बेलायतको आदिवासी दिवस – केहि तितो केहि मिठो

Read Time:6 Minute, 15 Second

“आदिवासीहरु आफ्नो इतिहास, संस्कृति, ढाँचा र आफ्नो भविष्य आफैले निर्माण गर्दछन्” भन्ने मूल नाराको साथ यसपालिको १७औं विश्व आदिवासी दिवस बेलायतमा बसिरहेका नेपाली आदिवासीहरुले पनि विविध कार्यक्रम सहित सम्पन्न गरेकाछन् । नेपाल आदिवासी जनजाति महासंघ बेलायतको आयोजनामा गरिएको दिवसमा प्रमुख अतिथि रस्मुर बोरो काउन्सिलका मेयर आलेक्स क्रुफतलाई बनाइएकोथियो ।
प्रमुख अतिथि क्रुफतले आफुले बेलायतमा धेरै बर्षदेखि गोर्खा भूपूहरु र अन्य नेपालीहरुलाई  सहयोग गर्दे आइरहेकोले आदिवासी नेपालीहरुको मुद्दा पनि सम्बन्धित निकायमा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफुले नेपालीका लागि विभिन्न कल्याणकारी संस्थाहरु खालेर सहयोग गरिरहेको उनको दावी थियो । कार्यक्रममा विभिन्न जातीय संघ– संस्था लगायत गुर्खाली संस्थाहरुको उपस्थिति थियो । किरात याक्थुङ चुम्लुङका बरिस्ठ सल्लाहकार तथा आदिवासी महासंघ युके का बरिस्ठ उपाध्यक्ष श्री लिम्बुले आदिवासीहरु धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक , राजनैतिक क्षेत्रमा उत्पीडनमा परेकोले आफ्नो अस्तित्व बचाउन पनि  एकजुट भई लड्नुपर्ने धारणा राखे । बुद्धिष्ट सोसाइटिका काजी शेर्पाले नेपालमा बौद्ध धर्मावलम्बीहरुको बहुमत भएतापनि हिन्दु धर्ममा आधारित सत्ता संचालन गरिरहेकोले समस्या उत्पन्न भएको बताए ।


कार्यक्रममा तमू धि यूकेका अध्यक्ष मुछेत्र गुरुङ, हल्मो समाज यूकेका अध्यक्ष सानु लामा, शेर्पा किदुक यूकेका बरिष्ठ सल्लाहकार आङ्केल्जुङ लामा, सुनुवार समाज यूकेका कोषाध्यक्ष पूर्ण सुनुवार, थकाली समाज यूकेका सल्लाहकार रेशम शेरचन, मगरसंघ यूकेका कोषाध्यक्ष दलमान पुन, व्रिटिश काउन्सिल अफ गुर्खाजका अध्यक्ष डेविड ओवेन, मद्दत समूह यूकेका अध्यक्ष क्या. हरि बहादुर थापा, यूविजीए यूकेका अध्यक्ष ज्ञानबहादुर राई, खम्मा तिम्म यूकेका अध्यक्ष तेजबहादुर राई, बुद्धिष्ट सोसायटि यूकेका काजी शेर्पा, यूविजी येनका अध्यक्ष प्रेम राई उपस्थित थिए । सहभागीहरुले आदिवासी जनजातिका अधिकार सुनिश्चित राख्न दवावमूलक कार्यक्रम बढाउनुपर्ने राय ब्यक्त गरिएकोथियो ।


कार्यक्रम सुश्री पुष्पा सुनुवारले संचालन गरेकी थिइन । महासंघका भीम राईले कार्यक्रममाथि प्रकाश पारेकाथिए । स्वागत उपाध्यक्ष श्रीमती गंगा राईले गरेकि थिइन् । महासंघका अध्यक्ष थर्क राना मगर र प्रमुख अतिथिले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेकाथिए । मन्तब्यको क्रमका रानाले आदिवासीहरुको आफ्नै भूमी प्रदेश, संस्कृति, रहनसहन, भेषभुषा आदि पूर्खा देखि हस्तान्तरण हुँदै आएको र नेपाली भूमीमा प्रथम चोटी मानव सभयता बसाएकोले उनीहरुलाई आदिवासी भनिएको जानकारी दिए । आदिवासी हिन्दु धर्मको वर्णश्राम ब्यवस्था अन्र्तगत नपर्ने पनि बताए । आदिवासीलाई राज्यसत्ताले विभेद गरेको उल्लेख गर्दे बेलायतमा रहेका सम्पूर्ण आदिवासीको तर्फबाट नेपाल सरकार समक्ष केहि मागपत्र राखिएकाथिए । जुन यस्तो छ, ‘आदिवासीलाई विना भेदभाव प्रथम दर्जाको नागरिक सरह ब्यवहार गरियोस् । दोहोरो नागरिकताको ब्यवस्था तुरुन्तै गरियोस् । गुर्खा र तिनका परिवारलाई बेलायत र नेपालमा विना रोकटोक आवतजावतको ब्यवस्था गरियोस् । नयाँ बन्ने संविधानमा आदिवासीहरुको अधिकार सुनिश्चित गराउन हरेक निकायमा जातीय समानुपातिक प्रतिनीधित्वको ब्यवस्था होस् ।


कार्यक्रममा कतिपय आदिवासी जनजाति संस्थाहरु कै उपस्थिति थिएन । शतप्रतिशत आदिवासी रहेतापनि त्यो अनुरुपको सहभागिता नहुनुले दिवसको मर्म नबुझेको भान हुन्थ्यो । आदिवासी दिवस मनाउन थालिएको ६ दशक पुगिसक्दापनि एकजुट भई अधिकार प्राप्ति गर्न लाग्नुको साटो उपेक्षा देखाउनु आश्चर्यजनक ब्यवहार रहेको सहभागीहरुबाट गुनासो सुनिन्थ्यो । कार्यक्रमको दोश्रो चरणमा प्रमुख अतिथि र उनका धर्मपत्नीलाई  चिनो स्वरुप नेपालको नक्शाअंकित तस्वीर दिइएकोथियो । विविध साँस्कृतिक कार्यक्रम सहित खानपानको ब्यवस्था गरिएकोथियो । कार्यक्रमको ब्यवस्थापन कोषाध्यक्ष होम सुनुवारले गरेकाथिए ।

चजिन्द्र राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %