देश दैनिक लोड सेडिङ १२ घण्टा भन्दा खेरी लाज लाग्छ ।

देश विकास गर्न हामी आक्रमक रुपमा अगाडि जानु पर्दछ । हामीलाई सिपालू सुनारको सिप भन्दा एक चोटी धक्का दिनसक्ने लोहारको चोट चाहिएको छ । राजनीतिमा आक्रमक रुपमा अगाडि बढ्न सकिन्छ भने विकासमा किन नसक्ने । संस्कृतिमा मात्रै आक्रमक रुपमा अगाडि बढ्नु हुँदैन । त्यसमा क्रमश अगाडि परिवर्तन हुनु पर्दछ । तर हामी कहाँ संस्कृतिमा रिभुलेसन भईरहेको छ भने आर्थिक कुरामा इभुलेसन । सात सात वर्ष टाउकोले टेकेर हिँडेका मान्छे पनि छन् तर खुट्टा जस्तो छिटो हिँड्न त सकिदैन नि ।

गोबल वार्मिङ लगायतका समस्या त छन नै त्यो वाहेक अर्को समस्या के छ भने भविष्यमा जनसंख्या अभाव हुँदैछ । अहिले परिवार नियोजनका लागि दिइएको सुविधा भोलि परिवार विस्तार गर्नका लागि दिनु पर्नेहुन्छ । यो आवश्यकता हो । ध्रुव सत्य हो । हामी विस्तारै पश्चिमीकरणमा जाँदैछौं । पश्चिमा देशहरुमा सन्तान जन्माउनेलाई सुविधा दिन शुरु भईसकेको छ ।

हरेक जातिको संस्कृति रिति फरक छ । त्यसलाई बचाउनु राम्रो हो । अगाडि बढ्न नसकेका जातिहरुलाई समृद्ध बनाउनु सबै भन्दा राम्रो हुन्छ । सिमित राजनीतिक स्वार्थका  लागि क्षेत्रीयता जातीयता आदिको नारा दिईरहेका छन् । यसमा सिमित व्यक्तिहरुको राजनीतिक स्वार्थ जोडिएको देखिन्छ । विश्वमा अहिले ठूलो समूह बनाउने चलन बढेको छ । जस्तो युरोपियन युनियन । युरोपियन युनियन नभएको भए जर्मनीको त्यति लाईबलिटी हुने थिएन । अफ्ठ्यारो पर्दा ठूलो समूह चाहिन्छ । समय अनुसार मानिसले आफूलाई बदल्नु पर्दछ । हिजोको कुरा जे पनि हुन सक्थ्यो ।

अहिले विश्वसन्दर्भ पनि फेरिएको छ । पहिला पढेलेखेको मान्छेलाई कम पढेको मान्छे चाहिन्थ्यो तर आजको जमाना पढेलेखेको मान्छेलाई बढी पढेलेखेको मान्छे चाहिन्छ । किनभने पढेलेखेको मान्छेले गरेको खोज अन्वेषण बुझन पढेकै मान्छे चाहिन्छ । अनपढले त बुझ्न सक्दैन । त्यस्तै हिजो धनीलाई बढी गरिब मान्छे चाहिन्थ्यो । खेतमा घरमा काम गर्न सुरक्षा गर्न आदि । तर आज धनी मान्छेहरु धनीकै वीचमा मात्रै सुरक्षित हुन सक्छ । यो दार्शनिक कुरा हिजो भनेको भए बौलाहा भन्थे ।

कुनै पनि जाति क्षेत्रको समृद्धि सिँगो नेपालमा मात्रै संभव छ । नेपाललाई समृद्ध बनाउने जिम्मेवारी प्रत्येक नेपालीको हो । यसमा यो भाषा त्यो जाति यो क्षेत्र त्यो समुदाय भन्नु हुँदैन ।  नेपालको ठेक्का कुनै जाति वा व्यक्ति विशेषलाई लिने अधिकार पनि छैन र होइन पनि । कसैले हिन भावना लिनु हुँदैन । राष्ट्रपति मधेशी हो म आफै मधेशी हुँ तर सबै मधेशीको उत्थान त भएको छैन नि । यसले पनि देखाउँछ देशको समृद्धि नभई सबै समृद्ध बन्न सक्दैन । झगडा गरेर हैन गरिबले धनीसँग मिलेर समृद्ध बन्न सक्दछ । नेपालमा धनीहरु धनी हुनु पाप हो जस्तो लाग्छ । चोरेर धनी भएको हो भन्ने मानसिकता छ । जबसम्म धनी हुनु पाप होइन गरिब हुनु कमजोरी हो भन्ने बुझ्दैन तब सम्म देश समृद्ध बन्न सक्दैन ।

 

(नेपालका सर्वाधिक धनी महतोले नेपालमा मिडिया लगायत धेरै उद्योगमा लगानी गरेका छन् ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %