दुईटा कम्युनिष्ट पार्टी मिलेर बनेको ‘क्रान्तिकारी’ सरकारले ७५ जिल्लामा सरुवा बढुवा गरेर पठाएका सिडीओहरु मध्ये ६१ जना त ‘ बाहुन’ मात्र छन् ।
– सुगन्ध स्याङ्तान
…………………………………………..
गृहमन्त्रालयले ३ असार २०६८ मा सरुवा, बढुवा, काजमा पठाएका ७५ जना रा.प. द्धितिय श्रेणीहरुको कर्मचारीहरुको नामावली अध्ययन गर्ने हो भने देशमा जातीय आन्दोलन किन उठेको को हो भनि अनुमान लगाउन सकिन्छ । सरुवा बढुवा हुनेहरुको जातीय विश्लेषण गर्ने हो भने अवस्था दर्दनाक छ । ७५ जनामा एक जना लिम्बु ( सिडीओ म्याग्दी), एक मुसलमान ( सहायक प्रजिअ दैलेख), एक जना चौधरी ( सिडीओ सिरहा ) बाहेक जनजाति र मधेसी कुनै छैनन् । दलितबाट त बिउ पनि छैन । त्यसैगरि महिलाको उपस्थिति पनि ओखति गर्न समेत पाईंदैन । हिंजोको सत्तामा राम्रो प्रतिनीधित्व हुने टाठाबाठा जाति मानिने नेवार एक जना मात्र छन् । त्यसैगरि पंचायतकालभरी शासन गर्ने जाति ठकुरी पनि एउटा मात्र छन् । अरु त अरु क्षेत्री पनि जम्मा ९ जना मात्र देखिन्छन् । अरु सबै उपाध्याय, आचार्य, घिमिरे, पाण्डेहरुको रजाई देखिन्छ ।
यसको अर्थ के हो भने देशको केन्द्रिय सत्तामा मात्र हैन स्थानीय सत्तामा पनि यहि एउटा जातिको हालीमुहाली छ । गणतन्त्र आयो तर कुन जातिलाई आयो भन्ने कुरा यो तथ्याँकले छर्लङ बताउँछ ।
यतिविध्न एक जातीय वर्चश्व छ तर कुनै दलको नेताको टाउको दुख्दैन । उल्टै जनजातिहरुले देश टुक्रयाउन थाले । मधेसीले अराष्ट्रिय भावना फैलाउन थाले । दलितले सामाजिक सदभाव विगार्न थाले भन्दै डर देखाइन थालिएकोछ । होइन, सबै ठाँउमा गजम्म परेर बस्ने आफु अनि हामलाई पनि देउ हौ भनेर अनुरोध गर्दा पनि देशमा जातीय मारकाट हुने, विखण्डन हुन्छ कहि ? आफुले खाइपोइ आएको भाग नखोसियोस् भनेर यति सारो कुटिल राजनीति गर्नुपर्ने सत्ताधारी जातिहरु कति कम्पायमान रहेछन् भन्ने पनि देखिन्छ । छेपारोले घोचा समाएर बसेसरह बस्न चाहेका सत्ताधारी जातिहरुले नै बरु जातीय द्धन्द्ध र विखण्डनको हावा भरिरहेकाछन् । सबैलाई बाँडेर नखाने बाँदरको चरित्र देखाएर तिनले देशमा विद्रोहको आगो लगाउन खोजिरहेकाछन् । जनजाति आदिवासी यहाँका भूमिपुत्र हुन् । तिनका हिंजो राज्य खोसिएकाछन् । अहिलेपनि ति सत्ताको चौघेरा भन्दा धेरै टाढा छन् । विद्रोह दवाउने या सहयोग गर्ने तिनको हातमा सेना र प्रहरी छैन । सशक्तिकरण गर्ने तिनको हातमा सत्ता छैन । राजनीति गरिदिने शक्तिशाली दल छैनन् । केहि परे बोलिदिने मानवअधिकारवादी छैनन । तिनका मुद्दालाई विश्वब्यापीकरण गरिदिने र जनतालाई आन्दोलित बनाउन सक्ने संचारमाध्यम र संचारकर्मी साथमा छैनन् । मुद्दालाई अगाडि सारेर बौद्धिक युद्ध गर्ने कलमबाज र दिमागबाजहरु छैनन् । यस्तो कुनै अस्त्र र शस्त्र नभएका भूमिपुत्रहरुले कसरी गर्नसक्छन् देश विखण्डन् ? बरु यो सबै सस्त्रले सुसज्जित सत्ताधारी जाति नै महाशक्तिशाली छ । जे गर्छ त्यसैले गर्छ ।
अहिले पनि देशमा अधिकारको आन्दोलन चल्दा ल है यिनले देश टुक्रयाउन लागे भनेर प्रचार गर्ने संचारमाध्यम र कलम कुन जातिको हातमा छ ? आफ्नो कुलपुजा गर्न गाईको मासु चढाउने जातिलाई धमाधम समात्दै ल है धर्मकर्म नास्यो भन्दै चिसो खोरमा थुत्ने पुलिस कुन जातिको नियन्त्रणमा छ ? सत्ताले यस्तो गर्दा मानवअधिकार हनन भयो भनेर नबोलिदिने मानवअधिकारकर्मीहरुको जमात कुन जातिका छन् ? संघीयतामा जाँदा सबै जाति बलिया हुन्छन् र आफ्नो सत्ता डग्मगाउँछ भन्दै संविधान नै नलेख्न तिगडम गर्ने दलहरुका नेतृत्व कुन जातिको कमान्डमा छ ? जातीय संघीयताले हरिविजोग पार्छ , देश टुक्राटुक्रा हुन्छ भन्दै रातदिन चिच्याउने संचारमाध्यम र त्यो हल्ला गर्ने सामग्री तयार पार्ने पत्रकार कुन जातिको नियन्त्रणमा छन् ? यी सब कुराको मिहिन अध्ययन गर्ने हो भने नेपाली सत्ताको रस चुसेर ढाडिएका निश्चित जातिको मुहार उदाँगो हुन्छ । ति खर्लप्पै नागिंन्छन् । तिनको सर्वांग नागोंपना चिच्याइरहेकोछ तर ति अरुलाई तँ नागों भन्दै खिसिट्यूरी गरिरहेकाछन् ।
माथि उल्लेख गरिएका केन्द्रबाट अख्तियारी बोकी देशका ७५ जिल्लामा गई शासन गर्ने सिडीयो त्यहाँका ‘राजा’ हुन् । यिनकै हातमा हुन्छ स्थानीय सत्ताको चाबी । डाडु पन्यू बोक्ने यिनले नै लेख्छन् हाम्रा बर्तमान र भविष्य । हाम्रो भाग्य । यिनको दिमाग सन्कियो भने यिनले चलाएको कलमको निब पनि बाँगिन्छ । दिल बहादुर लिम्बु हुनुपर्नेमा दिले लिम्बु हुन जान्छ । त्यो बिगार्नेसंग लिम्बु नम्रतापूर्वक सच्याई माग्छन् । तर सिडियो साब उल्टै उनलाई हप्काउछन् । लिम्बुको छोरो गर्जन्छ । प्रहरी प्रशासनले घोर्केठ्याक लगाएर बाहिर हुत्याईदिन्छ । त्यसपछि शुरु हुन्छ दिल बहादुरको भयानक कष्टपूर्ण दिन । उसलाई आफ्नो नाम सच्याउन बर्षो लाग्छ । लाखौं खर्च हुन जान्छ । आफ्नै देशमा गैर भएर धक्कामुक्की खाँदै हिड्नुपर्छ । आफुलाई मुलबासी भनेर छाति फुलाउने लिम्बु त्यसपछि फर्केर पुनः त्यसरी सहि गर्ने कुनै रामप्रसाद उपाध्यायको पाउमा घोप्तिन्छ र आफ्नो गल्तिको लागि क्षमा माग्छ ।
यति ठूलो शक्ति हुन्छ, स्थानीय सत्ताको । देशका स्थानीय सत्ता समेत यसरी नियन्त्रणमा लिने जातिले अनि फलाक्छ, सबै दलित, जनजाति, मधेसीले विगारे । जुन जातिले सत्ताको स पनि सुँध्न पाएकोछैन त्यो जातिले कसरी विगार्छ देश ? अहिले सम्म देशमा जे भैरहेकोछ त्यसको जिम्मा एउटा जातिको हातमा रहेको सत्ता र त्यहि जातिको टाउकोमा हाल्न जरुरी छ । जसले सत्ता सम्हाल्यो त्यसैले गर्या हो, गल्ति । अरु बिचराहरु त हामीलाई पनि देऊ न भन्दै हात थापेका हुन् तर तिनलाई उल्टै दुत्कारियो । त्यसैले यो देशको विग्रिएको दशाको सम्पूर्ण दोष जुन जातिको हातमा सत्ता छ त्यसैले लिनुपर्छ । अरुलाई त्यसको भारी बोकाउने गल्ति बौद्धिक र सत्ताधारीहरुले गर्नुहुदैंन । त्यसले भोलि गलत बाटो पक्रयो र साँच्चिकै पीडित जाति एकसाथ सत्ताधारी जाति विरुद्ध ओइलिए भने त्यतिबेला ढलीमली गरेर खाइपोइ आएकाहरुलाई तिनका भगवानले पनि बचाउन सक्ने छैनन् । यो धम्की हैन विश्व इतिहासले देखाएको बाटो हो जुन कुरा हामी सबैले छिटोभन्दा छिटो बुझ्न जरुरी छ ।
सिडीओहरुको नामावली यहाँ छ ।