राज्यसत्ता इन्भिेष्टिगेटिभ ब्यूरो
बुढापाका भन्थे – भुक्ने कुकुरले तोक्दैन । कड्किने बादल बर्सिदैन । नभन्दै त्यस्तै भो । फेरि यसचोटी बादल कड्केर पानी पर्न सकेन । सत्तारुढ तथा सबभन्दा ठूलो दल एनेकपा माओवादीका महासचिव रामबहादुर थापा बादललाई त्यहाँ भित्रका जनजाति सभासदहरुले प्रधानमन्त्रीका लागि सिफारिस गरेपनि त्यो कड्केको बादल आकाशमै हरायो । मोहन बैद्य (उनी पोखरेल हुन् । कोहि नेवार भनेर भुक्किन्छन् । उनका बुवा जडीबुटीका बैद्य भएकोले त्यो उपमा राखिएको हो । प्यूठानका उनी पनि मोहन विक्रम जस्तै जमिन्दार कामरेड हुन् ) कित्ताका झक्की सभासद तथा पूर्वमन्त्री गोपाल किराती खम्बु ‘राई’ ( उनी मगर नेताका फैन हुन् । २०४८ सालतीर खपागींको खुट्टा ढोग भनेपनि ढोग्छ भनेर भनिन्थ्यो । तिनकै चेला राई अहिले बादलका कट्टर हनुमान ) को नेतृत्वमा गएका जनजाति सभासदहरुले थापालाई राज्यको तालाचावी दिन प्रचण्ड सामु जीहुजूरी गरेकाथिए । बरियताक्रममा कुनै बेला दोश्रो नंबरमा रहेका मोस्ट वान्टेड नेता थापा अहिले पाँचौ नंबरमा थन्किएकाछन् । त्यसो त तिनका आसेपासेहरु ५ नंबरमा भएर के भो त उनी महासचिव त हुन् नी भन्छन् । तर केहि गर्ने नपर्ने त्यो महासचिव पदले उनकै दिमाग चपाइराकोछ । कम्युनिष्ट पार्टीमा महासचिव भनेपछि सर्वशक्तिसम्पन्न हुन्छ तर माओवादीको महासचिवको पछाडि थापा थर झुण्डिएर हो कि अरु पदहरुको अगाडि निरिह छ ।
कुनै बेला नाम सुन्नासाथ कम्पायमान हुने छवि बनाएका थापा दलभित्र चुपचाप बस्ने र आफ्ना बचपनका यार पुष्पकमल दाहाल प्रचण्ड ( छविलाल दाहाल ) को जीहजुरी गर्ने नेताको रुपमा चिनिन्छन् । प्रचण्ड र बाबुराम भट्टराईबीच सरकारमा जान हानथाप भैरहेको बेला पानी बर्साउन बादलको महसुस गरिएकोले होला कस्को डिजाइनमा हो किरातीले गएर प्रधानमन्त्री बनाउन गुजारिस ठोकि हाले । र, संयोग कस्तो थियो भने यसपटक बादल पनि गर्जन खोजेकोथियो । बाबुरामसंग कहिल्यै नमिल्ने बैद्य यतिबेला उनीसंगै टाँस्सिएकाछन । प्रचण्डले काखी च्याप्ने अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश पनि भट्टराईसंगै हातेमालो गरिरहेकाछन् । बाँकी थिए महासचिव थापा । उनी पनि भट्टराईकै पल्डा भारी गराउन प्रचण्डको छहारीबाट फुत्किएर उतै लागेकाछन् । संगठनमा राम्रो पकड भएको थापा जता लाग्छन् त्यसैको पल्डा भारी हुने मानिन्छ । यतिन्जेलसम्म उनी प्रचण्डले जति दुत्कारेपनि, जति किक खाएपनि बचपनका यार प्रचण्डकै साथ थिए ।
लौ दुईटा बाहुन लडिरहेको मौका छोपी मगरको छोराले यसपटक राज्यप्रमुख पड्काउने भयो भन्दै साउती गर्नेहरु खुब थिए । तर तिनले के बुझेका थिएनन् भने प्रचण्ड जस्ता ध्रुर्त राजनीतिक खेलाडीले उनलाई कुनै हालतमा त्यहाँ पुग्न दिने छैनन् । बाबुरामको किट्टाले पनि त्यहाँ पुग्न टेको लगाइदिने कुरै थिएन । मुखले दिने कुरा पो एउटा । ब्यवहारले ठोक्ने कुरा त अर्के हुन्छ । जनजाति प्रधानमन्त्री अहिलेको परिवेशमा मिठो सपना मानिएको बेला झन के कुरा । थापालाई सधैं भकुण्डो जस्तो खेलाइने गरेको इतिहास नबुझ्नेले त्यस्तो सपनाको मजा लिएका मात्र हुन् ।
यसअघि उनलाई प्रधानमन्त्री बनाउन बाबुराम भट्टराईले नाम प्रस्ताव गरेकाहुन् । गत साल माओवादीको गोरखामा हुने भनिएको राष्ट्रिय भेलाअघि भट्टराई, बैद्य र प्रचण्डबीच द्धन्द्ध बढ्दा बाबुरामलाई प्रधानमन्त्री हुन दिएनन्, प्रचण्डले । त्यतिबेला भट्टराईको मुखमै आइसकेको प्रधानमन्त्री सीट फुस्किएको रन्कोमा उनले लौ त मलाई नदिने हो भने कामरेड बादललाई बनाम न त प्रधानमन्त्री, वहाँ जनजाति समूदायको पनि हो । पार्टीलाई फाईदै हुन्छ भनि मुख फोरेकाथिए । हुन त उनले झोंकमा भनेकाथिए तर कामरेड बादलको कानमा यी शब्द घुस्नासाथ उनी आश्चर्यचकित परेकाथिए । हैन सपनामा हुँ क्या हो भनि आँखा र कान मिची फेरि सुन्दा कुरा त आफ्नै गरेको सुन्दा उनी गमक्क सुन्निएर बसेकाथिए भनेर बैठकमा बस्ने एउटा सुलसुलेले सुटुक्क ब्यूरोको कान फुकेकोथियो ।
सधैं नंबर दुईका लागि मारामार चल्ने आफ्ना प्रतिद्धन्द्धिले आफुलाई प्रधानमन्त्रीको अफर राख्दिएपछि कसको कान बज्दैन र कामरेड बादलको पनि बज्यो । आफु संगसंगै करेसाबारीको धुलामा हुर्केका सखा छविलालले कहिल्यै आफ्नो लागि सोंचेन । सधैं आफ्नो बारेमा उटपटांग उटपटांग बोल्दै हिंड्यो भन्दै गमेर उनी प्रधानमन्त्री होइन्छ क्या हो भनि तीन चीत परेकाथिए रे । एकजना विदेशी पत्रकारको सामु आफ्नो हुर्मत झार्न बालसखा छविलालले ओकलेको शब्द उनले त्यतिबला पक्कै सम्झिए होलान् । छविलालले ‘म त सांच्चिकै सर्वहारा हुँ । गरिब किसानको छोरा हुँ तर बादल कामरेड हुनेखाने लाहुरे ‘सामंत’ परिवारको हुनुहुन्छ’ भनेर प्याच्च मुखैमा भन्दिएकाथिए । बिचरा बुढाले आर्मीमा अर्काको गोडा मोलेर र स्यालुट ठोकेर कमाएको एकतले घर पनि आफ्ना मित्रले देखिनसहेका रहेछन् भन्ने रहस्य उनले ५० बर्ष संगसंगै बिताएका मित्रबाट कहिल्यै भेऊ पाउन सकेका थिएनन् । त्यसदिन त्यो रहस्यबाट पर्दा उठेकोथियो । उनी सपनामा भीरबाट खसेको मनु जस्तै भए होलान् भनि कल्पना गर्न सकिन्छ ।
लौ आउनोस् तपाईं हामी पनि कल्पना गरौं न त त्यसपछि उनको गिदीमा के के कुराहरु चलचित्र जस्तै फन्फन्ती घुम्न थाले होलान् । बचपनमा बाले पठाएको कपडा आफुले नलगाएर मितज्यूलाई दिएन कि १ मिठामिठा खानेकुरा सुदामाले कृष्णलाई लग्दिए जस्तो पेटमा लुकाएर पारि डाँडामा लगी दिएन कि १ छविलालले भनेर आमाको पटुकीबाट फुत्काएको नोटका बिटा सुटुक्क हातमा हालेर मुस्कुराएन कि १ के गरेन र छविलालका लागि मैले ? बालसखाको एक बचनमै रुसको पढाई बीचमै छाडेर स्वदेश फर्किए । त्यो भन्दा ठूलो बलिदानी के हुन्थ्यो र ?
मैले बालसखाको कहिल्यै कुभलो गरेन । तर छविलालले जनता र क्रान्तिको मन्त्र फुकेर रुसबाट पढाई छाडेर आउन भनेको त मेरो इष्र्या गरेर पो रहेछ । मैले आएर के गरेन । साथीका लागि प्यूठानका राजनीतिक गुरुद्धय मोहनविक्रम सींह र मोहन बैद्यलाई थाङ्नामा सुताउनेगरि भएको खड्यन्त्रमा साथ दिए । छविलाललाई राजनीतिको कखरा सिकाउने भेटेरान कम्युनिष्ट नेता (गुरु ) रुपलाल विश्वकर्माको रुपै विगार्नेगरि पखेटा उडाइदिदा पनि आफुले साथ दिएकै हो । जनयुद्ध गर्ने भन्दै काठमाण्डु र गोर्खामा बन्दुक पड्काउदा झन्डै सबै एउटै चिहान नभएको । नेताहरु पक्राउमा परे । यसरी नहुँदो रहेछ भन्र्दै लाटासोझा मगरकै दिमाग भुट्नुपर्छ भन्दा म नै अगाडि सरेर क्रान्तिका लागि यो महान कार्य मगर्छु भनेकै हुँ । रोल्पा जस्तो अनकन्टार ठाँउमा गएर सोझा मगरहरुको दिमाग भुटेर जनयुद्धलाई यहाँसम्म पुर्याएकै हुँ ।
तर त्यसको बदलामा छविले के दियो ? म जस्तो सोझोलाई मेरो गाथ ताक्यो भन्दै कार्वाही गर्यो । मैले उसको गाथ किन ताक्थे र ? बेफँ्वाकमा नयनकला ( बादलको बुढी) संग टाढिएर जंगल जगंल भौतारिइरहेको बखत हिमानी ( पम्फा भुसाल ) संग यसो देहको आगो निभाएको मात्र के थिए । बजियाले त्यहि बहानामा कार्वाही गर्यो । दुनियाँको सामु निबस्त्र बनाएर मुस्कुरायो । तैपनी म केहि बोलिन । जसरी सुदामाको एक मुठी कनिका कृष्णले सबै उडाइदिंदा पनि उनी हासेरै बसेकाथिए त्यसैगरि मैले पनि हासेरै टारे । क्रान्तिमा यो सब हुन्छ भनि मन बुझाए ।
बाबुरामले उनको गद्दी ताक्दा मैले बचाईदिन छाती खोलेर उभिए । क्रान्ति समाजवादी ब्यवस्था भन्दै जनतालाई गद्दारी गरे । जातीय मुक्तिका नाम बेचेर मगर र जनजातिलाई दिग्भ्रमित पारे । उसैलाई प्रधानमन्त्री बनाउन यत्रो गरें । तर फेरि पनि छवेलाई लाको बानी जाने होइन । रक्षामन्त्री बनेर यसो देश सेवा गर्छु हिजोंका लडेकाहरुसंग सम्बन्ध सुधार्छु भनेर के लागेथें रातारात कटवालको फुली खोस्न लगाएर फेरि चुर्लुम्मै पानीमा डुबायो । अलि अलि बचेको मेरो नामको ऐसी कि तेसी गर्दियो । अब त भएन है गाँठे यल्ले यो गोजेङ्ग्रो मगरलाई बाँकी राखेन । माथि सींढी उक्लने बेला भैसक्यो तर पातालमा पुर्याउन अनेकन खेती गर्छ ? लौ त नी भनेर अहिले गोरखाका अर्का भट्टराई बाजे कहाँ आका छु । मगरलाई बाजे नभई गर्जाे टर्देन । हैन गर्छन पनि । यीनले पोहोर साल कम्तिमा प्रधानमन्त्रीमा मेरो नाम त लिए । अहिले फेरि नाम आकोछ, के थाहा पड्काउन पाइन्छ कि ?
तर बिचरा कामरेड दाज्यूको सपना यसपालि पनि पूरा नहुने भो । त्यसो त भएपनि उनले गर्न त केहि सक्ने होइन । रक्षामन्त्री दिएर उनकै मानमर्दन गर्ने प्रचण्ड कामरेडले उनलाई प्रधानमन्त्रीमा सफल बनाएर जनजातिले गर्दाे रहेछ भन्ने जस त दिने कुरै थिएन । असफल बनाईदिई हाल्छन् । त्यतिबेला सबै मिलिहाल्छन् । तर हिरो दाज्यू कम्तिमा प्रधानमन्त्रीमा नाम मात्र आइदिंदा पनि देश र जनताको नाममा गमक्क पर्न त पा छन् नी । जनजातिलाई यो भन्दा अरु के चाहिन्छ र । पदको नामले मात्र यसरी मसक्क पर्दा हाम्रा दाज्यू कस्ता राम्रा देखिएका । त्यसै हिमानी लट्ठिएकी होलान् र । दाज्यू खुशी त जगै ( जनजाति) खुशी । त्यसै भै गो नी हाम्रो मुक्ति । किन चाहियो र सत्ता पत्ता ।
तर अझै पनि खुल्दुली लाग्न भने छाडेन – हैन प्रचण्ड कामरेडले यतिविध्न प्रचण्ड तरिकाले मिलाई मिलाई दिंदापनि आईया नगर्ने हाम्रा दाज्यू के खाएर यस्ता बलिया भा होलान ? तपाईसंग छ कि यसको अचुक जवाफ लौन हउ पठाम । नचाहिदा कुरा खेलिराख्ने मेरो गोबर गिदी हलुको हुन्थ्यो कि ।