एमाओवादीभित्र अहिले समावेशी सरकारको कुरा उठेपछि त्यस दलका अध्यक्ष प्रचण्डले एउटा समिति बनाई त्यसका लागि तयारी गर्न लगाएकाछन् । यो साँच्चिकै हो कि त्यो हात्तीको देखाउने दाँत हो केहि सातापछि उदागिंई हाल्छ, हेरौंला । तर अहिले देखिएको साम्प्रदायिक सरकारको योजनाकार प्रचण्डले समावेशीको नाममा फेरि जनजातिको बीचमा हड्डी फालेकाछन् ।
–शक्तिकुमार पुन
त्यो हड्डि झम्टन जनजातिहरुबीच हुने लडाईले ती आफै मारामार गरेर सकिन्छन् अनि समावेशी त्यसै हराएर जानेछ भनेर दाहाल मन्त्र चलेको देखिन्छ । किनकी नेपालमा सदा यस्तै हुदैं आइरहेकोछ ।माओवादीको पूर्ण सहयोगमा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बनेको “क्रान्तिकारी सरकार” मा देखिएका ३६ जनाको मन्त्रिमण्डल पनि पूरानै सत्ताको फोटोकपी नै हो भन्न धक मान्नु हुदैंन । २०४६ सालको परिवर्तनपछि सबैभन्दा बढी मोटाएको बाहुन जातिकै यसमा ढलीमली देखिन्छ । एमाओवादीका अध्यक्ष दाहाल, एमालेका अध्यक्ष खनाल, नेपाली काग्रेंसका कोइरालाको नेतृत्वमा चलेको दल र तिनले संचालन गरेको सत्तामा यो भन्दा अर्काे अनुहार देखिने कुरा पनि थिएन । तर ठूलो परिवर्तनकामी भनिएको २०६२–६३ सालको आन्दोलनपछि यसमा कमी आउने ठानिएकोथियो । त्यसको एउटा बलियो कारण पनि थियो ।
१० बर्ष जनजातिको बलमा हतियारको राजनीति गरि उनीहरुकै लाशमाथि टेकेर सत्तामा आइपुगेको माओवादीले कम्तिमा अन्य पुराना दलले जस्तो साम्प्रदायिक नीति लाद्ने छैनन् भन्ने ठानिएकोथियो । तर केन्द्रिय समितिमा बाहुन समूदायकै वर्चश्व भएको त्यो दल झन बढी जातिवादी भएर निस्कियो । सबैभन्दा बढी जातीय समानताको कुरा गर्ने दलले झन बढी एकजातीय अनुहार देखायो । माओवादीको बहुमतको पहिलो सरकार बन्दा पनि उसले जनजातिका केहि ब्यक्तिलाई मात्र मन्त्रिमण्डलको बुटी सुँघायो । अहिले एमालेसंग मिलेर बनाएको सरकारमा पनि आफ्नै सहोदरहरुको भर्तिकेन्द्र बनाएकोछ, मन्त्रीमण्डल । एमाले जस्तो महासामंत र बाहुनवादी दलले यस्तो गर्छ , कुनै आश्चर्य भएन । तर जनजातिकै बलमा हिरो भएको क्रान्तिकारी दावी गर्ने माओवादीले पनि एमालेलाई पछार्ने गरि साम्प्रदायिक दाँत देखाउन शुरु गरिसक्यो । यो चाहिं आश्चर्यमा पार्ने खालको परिघट्ना हो । दाहालले आफ्नो रुप देखाउन शुरु गरिसके । भैंसी पुजा गर्ने, भारतबाट आएका जोगीको पाउ पर्ने उनका अचम्मका ब्यवहार थिए, जुन सबैले देखे । बाबुराम मनकामना र गोर्खा भगवतीको आरधना गर्छन । महिला कामरेडहरु स्वस्थानी वाचन गर्छन् । पहिलो कम्युनिष्ट प्रधानमन्त्रीले मनमोहन अधिकारीले कालो बोका काटेर पदभार ग्रहण गरे । झलनाथ खनाल प्रम बन्नासाथ पण्डित बोलाएर जप गराईहाल्छन् । बाहिर एउटा भित्र अर्काे काम गर्ने कामरेडहरुको चरित्र नै हुन्छ कि क्या हो ? कुनै ब्यक्तिले के धर्ममा आस्था राख्छ त्यो ठूलो हैन तर हाम्रा कामरेडहरुको कुरा किन उठाइएको हो भने तिनले जिन्दगीभर जनजाति , दलितहरुलाई के पढाएका हुन्छन् भने तिमीहरु पछाडि पारिनुका पछाडि हिन्दुधर्मको मूख्य रोल छ । तर ति आफै सत्तामा पुग्नासाथ भने तिनै हातमा दर्जन हतियार बोकेका देवी देउताको जप गर्न मरिहत्ते गर्छन् ।
प्रधानमन्त्री निर्वाचनको नौटकीं चल्दा भूमिगतकालका हिरो रामबहादुर थापा बादललाई प्रधानमन्त्री दिने कुरा नउठेका होइनन् तर भित्र भित्र आफ्नो जातिका लागि जे पनि गर्न तयार प्रमुख दलका बाहुन नेताहरु सबै एकजुट भई उनलाई सत्ताको नजिक समेत आउन दिएनन् । बरु त्यसको साटो खनाल नै ठिक ठानियो । यद्यपि त्यस दौडमा दाहाल, खनाल र पौडेलको दौड थियो । अर्थात जो आएपनि आफ्नै सहोदर नै आउथें । खनाल नआए दाहाल आँउथे दाहाल नआए पौडेल नै आँउथे । ती सबै नआए माओवादीबाट बाुराम भट्राई आँउथे । एमालेवाट केपी शर्मा ओली आँउथे र नेकाबाट शेर बहादुर देउवा नै आँउथे । यौ दौडमा खतरा योजनाकारको रुपमा प्रचारित माओवादीका न त रामबहादुर थापाले जित्न सक्छन् न एमालेका बरिष्ठ उपाध्यक्ष राईले त्यो सीट हात पार्न सक्छन् । नेकाभित्र भीमबहादुर तामाङ र केवी गुरुङ बेचिखाने भाँडो मात्र हुन् , तिनलाई पनि मरिगए प्रधानमन्त्री कहिल्यै दिइनेछैन । किनकि अहिले दलको रुपमा बाहिर जे देखिएपनि सारमा ति सबैको कमान आफ्नै नातागोताको हातमा छ । यहि अवस्थामा अगाडि बढेरहेपनि ठूला दलभित्रको त्यो चक्रब्यूह कम्तिमा पनि ५० बर्ष सम्म तोडिने कुनै गुन्जायस छैन ।
यस्तो नभएपछि समावेशीको नाराले मात्र केहि लछारपटार गर्ने वाला छैन । त्यो अहिलेको मन्त्रीमण्डल हेरे पुगिहाल्छ नी । सबै आफ्ना नातागोताको जमघट बनाएकाछन् खनाल र दाहालले अहिलेको मन्त्रीमण्डल । एउटा जनजाति महिलालाई मन्त्री दिनुपर्ने बाध्यता आइलागेपछि तिनलाई कसरी तह लगाउने भनेर सोंचिन्छ । जयपुरी घर्ती मगरमाथि त्यहि षड्यन्त्र गरियो । रोल्पामा जन्मिएकी उनी माओवादीको स्थापनाकाल देखिकै खुँखार नेतृ हुन् । शुरु देखि नै अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष हुन् । तिनलाई कहिल्यै मन्त्री दिइएन । यसपटक दिन परेको के के न नाटक गरे । माओवादीमा दाहालको प्रतिस्पर्धि भनिएका मोहन बैद्य (पोखरेल) लाई लगाएर महिलालाई ३३ प्रतिशत सीट दिनुपर्यो भनेर जयपुरी घर्ती मगरलाई मैदानमा उतारे कामरेडहरुले । त्यो नहँुदासम्म मन्त्री खादैंन भनेर आन्दोलन गर्न लगाएपछि पाखा लगाउन सजिलो हुने नै भो ।
खनालको नेतृत्वमा अहिलेको ३६ जनाको मन्त्रीमण्डलमा प्रमुख मन्त्रालय पड्काउनेहरुमा सबै बाहुन समूदायका छन् । ३ जना उपप्रधानमन्त्री पदमा एक जना बाहुन, अर्काे क्षेत्री र एकजना मधेसी राखिएकोछ । मधेसीबाट आएका पनि जनजाति र दलितबाट पर्देनन् । उनी उच्च जाति पछि अगाडि रहेको अर्थात मधेसका क्षेत्री सरह हैसियत राख्ने जाति यादवबाट आएका हुन् । रक्षामन्त्री र गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा बाहिरबाट हेर्दा दुईटा दलले लिएको देखिन्छ । तर एउटा क्षेत्री हुन् भने अर्का बाहुन । शुरुमा गृहमन्त्री बर्षमान पुन र देव गुरुङ मध्येबाट एउटालाई दिने भनेर ठूलो ढोल पिटीयो र अन्तमा महराको काखमा राखियो । जनजातिलाई दिनु भन्दा हत्याको आरोपी अग्नि सापकोटालाई संचारमन्त्री जस्तो महत्वपूर्ण पद दिइन्छ तर ठूलो जातीय समानताका भाषण दिने दाहालले जनजातिलाई कुनै भाउ दिदैनन् । आफ्ना अंगरक्षक शक्तिकुमार बस्नेतलाई मन्त्री पदमा लैजान्छन् तर १० बर्ष पूरै जनमुक्ति सेनालाई नेतृत्व दिने नन्दकिशोर पुन पासाङको भने कुनै पुछानी नै छैन । सुनिन्छ उनी काठमाण्डौको एउटा गाँउमा कुखुरा , बाख्रा पालेर बसेकाछन् रे । यदि यो साँचो हो भने उनले राजनीति किन गरेको पहिल्यै त्यहि पेशा अपनाए भै हाल्थ्यो नी । राम्रो कमाई हुन्थे । पढेलेखेकाछन् । त्यहिमाथि उनी त सरकारी स्कूलका मास्टर नै थिए त्यतिबेला । बाहुनले नेतृत्व गरेका दलहरुभित्र जनजातिको यहि हरिबिजोग देखिन्छ । यो उहिल्यैैं देखिको रोग हो । सबै दलभित्रको जनजाति नेताहरुको समान समस्या हो । तर दलका हनुमान जनजाति नेता र कार्यकर्ताहरु भने अझै पनि रामभक्त जपेर बसिरहेकाछन् । दासको जिवन बाँचिरहेकाछन् ।
रोल्पाको थवाङबाट जन्मिएको माओवादीलाई १० बर्षमा उचाईमा पुर्याउने थवाङकै सन्तोष बुढा मगर हुन् । तिनले हेडमास्टरको जागिर छाडेर माओवादीलाई सर्वश्व अर्पण गरे । भूमिगतकालमा मख्ख पार्न उनलाई त्यतिबेला गठन गरिएको मगरातको मूख्यमन्त्री पनि घोषणा गरियो । तर सरकारमा आएपछि उनलाई केहि गरिएन । कुनै काम बिनाको मगरातको मूख्यमन्त्री दिने तर सत्ता पाउने बेला चाहिं एकातिर मिल्काइदिने ? बुढा अहिले राजधानीका गल्ली गल्ली चहारिरहेकाछन् भन्ने सुन्छि । अब तिनले त्यो बाहेक अरु काम पाउलान् जस्तो छैन । माओवादीले सबभन्दा पहिले बनाएको जनसरकार रुकुमका प्रमुख पुर्ण घर्ती मगर अहिले यता न उती भएर हिंडेकाछन् । संगठनका नाममा उनलाई रुकुममै थन्काइएकोछ । अर्काे संस्थापनादेखिकै रुकुमका पहिलो नंबरका नेता सरुण बाँठा जो रुकुमका सधै पार्टी इन्जार्च बनेर काम गरे । ति बिचरालाई झन काठमाण्डौमा जाँदा प्रचण्डलाई भेट्न पनि दिइदैंन रे । अनन्तको बिजोगका त हामीले एक महिना अगाडि राम्ररी हेर्यौं । कसरी जनजाति खोसुवामा पर्छन् उनी पछिल्लो उदाहरण हुन् ।
नेपाली सेनाको पिटाईले दिमागी हालत असन्तुलित भएका भनिएका माओवादीका ठूला नेता सुरेश आले कता गए भन्दै खोज्नु परिरहेकोछ । हिंजो लडेका राइर्, लिम्बु, गुरुङ, मगर नेताहरुको यो विजोग छ तर कामरेडहरुलाई कुनै चासो छैन । यी कुनै पनि मन्त्री पदका लागि उपयुक्त छैनन् जस्तो गरिएकोछ । त्यसैले जनजातिका लागि पंचायत भन्दा केहि फरक छैनन् अहिलेका क्रान्तिकारीहरु पनि । जनजातिलाई दिनै परेपनि राज्य मन्त्री थमाइने त्यतिबेलाको चलन अझै जस्ताको तस्तैछ । राज्यमन्त्रीमा ३ जना बाहेक अरु सबै जनजाति, मधेसी र दलित छन् भने फुलमन्त्रीमा १३ सीट दिई सबैको भाग ( महिला, दलित, जनजाति, नेवार, मधेसी ) पुर्याइएकोछ । उसोभए कहिले हुने हुन् त ति प्रधानमन्त्री ? कम्यूनिस्टलाई सबैभन्दा क्रान्तिकारी भनेर प्रचार गरिन्छ तर नेपालको सन्दर्भमा यदि सबैभन्दा बढी कोहि साम्प्रदायिक छ भने त्यो यहाँका कम्यूनिष्ट दलहरु नै हुन् । तिनले आफ्नो जातिलाई माथि उकास्ने र उपेक्षित जातिलाई लात हान्ने बाहेक केहि काम गर्देनन् । नपत्याए, यो क्रान्तिकारी भनिएको मन्त्रीमण्डलको अनुहार हेर्नुस् त –
मान्छे फेरिए तर थर फेरिएन
प्रधानमन्त्री – झलनाथ खनाल ( बाहुन)
उपप्रधानमन्त्री तथा अर्थ – भरतमोहन अधिकारी ( बाहुन)
उपप्रधानमन्त्री तथा गृह – कृष्णबहादुर महरा ( क्षेत्री )
उपप्रधानमन्त्री तथा परराष्ट– उपेन्द्र यादव (मधेसी)
रक्षा – विष्णुप्रसाद पौडेल ( बाहुन)
भौतिक तथा निर्माण– टोप बहादुर रायमाझी ( बाहुन)
संचार – अग्निप्रसाद सापकोटा ( बाहुन)
स्वास्थ्य तथा जनसंख्या – शक्तिकुमार बस्नेत ( क्षेत्री )
पर्यटन – खडगबहादुर विश्वकर्मा ( दलित)
स्थानीय विकाश – उर्मिला अर्याल ( बाहुन)
शिक्षा, विज्ञान तथा प्रविधि – गंगालाल तुलाधर ( नेवार)
जलश्रोत – गोकर्ण विष्ट ( बाहुन)
बन – भानुभक्त जोशी ( बाहुन)
…….– घनश्याम भुसाल ( बाहुन)
सामान्य प्रशासन – युवराज कार्की ( क्षेत्री )
शान्ति तथा पुर्ननिर्माण– विश्वनाथ साह ( मधेसी)
महिला तथा बाल– जयपुरी घर्ती ( जनजाति)
भूमिसुधार – रामचरण चौधरी ( मधेसी जनजाति )
उद्योग – महेन्द्र पासवान ( मधेसी दलित)
कानुन तथा न्याय – प्रभु साह ( मधेसी)
युवा तथा खेलकुद– हितबहादुर तामाङ ( जनजाति )
कृषि तथा सहकारी हरिनारायण यादव ( मधेसी )
श्रम तथा यातायात– मोहम्मद इस्तिहाक (मुस्लिम)
वातावरण – सुनिलकुमार मानन्धर ( नेवार )
संघीय, संविधान र संसदीय मामिला– खगेन्द्र प्रसाद प्रसाई ( बाहुन)
राज्यमन्त्रीहरु ः
स्थानीय विकाश – शत्रुघन महतो ( मधेसी )
सिंचाई – दलबहादुर सुनार ( दलित )
जलश्रोत – रामजी शर्मा ( बाहुन)
सामान्य प्रशासन– डम्बर साम्बाहाम्फे ( जनजाति )
बन– भगवती चौधरी ( मधेसी जनजाति )
भूमीसुधार– हकिकुल्लाह खान (मुसलमान)
भौतिक तथा निर्माण – देवी खड्का ( क्षेत्री )
स्वास्थ्य र जनसंख्या – धर्मशीला चापागाई ( बाहुन)
पर्यटक तथा नागरिक – ध्रुब आङडम्बे ( जनजाति )
कृषि तथा सहकारी – नन्दकुमार दत्त ( मधेसी बाहुन)
(माओवादी द्धन्द्धकालमा नेपाली सेना र माओवादी दुबैतर्फबाट थुप्रो चोटी अपहरणमा परी यातना भोगेका पत्रकार पुन रुकुमबाट पत्रकारिता गर्छन् )