राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक हुँदै महासचिव र सहअध्यक्षको जिम्मेवारी पुरा गरेका पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी तुलनात्मक रुपमा हिजो जति चर्चामा छैनन् । नेपाल मगर संघको सबै भन्दा बढी नेतृत्व पनि यिनैले गरे । शाहीकालमा मन्त्री बनेर दशैंमा टिका लगाएपछि भने उनको राजनीतिक र सामाजिक जीवनमा निकै ठूलो अन्तर आयो । तीन दशक भन्दा लामो राजनीतिक र सामाजिक नेतृत्वमा रहेका खपाङ्गीसँग www.rajyasatta.comले जनमुक्ति पार्टी स्थापनादेखि अहिलेसम्मको अवस्था, राज्यको पुर्नसंरचना, सामाजिक आन्दोलनदेखि दशैं बहिस्कारको विषयमा गरेको भलाकुसारी
राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिबाट पारित १४ प्रदेशप्रति यहाँको धारणा के हो ?
सिद्धान्ततः संघीयतामा जातीय राज्य चाहिँदैन । तर व्यवहारमा प्रस्तावित १४ प्रदेशप्रति मेरो विरोध छैन र समर्थन पनि गर्दिन ।
विकल्प के त ?
तँपाई विकल्प भन्नुस कि निर्विकल्प । संघीयता चाहिन्छ तर विकासका लागि ।
संघीय प्रदेश निर्माणका उपयुक्र्त आधार के हो ?
सबै भन्दा कम विकसीत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्दछ । यस आधारमा बनाइएको संघीयतालाई भौगोलिक संघीयता भन्छ क्यारे ।
जातीय संघीयताको यत्रो विरोध किन ?
जमीन पाएर जातीय मुक्ति हँदैन । नेपालको सन्दर्भमा भारतको पश्चिम वंगालमा गोर्खाल्याण्ड मागे जस्तो अवस्था होइन ।
अर्को कुरा अहिले जुन जातिको नाममा प्रदेश प्रस्ताव गरिएको छ । त्यहाँ त्यहि जाती अल्पमतमा छन् । यस्तो अवस्थामा बहुमत जनता अल्पमतबाट शासित हुन तयार होला जस्तो मलाई लाग्दैन । लिम्बुवानमा गैर लिम्बुहरु दुई तिहाई भन्दा बढी संख्यामा छन् । उनीहरु संधै लिम्बुबाट शासित हुन तयार हुन्छन् भन्ने आधार मलाई दिनुस त इतिहासमा के थियो त्यो कुरा आज जस्ताको तस्तै लागु हुन्छ भन्नु वैज्ञानिक तर्क हुँदै होइन ।
तस्विर:-www.rajyasatta.com
नयाँ संविधान किन बनेन जस्तो लाग्छ ?
राज्यमा कुण्डली मारेर बस्नेहरुको संविधान बनाउने मानशाय छैन । नियत छैन ।
अबको तीन महिनामा बन्ला ?
नियत ठीक भयो भने तीन महिना होइन तीन दिनमा बन्छ । छैन भने ३० वर्षमा पनि बन्दैन ।
नियत ठीक नहुनुको कारण ?
नियोजित छ । संविधान नबन्दा उत्पन्न हुने उथलपुथलबाट फाइदा लिन चाहने शक्तिहरुको चलखेल छ ।
नयाँ सरकार गठन भएको छ । यसले केही उत्साह थप्यो कि ?
थपेको छैन । यसअघिका प्रधानमन्त्री जसरी आए भट्टराई पनि त्यसरी नै जान्छन् । समस्याको चाङ पहिला जे थियो अहिले पनि त्यहि छ ।
कम्युनिष्ट राजनीति गरेको मान्छे एकाएक जातीय राजनीति आउनुको कारण ?
म एकाएक आएको होइन । अल्लारे उमेरमा कम्युनिष्ट भएको थिएँ । जति बेला मुलुकको वास्तविकता बुँझे राज्यसत्ताको स्वरुप जातीवादी भएको थाहा पाएँ अनि म पहिचानको राजनीतिमा आएँ ।
त्यो ब्रम्हज्ञान कहिले प्राप्त भयो ?
‘ब्रम्हज्ञान’ भन्ने हिन्दु शब्द म प्रयोग गर्दिन । यसलाई बौद्धित्व प्राप्त गरेको भन्छु । यो कुनै एउटा घट्ना वा आवेगसँग जोडिएको विषय थिएन । मुलुकको यथार्थता र राज्यले पिछड्याइएका समुदायको समस्याको दार्शनिक पक्ष केलाइसकेपछि कम्युनिष्ट पार्टी त्याग गरेको हुँ ।
कम्युनिष्ट राजनीतिप्रति मोह भंग हुनुपर्ने कारण अरु पनि थियो ?
धेरै छन् । वर्गीय समस्यालाई प्रमुख भन्ने नेपालका कम्युनिष्टहरुले वर्ग विश्लेषण गरेकै छैन । जबकी चीनमा माओत्सेतुङले कम्युनिष्ट पार्टी स्थापना गरेको ५ ७ वर्ष भित्रै वर्ग विश्लेषणात्मक शोधपत्र संसार सामु राखि दिएका थिए । चिनियाँ समाजमा वर्ग विश्लेषण शीर्षकको शोधपत्रमा बेघरबार-घुमुवादेखि ठूला उद्योगपतिसम्मको विश्लेषण गरिएको थियो ।
तस्विर:-www.rajyasatta.com
बहुदलको आगमन लगत्तै यहाँहरुको पार्टी खुल्यो ?
हो । तर यसको भ्रुण पंचायत मै तयार भएको थियो । काठमाडौंको रजना हल नजिकको नेपाल लजमा पहिलो पटक पार्टी स्थापनाका लागि म, एमएस थापा र खगेन्द्रजंग गुरुङ्गवीच छलफल भएको थियो । त्यति बेलाको नेपाल जनमुक्ति मोर्चा नै अहिलेको राष्ट्रिय जनमुक्ति पार्टी हो ।
राष्ट्रिय जनमुक्ति पार्टी जनजातिको पार्टी हो ?
होइन । यो राष्ट्रिय पार्टी हो । संयोगले जनमुक्तिमा जनजातिहरु बहुमतमा छन् । जनजाति बहुमतमा भएको पार्टीलाई जनजाति पार्टी भन्नु हुन्छ भने वाहुनले नेतृत्व गरेको वाहुनकै बहुमत भएको एमाओवादी काँग्रेस र एमालेलाई वाहुनको पार्टी किन किन भन्नु हुन्न ? हाम्रो चिन्तन र दर्शन राष्ट्रिय छ । हामीले राष्ट्रियस्तरको मुद्दा उठाएका छौं ।
जनमुक्ति पार्टी खोल्नु पर्ने सैद्धान्तिक आधार के हो ?
हामीले जनमुक्ति पार्टी स्थापना गर्दा मात्रै होइन अहिले पनि एउटा कुकुरले छोएको खानेहरुले मान्छे छोएको खाँदैनन् । यो भनेको मान्छेलाई कुकुर भन्दा पनि तल्लो व्यवहार गरिएको होइन र । यसरी मान्छेले मान्छेलाई छुवाछुत व्यवहार गर्नुको दार्शनिक पक्ष के हो भनेर किन खोजिएकै छैन । दलित नेताहरुले समेत यसतर्फ चासो राखेका छैनन् ।
जस्तो हिन्दु समाजमा महिलालाई किन विभेद गरिन्छ भन्ने विषयको दार्शनिक आधार छ । हिन्दु परम्परा अनुसार आर्यघाटमा छोराले नै दागवत्ति दिनु पर्दछ । यहि कारणले ठूला ठूला युनिभसर्टीबाट डिग्री लिएका हिन्दु परिवारमा पनि महिलामाथि अन्याय भईरहेको छ ।
जुन देशको राज्यसत्ताको स्वरुप नै जातीय छ भने त्यो देशको समस्या समाधानको उपाय पनि जातीय आधारमै हुनुपर्दछ भन्ने हाम्रो निश्कर्ष हो ।
जनमुक्ति स्थापनाको २० वर्षमा नेपाली जनताले के पाए ?
जागरण ! जागरण !! जागरण !!! यसलाई ‘पुर्नजागरण’ भन्नु उपयुक्त हुन्छ । नेपालमा हामीले ल्याएको जस्तो जागरण आउन वेस्ट युरोपमा दुई सय वर्ष लागेको थियो ।
अधिकार ?
ठीक प्रश्न सोध्नु भयो । अहिले पावर पहाडबाट तराई शिफ्ट भएको छ । एमाओवादीले प्रधानमन्त्री बन्न ५० प्रतिशत शक्ति तराईलाई दिएको छ । तर पहाडको ३७ प्रतिशत भन्दा आदिवासी जनजातिले अधिकार पाएका छैनन् । उनीहरुलाई साँचो अर्थमा राज्यसत्ताको मालिक बनाउनु हाम्रो उद्देश्य हो ।
मधेशी समुदायले अधिकार पाउनु पनि आफैमा राम्रो होइन र ?
मधेशीलाई अधिकार नदेउ भनेर मैले कहाँ भने । जातीय जनसंख्याको आधारमा समानुपातिक रुपमा अधिकार वितरण हुनुपर्छ पो भनेको ।
जनमुक्तिले जस्तो समानुपातिक प्रतिनिधित्व संघीयता समावेशी त अरुले पनि उठाएका छन् नि ?
उठाएका छन् तर गलत तरिकाले । उनीहरु जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरुको कुरा मृग तृष्णा मात्रै हो । जनमुक्तिले समानुपातिक प्रतिनिधित्व भनेको सुनेर एमाओवादीले पूर्ण समानुपातिक प्रतिनिधित्व भन्न थालेको छ । ल मलाई देखाउनुस त पलिटिकल साइन्समा कहाँ छ त्यो पूर्णसमानुपातिक प्रतिनिधित्व भन्ने कुरा । यो एउटा भ्रमित पारेको उदाहरण हो ।
यही भ्रम चिर्नका लागि म यो उमेरमा पनि सकि्रयता पूर्वक लागेको छु । यो भ्रमको पर्दा च्यात्नु मेरो लक्ष्य हो ।
तस्विर:-www.rajyasatta.com
तर पछिल्लो समय आफ्नो पार्टीमा सकि्रय छैन भनिन्छ नि ?
यसलाई सकि्रय वा निश्क्रिय नभनँु होला । नवलपरासीमा सम्पन्न चौथो महाधिवेशनपछि म पार्टीसँग प्रत्यक्ष सम्पर्कमा छैन । तर चुप लागेर बसेको पनि छैन ।
भन्नाले ?
चौथो महाधिवेशनमा पराजितहरु बसेर साउन ६ र ७ गते एउटा भेला गर् यों । भेलाले ‘राजमुपा चौम प्रतिपक्ष’ भन्ने युनिट निर्माण गरेको छ ।
संघीय परिषद सदस्यमा मनोनित भईसकेको व्यक्तिलाई किन आवश्यक पर् यो यो युनिट ? यसको लक्ष्य के हो ?
यसको आवश्यकता र लक्ष्य बारेमा छलफल गर्न असोज ७ र ८ गते राजधानीमा पराजितहरुको वृहत भेला आयोजना गर्दैछौं । भदौ २४ र २५ गतेलाई आयोजना गरेका थियौं विशेष कारणले सार्नु पर् यो ।
नेताहरुको यस्तै युनिट र गुटले जनमुक्तिलाई सत्तामा पुग्नबाट रोकेको भन्ने आमधारणा सत्य हो ?
एउटा कुरा मात्रै यसको कारक होइन । जनमुक्तिले अपेक्षाकृत सफलता प्राप्त नगनु्रको मुख्य कारण नेतृत्वको असफलता हो । र समाज बनी नसकेको वा समुदायमै रहेकालाई राज्यसत्ताको मालिक बनाउन खोज्नु फलामको चिउरा चपाउनु जस्तो भएको हो । एमाओवादीले १० वर्ष बन्दुक बोक्नु भन्दा पि्रपलिटिक्समा रहेका समुदायलाई सत्ता दिलाउनु गाह्रो हुन्छ । सामाजिक क्रान्तिमा नहिडी राजनीतिक क्रान्तिमा पुगिदैन । सामाजिक त्यसपछि मात्रै राजनीतिक क्रान्ति अनि आर्थिक क्रान्ति सम्भव हुन्छ ।
खपाङ्गी मन्त्री बनेर दशैंमा ज्ञानेन्द्रको हातबाट टिका लगाएपछि जनमुक्ति पछाडि परेको होइन र ?
दशैंमा टिका लगाएको जनजातिकै लागि थियो । टिका लगाएकोमा यत्रो विरोध गर्नेहरुले गोरेबहादुरले अनिवार्य संस्कृति हटाएकोमा किन समर्थन गर्दैनन् ।
मैले राणा र शाहको चाप्लुसी चाहने जातीय चरित्र बुझेर यस्तो गर्नु परेको थियो । अर्का मगर मन्त्री अहिले बिति पनि सक्नु भयो नारायणसिँ पुनजी उहाँमा मगर पनि थिएन । मैले टिका लगाएपछि खुशी भएर तात्कालिन शिक्षा मन्त्री देविप्रसाद ओझा विद्यालयबाट अनिवार्य संस्कृत हटाउने प्रस्ताव क्याबिनेटमा लिएर जान तयार भए । त्यति बेला ओझालाई लोकेन्द्रबहादुर चन्दले खपाङ्गीजीको प्रस्ताव पो ल्याउनु भयो भनेका थिए । अनि त्यो प्रस्ताव छलफलै नभई पारित गरियो । यो मेरो एक्लो प्रयासको उपज थियो । ३० हजार विद्यालयबाट अनिवार्य संस्कृत पढाइ हटाएरु मासिक ३० करोड रुपियाँ राज्यको बचत गरें । लाखौं विद्यार्थीहरुलाई अनिवार्य संस्कृतिको बोझबाट मुक्त गराएँ । टिका लगायो भनेर विरोध गर्ने अनि राम्रो काम गर्दा खै त फुलमाला ?
तस्विर:-www.rajyasatta.com
जनजातिहरुलाई दशैं वहिस्कार भन्दै हिँड्ने अनि आफैले टिका लगाउने ?
पहिलो कुरा मैले बहिस्कार भन्ने शब्द प्रयोग गरेको छैन । मैले दशैं त्याग भने । र जनजातिलाई दशैं त्याग्नु भनेकै छैन । मैले मगरलाई दशैं त्याग्न आग्रह गरेको हुँ । त्यो पनि मगरको फोरमबाट मात्रै । राष्ट्रिय जनमुक्ति पार्टीको महासचिवको हैसियतले पनि मैले दशैं त्याग्नुपर्दछ भनेको छैन । र व्यक्तिगत रुपमा म कुनै धर्म संस्कृतिको विरोधी हैन । आफूले नमान्नु छुट्टै कुरा भयो तर सबै धर्म संस्कृतिको म उत्तिकै सम्मान गर्दछु ।
मगरलाई दशैं त्याग्न लगाउनु पर्ने कारण के थियो ?
दशैं विशुद्ध सांस्कृति पर्व भएको हुन्थ्यो भने यो गोरेबहादुरले टाउको दुखाउने पर्ने कारणै थिएन । तर यो राजनीतिको कलेवरमा आएको छ । दशैंमा गाउने मालसरीलाई राम्ररी केलाउने हो भने यसको ऐतिहासिक यथार्थता सामुन्ने आउँछ । जसलाई शरीर भैंसीको र टाउको मान्छेको भएको मैयासुर राक्षस भनेर मारियो । उनी वास्तवमा विडाल थिए । र विडाल मगर थिए । मगरका पुर्खाले खोजवीन गर्लान भनेर मैयासुर राक्षस भनाइएको हो । दशैं शुभ पर्व हो भने कालरात्री भनेर रातभरी नसुती बस्नु पर्ने कारण के हो ।