राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो, १० जुलाई
लामो जातीय द्धन्द्धले भोकमरी, अभाव र अशान्तको प्रयाय बनिसकेको दक्षिणअफ्रिकाको एउटा राष्ट्र सुडान पुनः विभाजित भएकोछ । ९ जुलाई देखि औपचारिक रुपमा ‘जस्टिस, लिवर्टी, प्रोसपरिटी’ स्लोगन सहित गणतान्त्रिक दक्षिण सुडानको घोषणा गरिएकोछ । दुई दुई पटक जातीय, धार्मिक कारण गृहयुद्धको चपेटामा परेको प्राकृतिक रुपले सम्पन्न यो देशले करिब २० लाख मान्छेको विभत्स मृत शरिरलाई चिहानभित्र समाहित गरिसकेकोछ । विविध जातजाति र धार्मिक समूदाय बसोबास गर्ने यो बहुसाँस्कृतिक देश हो ।
कुनैबेला बेलायती साम्राज्यको अधिनस्थ रहेको सुडान त्यसबाट मुक्त भएपछि आन्तरिक विविधता (जातीय, धार्मिक ) अन्र्तविरोधमा जेलिदैं गएकोथियो । बेलायती साम्राज्यकालमा पनि दुई क्षेत्रमा बाँडिएको सुडानमा दक्षिणलाई भन्दा उत्तरी क्षेत्रलाई बढी महत्व दिइएको भनि असन्तुष्टि थियो । सन १९५५ देखि १९७२ सम्म चलेको प्रथम गृहयुद्ध जसको राम्ररी समापन १९८० मा भएकोथियो, त्यसको जड पनि दक्षिण सुडान नै थियो । स्थानीयबासीले पवित्र मान्ने नुवा पहाड र नाइल नदिबाट यसको उठान भएकोथियो । तर यो सहमति धेरै टिकेन । सन १९८३ बाट पुनः शुरु भयो झन खतरनाक गृहयुद्ध । त्यो दक्षिणबाटै प्रारम्भ भयो । यो भयावह मारकाटबाट विस्थापित हुने दक्षिणी सुडानीहरुको संख्या ४० लाख थियो ।
स्वतन्त्रताको उत्सव मनाउदैं
दोश्रो विश्वयुद्धपछि सबैभन्दा बढी मान्छे मारिएको यस गृहयुद्धलाई रक्तरन्जित कालखण्डको रुपमा परिभाषित गरिन्छ । सन २००५ मा शान्ति सहमति भएपछि मात्र यसको अन्त्य भएकोथियो ।
कान्छो राष्ट्र
केन्द्रिय सरकारले दक्षिणका अल्पसंख्यक जातीय समूदायमाथि विभेद गरेको भन्दै यस्तो संघर्ष थालनी भएकोथियो जसले भयानक गृहयुद्धको रुप लियो । केहि जातीय (अरब भर्सेज अफ्रिकन) केहि धार्मिक (मुस्लिम भर्सेज क्रिश्चियन र प्राकृतिक) खालको यस्तो डरलाग्दो द्धन्द्धका कारण युद्धको जड पत्ता लगाउन धेरै अध्येताहरुलाई अप्ठ्यारो परेको बताइन्छ । विविध जातजाति र धार्मिक समूदाय बसोबास गर्ने ठाँउमा हुने जातीय हिंसाले कत्रो क्षति पुर्याँउदो रहेछ भन्ने सुडान ज्वलन्त उदाहरण हो ।
दोश्रो गृहयुद्धको थालनी गर्ने Sudan People’s Liberation Movement (SPLM) को सेना Sudan People’s Liberation Army (SPLA) ले सन १९८३– २००५ सम्म गरेको सशस्त्र संघर्षकै कारण आजको दक्षिण सुडान बनेको हो । तर यसको अर्थ यो होइन यो चुप्प थियो । त्यसपछि पनि सशस्त्र संघर्ष चलि नै रहेकोथियो । तर त्यसका रणनीति फेरिएकाथिए । यो दलका अध्यक्ष तथा सेनाका जर्नेल तथा कमाण्डर इन चीफ Salva Kiir Mayardit नयाँ बनेको राष्ट्रको पनि प्रमुख बनेकाछन् । उनी सन २००७ मा सुडान सरकारको उपप्रमुख समेत रहिसकेका नेता हुन् ।
नयाँ संविधान देखाउदै नयाँ प्रमुख
अहिले बनेको दक्षिण सुडानको ३१ जनाको मन्त्रिमण्डलमा हिंजो लडेका सेनाहरुकै बाहुल्यता रहेकोछ । १० प्रान्तमा विभाजित (२,५०५,८१३ स्क्वायर फिट ) क्षेत्रफल ओगटेको प्राकृतिक छटाले सम्पन्न यो राज्यलाई ‘अफ्रिकाको मुटु’ पनि भनिन्छ । बिशेषगरि नाईलनदिमा पाईने खनिजबाट यसको सम्पन्नता उकालो लाग्न सक्ने प्रचुर संभावना छ । यसैका लागि पनि यति लामो संघर्ष र लाखौंले वलिदानी दिएको बताईन्छ । तर यसले भोलि भोग्नुपर्ने चुनौती के छ भने यसका सिमानामा उ आफु जस्तै धेरै जसो द्धन्द्धले आक्रान्त राज्यहरु नै हुन् । उसको सिमानामा इथोपिया, केन्या, युगाण्डा , कंगो र केन्द्रिय अफ्रिकाको पश्चिमी भाग पर्छ । उत्तरतर्फ मुश्लिम बहुल र दक्षिणतर्फ क्रिश्चियनहरुको पकड छ ।
जातीय र धार्मिक विवाद चर्किरहने अफ्रिकी मुलुकमा यो नयाँ राष्ट्र बनेपनि द्धन्द्ध घट्ने संभावना कम छ । यसचोटी यो राष्ट्रलाई स्वतन्त्र गर्न एकातर्फ अमेरिका जस्तो देश लागेकोथियो भने अर्काेतर्फ छुट्टिन नदिन मुस्लिम ब्रदरहुडहरुको बल त्यत्तिकै थियो भनिन्छ । भोलि पनि यस्तो कमजोर देशमा शक्तिशाली देशहरुको स्वार्थ बाझिने र उनीहरुले जातीय र धार्मिक भावना भड्काएर आफ्नो स्वार्थको रोटी सेक्ने पक्का छ । अब दक्षिणी सुडानमा हिंजो सहयोग गर्ने राष्ट्रहरुले त्यहाँको प्राकृतिक श्रोतमा आँखा लगाउने निश्चित जस्तैछ । जसरी अरबमा तेलको खानीमा आँखा लगाँउदा यत्रो युद्ध चलिरहेकोछ त्यसरी नै त्यहाँ सबैको स्वार्थ टकराएपछि फेरि अर्काे गृहयुद्ध नहोला भन्न सकिदैन । किनकी अहिलेपनि अफ्रिका कुनै न कुनै रुपमा जलि नै रहेकैछ । हेर्नुछ, राजधानी जुबाबाट संचालित हुने विश्वको सबैभन्दा कान्छो यो राष्ट्रले पुनः द्धन्द्धको नियती भोग्छ कि सम्पन्नतातर्फ लम्कन्छ ।
Sudan People’s Liberation Army (SPLA) – यिनले नै गराए स्वतन्त्र देश
नेपालले सिक्ने के त ?
यो राष्ट्र विखण्डन र हाम्रो देश नेपालको जातीय संघर्षबीच पनि समानता देखिन्छ । तर हामीकहाँ शान्तिपूर्ण रुपमा मागहरु राखिदैछ भने सुडानमा त्यो हतियारको बलमा भयो । हामीकहाँ विश्वकै सबैभन्दा बढी विविधता छ । नेपाल बेलायतको उपनिवेश बनेन तर इष्ट इण्डिया कम्पनीको अप्रत्यक्ष शासन हामीले भोगेकै हो जसलाई स्वतन्त्र र गणतान्त्रिक भारतले निरन्तरता दिइरहेकोछ । हामीकहाँ बेलाबखत सशस्त्र संघर्ष भैरहेकाछन् । तर ती सबै धनी बन्न भन्दै गराइएकाछन् । एउटा निश्चित जाति जसको हातमा सधैं सत्ताको लगाम छ, उसले जातीय विद्रोह नहोस् भनेर जातीय समूदायहरुलाई आफ्नो मुद्दाबाट विषयान्तर गर्न यस्तो हतियारको राजनीति गर्ने गरिएकोछ । अर्थात अहिलेसम्म यसको चरित्र वर्गसंघर्षमा आधारित छ । एमाओवादीले संचालन गरेको सशस्त्र आन्दोलन पनि यसैमा आधारित हो । जातीय र क्षेत्रीय नारा त उसको तत् समूदायलाई भुलाउने रणनीति मात्र हो जुन खुलस्त पनि हुदैं गैरहेकोछ । अर्काे महत्वपूर्ण कुरा सुडानमा जातिले आफ्नै लागि हतियार उठाएकाहुन् भने नेपालमा शासक जातिको स्वार्थका लागि ।
तर यति तिकडम गर्दा पनि बढिरहेको पहिचानको राजनीतिले जातीय, क्षेत्रीय र धार्मिक संघर्ष बढाइरहेकोछ । विस्तारै जातीय आन्दोलनकारीको हातमा पनि हतियार पुग्न थालेकोछ । जातीय ध्रुबीकरण बढ्याबढ्यै छ । यस्तो हुदैं गएमा नेपाल जस्तो सुन्दर देशमा पनि सुडानमा जस्तो गृहयुद्ध हुने अध्येताहरुले नै बताइरहेकाछन् । त्यसपछि राष्ट्र टुक्रा टुक्रा हुने होकि भन्ने चिन्ता पनि बढ्न थालेकोछ । देशमा जातीय राज्य माग गर्नेहरु झन बलियो हुदैं गैरहेकोले यस्तो आशंका गरिएको हुनसक्छ ।
अवस्था यस्तो छ भने राज्यका सबै सुविधा उपभोग गरिरहेका एउटा जाति भने कानमा तेल हालेर बसिरहेकोछ । शान्तिपूर्ण आन्दोलनको भाषा नै बुझ्दैन । झन दमन र षड्यन्त्र गरेर तुहाउन खोज्छ । सत्ताको डण्डा देखाँउछ । उसको यस्तै ब्यवहारले झन ध्रुबीकरण चर्कदोछ । सुडानको पाठ हाम्रो अगाडि छ । आफ्नो जाति र धर्मका लागि २० लाख मान्छे मरेर र ४० लाख मान्छे अंगभंग र विस्थापित भइकन पनि संघर्ष नछाड्दा रहेछन् । जातीय राजनीति त भयानक पो हुँदो रहेछ । त्यसमाथि शक्तिशाली राष्ट्रहरुको हातपनि तिनको टाउकोमा पुगेपछि त्यो अझै खतरनाक हुँदोरहेछ १ उनीहरु मरते दम तक लड्दा रहेछन् । नेपालमा अहिले हामीलाई पनि भाग देऊ भनेर सहभागिता मात्र खोजिरहेकाहरुलाई जसरी षड्यन्त्र गरेर तह लगाइदैछ , भोलि ती समूदायले हतियार उठाए भने त्यो कसैको हितमा हुनेछैन । विशेषगरि सत्ताधारी जातिको लागि त झन हुनेछैन । त्यसैले सुडान प्रकरणबाट हाम्रा सत्ताधारी जातिले राम्ररी पाठ सिक्न जरुरी छ ।