पाँचतारे होटलमा हसुर्ने ! संविधानसभामा गौमाताको राग अलाप्ने क्रान्तिकारी कामरेडहरुको चर्तिकला !!

Read Time:20 Minute, 4 Second

हिन्दू को हुन भन्ने प्रश्नको जवाफमा हिन्दू कौन ? (कल्याण गीताप्रेस गोरखपुर) अनुसार हिन्दु शब्दको परिभाषा यस प्रकार दिइएको पाइन्छ – ओमकार जसको मूल मन्त्र हो । जसले पूर्व जन्ममा दृढ विश्वास राख्दछ । गाईलाई माताको रुपमा पुज्दछ । भारत जसको मूल घर हो । धर्मभ्रष्टलाई जातिच्यूत गर्ने त्यहि व्यक्ति हिन्दु हुन योग्य छ ।

अर्का भारतीय विद्धान रजनीकान्त शास्त्रीका अनुसार्र्र हिन्दु हुनका लागि दुईवटा सर्त पूरा हुनु पर्दछ- भारत वर्षलाई आफनो पूर्वजको मातृभूमि मान्नु र दोस्रो कुनै पनि भारतीय धर्मको अनुयायी हुनु । नेपाली वृहत शव्दकोश अनुसार हिन्दु शव्दको परिभाषा यस प्रकारले दिइएको पाइन्छ –  हिन्दु वेद, धर्मशास्त्र,नीतिशास्त्र र पुराण आदिलाई आफनो धर्म ग्रन्थ मान्ने जाति वा धर्म हिन्दू हो । हिन्दुस्थान हिन्दुहरुको निवासस्थान भारत वर्ष हो ।

टी. बी. पुन

यसबाट हिन्दु को हुन, को होईनन । हिन्दुको मूल स्थल कहाँ हो ? भन्ने परिचय पाउन सकिन्छ । उल्लेखित परिभाषाबाट नेपालका जातजातिहरु हिन्दु हुन कि होइनन् भन्ने पहिचान हुन्छ । राज्यले वा अरु कसैले तिमी हिन्दु हौ वा होइनौ भनिदिदैमा हिन्दू हुने वा नहुने होईन । नेपालको धार्मिक तथ्यांकले नेपालमा बहुसंख्यक (८०.६ प्रतिशत ) हिन्दुहरु देखाएको छ ।
राजा पृथ्वीनारायणशाहले  छरिएर रहेका आदिवासी गणराज्यहरु एकीकरण गरेर नेपाल असली हिन्दूस्थान हो भन्ने उदघोष गरेपछि नेपाललाई हिन्दूस्थान बनाउने र नेपालीलाई व्यापक हिन्दूकरण गर्ने कार्यको थाल्नी भयो । हिन्दुकरणको व्यापक निरन्तरता स्वरुप वि.सं. २०१९ सालको पंचायती संविधान र २०४७ सालको वहुदलीय संविधानले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरयो । नेपालका आदिवासीहरु हिन्दू नभएकाले हिन्दु राष्ट्रप्रति उनीहरुको विरोध असन्तुष्टि असहमति सँधै रहिरहयो । बास्तवमा हिन्दुराष्ट्र बनाउनु बाहुनवादीहरुले यहाँका आदिवासी जनजातिहरु माथि शासन शोषण र उत्पीडन गर्ने प्रपंच मात्र थियो भन्ने कुरा अहिले घामझै छर्लगं भएको छ । आदिवासीहरुको जातीय अस्तित्व पहुँच र पहिचान नामेट पार्दैै बिस्तारै मरणको मन्द विष पिलाएर उनीहरुको जातीय अस्तित्व पहिचान स्वाभिमान मेटनु थियो । धेरै हदसम्म उनीहरु सफल पनि भएका छन । अन्तत: ढिलोचाँडो आदिवासीहरुमा फेरि जातीय पुर्नजागरणको लहर छाएको छ । नेपालमा आदिम कालदेखि बसोवास गर्ने आदिवासी मूलवासी भूमिपुत्रहरु कहिल्यै पनि हिन्दु थिएनन र हिन्दू होइनन । उनीहरु मंगोलीयन मुलका किराँत, बुद्धिष्ट, बोन, प्राकृतिक धर्मालम्वी र तिनका सन्तान सन्ततिहरु हुन । नेपालको २०५८ सालको सरकारी तथ्याङक अनुसार ८०.६ प्रतिशत हिन्दु देखाउनु मिथ्याङक थियो । नेपालका असली हिन्दू भनेका १२.७३ प्रतिशत जनसंख्यामा रहेका बाहुन र  १५.८० प्रतिशतमा रहेका क्षेत्री तथा खसहरु पनि आफूलाई हिन्दू ठान्दछन भने करिव २८ प्रतिशत जनसंख्या मात्रै नेपालमा हिन्दु जनसंख्या देखिन्छन । नेपालका तागाधारी जनैधारीहरु प्राय सवै हिन्दु हुन । अचम्मको कुरा के छ भने  नबुझेर नजानेर केहि जनजातिहरु आफूलाई हिन्दू हौ भन्ने गरेको पनि सुनिन्छ । तर त्यो बाहुनवादी भ्रम र आफनै अज्ञानता हो । हिन्दूधर्मले शूद्र र अछूतको व्यबहार गर्ने दलित समुदाय पनि हिन्दु हुन सक्दैन । बाँकी ७२ प्रतिशत नेपालीहरु अहिन्दु छन । यहि यथार्थतालाई मनन गरेर ०६२-०६३ को जनआन्दोलनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिसकेको छ । तर व्यबहारमा हिन्दुसापेक्ष राष्ट्रनै कायम छ । वि.सं. १९१० सालमा जंग बहादुर राणाले बनाएको मुलुकी ऐन र पंचायतकालीन बाहुनवादी ऐन नियम कानुनहरु अझै पनि सक्रिय क्रियाशील छन । वर्तमानमा खारेजी भएका छैनन । तिनै सडेगलेका ऐन कानुन नीति नियमलाई समातेर अहिलेको धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्र चलिरहेको छ ।
सत्ताधारी वर्गले बदलिदो राजनितिक परिवर्तनलाई विचारै नगरि यथास्थितिमा यहि पुरानो सडेगलेको हिन्दु धार्मिक कानुन माथि टेकेर एकजातीय शासन सत्ता चलाइरहने हो । र, समयमै परिर्वतनको एहसास नदिलाइए सामाजिक साँस्कृतिक तथा जातीय क्रान्तिका ज्वारभाटाहरु, आगाका हुरहुरि दन्कने खतरा नजिकिदै छ । यो आगोको लप्कोमा को पोलिने हुन को डढिने हुन थाहा छैन । बाहुनबादीहरुले गर्दा देशलाइ जातीय भीषण द्धन्द, गृहयुद्ध र बिखण्डनतिर लैजान सक्ने संभावना पनि प्रचुर देखिन्छ । निरङकुश राजतन्त्र सिद्धियो, अब लोकतन्त्र गणतन्त्र आयो । लोकतन्त्रको नाममा हामीले जे जसो गरे पनि हुन्छ भन्ने संर्किण सोचाइँ, भ्रम पालेर बाहुनवादीहरु नबसे हुन्छ । राजतन्त्र सिद्धियो तर बाहुनवादी एकाधिकार संस्कार चरित्र अझै ज्यूँकात्यूँ छँदैछ । यत्रो राजनितिक परिवर्तन पछि पनि जनताले सामाजिक परिवर्तन, अग्रगमन र बिकासको आभास महसुस गर्न सकेका छैनन । यस बारेमा सत्ताधारी शासक वर्गले समयमै सोच्नु पर्ने विषय होइन र ?
नेपाल धर्मनिरपेक्ष राष्ट्र भएपछि पनि नेपालको निरंकुश हिन्दु कानुनहरु अझै संसोधित परिमार्जित , लोकतान्त्रिक र जनमुखि हुन सकेका छैनन । ती यथास्थितिवादी ऐन तथा कानुनहरुले खुलेआम मानवअधिकारको हनन गरि धज्जी उडाइरहेका छन । त्यस्ता विभेदपूर्ण अमानवीय कानुनहरु गणतन्त्र लोकतन्त्र प्राप्ति पछि पनि खारेजी भएका छैनन । हिन्दुधर्म गाई अहिले पनि राष्ट्रिय जनावर भएकै छ । जानि जानि गाई गोरु मार्नेलाई  १२ वर्ष कैद र मार्न वचन दिने मानिसलाई ६ वर्ष जेल सजाय हुन्छ । (मुलुकी ऐन,चौपायाको महल, ७ ) धेरै मानिसहरु अर्थात आदिवासी जनजाति र दलित समुदायले गाई कानुन अन्र्तगत कठोर जेल परेका र पीडा भोगेका छन । धर्मनिरपेक्ष राष्ट्र घोषणा भए यता पनि गाई कानुनमा धेरै जेल गएका छन । भोजपुर जिल्ला किमाथाङग गाबिसका ६० बर्षीय महिला क्रिपा शेर्पा । दाङ जितपुर गासिका लालमति मगर, सुन कुमारी मगर, मन कुमारि मगर, तेजेन्द्र द्यर्ती मगर । बाँके जिल्ला पुरेनि गाविस किङ.रियनपुरका बुधेई किङघरिया । काठमाण्डौ जोरपाटीमा ईन्द्र बहादुर तामाङ.,चन्द्र बहादुर बुढाथोकी, राजु लामा, दावा मोक्तानलाई पक्रेर जेल हालियो । हालै चितवनमा पनि गाई मारेको अभियोगमा पुलिसले पक्राउ गरेको छ । यी त मिडियामा हालसालै आएका केहि ताजा खबरहरु मात्र हुन । नेपाल आदिवासी जनजाति महासंघले यस्ता मानव अधिकार विरोधी हरकतहरुको नेपाल सरकारसंग कडा निन्दा विरोध र भत्र्सना गरेको छ । यस्ता घटनाहरुबाट आदिवासीहरु बाहुनवादीहरु देखि रुष्ट छन । हिन्दु प्रतिक्रियावादी कानुन आदिबासीहरुलाई लादनु मानिसको खान र बाँच्न पाउने अधिकार, मौलिक स्वतन्त्रताको हनन गरिनु हो । गाई काटेर मासु खाने साँस्कृतिक ऐतिहासिक परम्परा भएका आदिवासी जनजाति, दलित तथा सार्की जाति, बुद्धिष्ट, किरात, बोन, प्राकृतिकवादी, मुशलमान, क्रिश्चियन धर्मालम्वी तथा गौमांस चाहने हिन्दुहरुको समेत मौलिक स्वतन्त्रता र मानव अधिकारको हनन गरिनु हुँदैन । गाई कानुन आउनु पहिले नेपालका कतिपय आदिवासीहरुले कोरले बरगोरु भोग दिएर कूलपूजा गर्ने गर्दथे । गौहत्या गर्न नपाइने हिन्दू कानुनले गर्दा आज पनि प्रतीकका रुपमा आफना कुल पुर्खा सम्झेर गोरुको रौं चढाउने, पिठोको गोरु बनाएर भोग दिई जाँड रक्सी चढाउने संस्कृति आदिवासीहरुमा यथावतै छ । गौमास, रक्सी उनीहरुका सांस्कृतिक प्रसाद हुन । धर्मको स्वार्थमा गौबध निषेध कानुन बनाउने बाहुनहरुले आदिवासिका यी पहिचान संस्कृति हुन भन्ने कुरा कहिलेसम्म बुझने होलान ? आफना जातीय हित स्वार्थ रक्षाको पक्षमा ऐन नियम कानुन बनाउँदा कतै अरुलाई पिर मर्का त पर्दैन ? कसैको अहित त भएको छैन ? उसको मानव अधिकारको हनन त भएको छैन ? भन्ने कुरा बाहुनवादीहरुले  कहिले बुझने हुन ? मानव अधिकार र लोकतन्त्रको बखान गरि नथाक्ने सत्ताधारी बाहुनका घंैटामा घाम कहिले लाग्ने हो कुन्नी ?
प्राचीनकालदेखि गाईगोरु अन्य पशुसरह काटमार गर्ने र खाने सांस्कृतिक परम्परा नेपालमा थियो । राजा गिवार्ण युद्धविक्रमशाह, राजा राजेन्द्रविक्रमशाह र राणाकालमा हिन्दुवाद बाहुनवाद लादे पछि श्री ३ जंगबहादुर राणाको पालामा गौहत्या गर्न नपाइने हिन्दु कठोर कानुन बन्यो । पंचायतकाल, ०४६ को आन्दोलन र ०६२,०६३ को जनआन्दोलन पछि आजसम्म पनि गाईलाई हिन्दुधर्म संस्कृतिमा माताको रुपमा पुजन गर्ने ब्राह्मणवादि धार्मिक परम्परा र राष्ट्रिय जनावर गाई संवैधानिक राष्ट्रिय जनावर घोषणा गरि मुलुकी ऐन बनाई दण्डित गर्ने जंग बहादुरी परम्परा आजसम्म कायम रहँदै आएको छ । धर्मनिरपेक्ष नेपाल भइसके पछि पनि अझै १ सय ५८ वर्ष पुरानो जँगबहादुरी तानाशाही हिन्दु धार्मिक मुलुकी ऐन कानुन लगाएर जनतालाई दण्डित गर्नु, जेल हाल्नु यो कस्तो न्याय हो ? कसको सत्ता र कस्तो लोकतन्त्र हो यो ? के यो बाहुनवादी सत्ता होइन र ? अब सबैले बुझनु पर्ने बेला धेरै अबेला भएको छ । बाहुनको अन्याय अत्याचार विभेद र उत्पीडन सहेर बस्ने बेला गएको छ । संविधान, ऐन कानुन भनेको बाहुन स्वार्थ लागि मात्र नभएर आम जनतालाई न्याय शान्ति सुव्यबस्था दिने हो अन्याय विभेद गर्ने होइन । यो जनताको न्याय गर्ने  जनचाहना अनुरुपको यूगानुकूल समयसापेक्ष र वैज्ञानिक हुनु पर्दछ । तर बाहुन राज्यमा त्यसो भएको छैन । आज आदिवासीहरुले देश हाम्रो हो राज्य हाम्रो होईन बाहुनको हो भनिरहेका छन ।
आज नेपालको पाँचतारे ठूला होटेल, रेष्टुरेन्ट तथा डिर्पाटमेन्टल स्टोरहरुमा लुकिछिपि गाईगोरुको मासु बेचबिखन, खानपान गर्ने स्वदेशी तथा विदेशीहरुको लर्को छ । विदेशमा सबैभन्दा उत्तम तथा स्वादिष्ट मांस परिकार गाईगोरु हो । एकातिर लुकिछिपि गाइगोरुको मासु हसुर्ने तर अर्कातिर गाई हाम्रो राष्टिय जनावर हुनु पर्दछ । हिन्दुराष्ट्् हुनुपर्दछ भन्ने द्धैध चरित्र बोकेका दुइ जिब्रे बाहुनवादीहरुनै छन । माओवादी जनयुद्ध समयमा आदिवासी जनजाति समुदायका गाउँ बस्तीहरुमा व्यापक रुपमा गाईगोरु काटेर भोजभतेर भान्सा गरियो । नेपाली साँस्कृतिक क्रान्तिको नाम दिएर रक्सीसँगै गाईगोरुको सुकुटी चपाउँदै गर्नसम्म क्रान्तिकारी राजनिति गरियो । अहिले संसद-संविधान सभा सरोकारवाला सम्बन्धित निकायहरुमा गाई कानुन र राष्ट्यि जनावर गाई हटाउने विषयमा यथास्थितिवादी धर्मभीरु बाहुनको त के कुरा गर्ने क्रा्न्तिकारी भनिने बाहुनवादीहरु समेत तैचूप मैचूप देखिन्छन । उनीहरु यस विषयमा खुला वहस गर्न तयार देखिदैनन । किनभने गाई बाहुनको धर्म संस्कृति हो । यस विषयमा बोले उसलाई पाप लाग्छ, उसको जातधर्म जान्छ । नेपालका नागरिक समाज,मानव अधिकारवादी भनिने तथा आफूलाई संवैधानिक कानुनविद विद्धानकोे उपनाम दिने पाखण्डीे पण्डित पुरोहितहरु र तिनका भक्ति गुणगान गाउने जिउ हजुरिमा बाँचेका सानातिना संचार मिडिया सत्ताधारीका पहँुच भएका ठुलठुला बाहुनवादी मिडिया हाउसहरु समेत यस विषयमा छलफल गर्न चाहँदैनन । छलफल गरेर गाई कानुन हटयो भने उसको धर्म गुम्ने डर स्वार्थ छ । नेपालको प्रचलित कानुन परिर्वतन अग्रगमनको पक्षमा भन्दा यथास्थिति पश्चगमनमा उभिएरै हिन्दु साम्प्रदायिक कानुनको पक्षपोषण र बकालत गर्दैछन । उनीहरु धर्मको आडमा राज्य शासन चलाउँदैछन । यो अत्यन्तै खतरनाक धार्मिक निरंकुशता हो । बाहुनवादीहरुले बुझनु पर्ने कुरा तिम्रा गाई देवता हुन, तिमी पूजा गर । धर्मभीरु हौ भने धर्ममा आस्था राख । यसमा  कसैको कुनै आपति बिपत्ति छैन । तर, त्यहि जन्तु अरुको लागि खाध्य पदार्थ हो, खान देउ । बाँच्न देउ ।
तर उनीहरु देशलाई अझै हिन्दुराष्ट्र बनाएर बाहुनवादी एकात्मक राज्यसत्ता चलाउन टिकाउन चाहन्छन । बाहुनवादीहरुको यस्ता खालका धार्मिक निरंकुशता बितण्डाले गर्दा आज आदिवासी जनजाति तथा दलितहरु मुखले हजूर भने पनि बाहुनहरुबाट अत्यन्तै त्रर्सित र शसंकित छन । सत्ताधारी सडयन्त्रकारी बाहुन देखि परै रहन चाहन्छन । आज आदिवासीहरुले आफनो जातीय राज्य, स्वशासन र आत्मनिणर्यको अधिकारको चर्को माग गर्नु धर्मभीरु बाहुनको अन्याय अत्याचार शोषण उत्पीडन आन्तरिक उपनिवेशबाट मुक्त भएर जातीय स्वशासन पहिचान स्वाभिमानको राज्यमा रमाउन चाहनु धेरै मध्येकै कारण हो । आदिवासीहरुले धर्मनिरपेक्षता पहुँच र पहिचान सहितका जातीय स्वशासनको कुरा उठाउँदा आज बाहुनवादिहरुबाटै चर्कोै बिरोधको सामना गर्नुपरेको छ । धर्मनिरपेक्षता,संद्यीयतानै चाँहिदैन । एकात्मक हिन्दु राज्यनै चाहिन्छ भनेर हिडने बाहुनवादीहरुले के बुझनु पर्दछ भने कतै हाम्रै कारणले गर्दा आदिवासी जनजातिहरुमा हामी प्रति वितृष्णा जागेको त होईन ? बाहुनवाद विरोधी लहर, जातीय स्वसासन प्रतिको चाहना झनझन तिब्ररुपमा बढदै गइरहेको त होइन ? हाम्रै अन्याय अत्याचार र बल मिचाईले उनीहरु हामीदेखि सँगै बस्न नसकेर टाढिदै गएका त छैनन ? बाहुनलाई विश्वास गर्ने आदिवासीहरुको धैर्यताको बाँध कुनै दिन फुटिहाल्यो । र, बाहुन प्रति विश्वासको मोह भंग भयो भने यो देशमा कस्तो विद्रोह होला ? यो कुरा आफूलाई विज्ञ जान्नेसुन्ने ठान्ने सत्ताधारि तिनका आसेपासे धर्मभीरु बाहुनलेनै बुझने र मनन गर्ने विषय हो । आदिवासी जनजातिहरुले यो राज्यबाट आजसम्म के पाए ? के गुमाए ? त्यसको हिसाब किताब गर्न भने बाँकीनै छ ।

( आदिवासी जनजातिका विषयमा कलम चलाउने प्राज्ञ पुन नेपाल मगर लेखक संद्यका केन्द्रीय सदस्य हुन । )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %