मगरको नाममा बनेका चलचित्रमा मगरपन हुनै पर्ने सम्बद्धहरुले बताएका छन् । राज्यसत्ता डटकमले काठमाडौंमा आयोजना गरेको बहसमा सहभागी चलचित्रकर्मीहरुले मगरपनको अपरिहार्यता औंल्याएका हुन । बहसमा चलचित्र सेन्सर बोर्डका पूर्व सदस्य राजेश थापा मगर, निर्देशकहरु संजोग लाफा मगर, नविन रोका मगर, मौसम पाइजा पुन मगर, विवेश बुढा मगर, चलचित्र ‘लिसरा’का नायक रोम थापा मगर, पत्रकार सन्त गाहा मगर, पूर्णबहादुर घर्ती मगर लगायतको सहभागिता रहेको थियो । मुलुकको तेस्रो ठूलो तथा आदिवासी जनजाति मध्ये सबैभन्दा ठूलो जाति मगरको सबै पक्ष समेटेर चलिचित्र बनाउनु भन्दा मगर चलचित्रमा मगरको साझा विशेषता प्रतिविम्वित हुनुपर्नेमा सहभागीहरुको मतक्यैता रहेको थियो ।
छलफलको क्रममा मगरेको केही साझापन समेत पहिचान गरिएको थियो ।
मगरका केहि साझा कुरा
क- मामा माईजुको छोरी सालीसँग विहे गर्ने चलन ।
ख- इमान्दार तथा मिहिनेती स्वभाव ।
ग- जाँड रक्सीको बढी प्रयोग ।
घ- शारीरिक बनावटमा समानता । आदि
चलचित्र बनाउनकै लागि बनाउनु भन्दा पनि व्यावसायिकतामा जोड दिनुपर्ने भएकाले निर्देशक कलाकार मात्रै होइन चलचित्रसँग जोडिने पर्दा पछाडि र अगाडिका पात्रमा व्यावसायिक दक्षता हुनुपर्ने पनि छलफलको निश्कर्ष थियो ।
प्रस्तुत छ राज्यसत्ता बहसमा सहभागीहरुको चलचित्रमा मगरपनसम्बन्धी धारणा
राजेश थापा मगर : चलचित्र सेन्सर बोर्डको सदस्य भएर दुई वर्ष काम गर्दा मैले चलचित्रको कसरी सेन्सर हुन्छ भन्ने राम्ररी बुझ्न पाएँ । सेन्सर बोर्डमा पुग्ने धेरै जसो साथीहरुले देशको भाषिक सांस्कृतिक जातीय विविधतालाई आत्मसात गरे जस्तो लागेन । मगरको संस्कृति वृहत छ । भाषामात्रै तीन वटा भएको यो जातिको बसोबास संस्कृति आदिमा विविधता हुनु स्वाभाविक हो । मगर भएको कारणले उत्पन्न हुने अनुभुति चलचित्रमा आउनुपर्दछ । त्यो नै मगरपन हो । जस्तो मैले हेरेको मगर चलचित्र आशेमा मगरसम्बन्धी घट्ना क्रम जोडिएको पाएँ । ‘सुख पर् यो भने वाहुन कहाँ जानु दुख पर् यो भने मगर कहाँ जानु’ भन्ने उखान छ । तर यस्तो कुरा मगर चलचित्रमा अझै हेर्न पाइएको छैन ।
मौलिक बनाउन सकियो भने मगर चलचित्र नचल्ने कुरै छैन । चलचित्र बनाउँदा अन्तराष्ट्रिय दर्शकलाई मध्येनजर गरेर बनाउनु पर्दछ । मगर चलिचित्रका दर्शक मगर समुदाय मात्रै हो भन्ने ठान्नु पुरै गलत हो । प्रविधि छैन बजेट कम छ भनेर बस्नु गलत हो । मायापि्रतिको कुरा देखाउनु पर्दा मगर समुदायमा कसरी माया बस्छ भन्ने कुरा देखाउन सक्नुपर्दछ । कलेजमा ठोक्किएर माया बसेको देखाउने हो भने त्यो चलचित्र मगरको भनेर हेर्न जानुपर्ने कुनै कारण हुँदैन ।
संजोग लाफा मगर : मगर चलचित्रबाट भाषा र ड्रेस निकाली दिने हो अर्कै चलचित्र जस्तो देखिन्छ भन्ने आम आरोप छ । केही हदसम्म यस्मा सत्यता छ भन्ने हामीले स्विकार्नुपर्दछ । तर त्यहि चलचित्रमा मामाकी छोरीसँग विहे गरेको दृष्य राख्दा त्यो मगर चलचित्र नै बन्छ । किनभने मामाकी छोरीसँग अन्य जातिमा विहे गर्ने चलन छैन । वाहुनले त मामाको छोरीलाई वहिनी भनेर ढोग्ने गर्छ ।
त्यस्तै रक्सी खाएपछि अन्य साथीहरुलाई पैसा तिरेर खुवाउन मन लाग्नु पनि मगर हुनुको एउटा विशेषता हुनसक्दछ । तर जे भएपनि आफ्नो ओरिजेनालिटी भने छाड्नु हुँदैन ।
लङ्घन्, लिसरा, आसे जस्ता चलचित्रमा काम गरेको अनुभवपछि मलाई लाग्यो चलचित्र क्षेत्रमा सिक्न धेरै बाँकी रहेछ । चलचित्र बनाउनका लागि बनाउने होइन रहेछ । यसमा लामो समयको लगन र निरन्तरको कडा मिहिनेत अनिवार्य रहेछ । मगर ७५ जिल्लामा फैलिएको जाति हो । उनीहरुको भिन्न भिन्न संस्कृति रहनसहन हुनु स्वभाविक हो । नेपाल मगर संघले मगर संस्कृति शेयरीङ्गमा मद्दत गर्न सक्नुपर्दछ ।
नविन रोका मगर : मैले बनाएको पहिलो चलचित्र घो नाङखार (जलेको बस्ती) ले नै चलचित्र सम्बन्धी धेरै बुझ्ने र अनुभव गर्ने अवसर दियो । पोखरामा यो चलचित्र देखाएपछि मलाई मार्टोल हान्न आए । चलचित्रमा देखाइएको मगरले गाइको मासु बोकेको दृष्य प्रति उनीहरुको कडा असहमति थियो । यसले मगर समुदाय वृहत भएको मात्रै होइन देशभरी फैलिएका मगरहरुले अर्को ठाउँको मगरको संस्कृति नबुझेको रहेछ भन्ने थाहा पाएँ । मगर संघले सबै मगरहरुको सांस्कृतिक विविधतामा सहजीकरणको भूमिका खेल्न सकेको भए धेरै राम्रो हुन्थ्यो ।
मगर चलचित्र बनाउँदा बाहिर देखिने कुरालाई मात्रै आधार बनाउँदा वास्तविकता विग्रीनसक्छ । मगरको पृथक पहिचान के हो खोजिनु पर्दछ । मगर भित्रको विविधता पनि मगरपन हो । हाम्रो घरतिर ‘दाङग्रा नखाने र भाङग्रा नलगाउने मगर हैन’ भन्ने उखान छ । बनीसकेका मगर चलचित्रको समिक्षा हुनु जरुरी छ ।
विवेश बुढा मगर : सबैभन्दा पहिला चलचित्र कसका लागि बनाइएको हो भन्ने स्पष्ट हुनुपर्दछ । चलचित्र यथार्थवादी हुनुपर्दछ । यथार्थवादी भएकाले नै साउथ इन्डियन चलचित्र लोकपि्रय भएको हो भन्ने मलाई लाग्छ । बनीसकेको मगर चलचित्रको समिक्षा भएको छैन । जसले गर्दा मगर चलचित्रमा भएका गल्ती कमजोरी बाहिर आउन सकेका छैनन् ।
चलचित्रलाई व्यावसायिक बनाउनु पर्दा पनि मगरपन हराएको हुनसक्छ । लगानी डुब्छ कि भन्ने कुराले पनि निर्मातालाई धेरै सताएको हुन्छ । यसले गर्दा पनि व्यावसायिक मसला प्रयोग भएको हुनसक्छ ।
मौसम पाइजा पुन मगर : चलचित्रमा मायापि्रतीको दृष्य देखाउँदा आफ्नोपन हुनै पर्दछ । जस्तो मगरहरुको पुर्वमा हुर्रा नाच्दा पश्चिममा झ्याउरे कान्राहा दोहोरी गाउँदा माया बस्नसक्छ । मैले आफ्नो चलचित्रमा यस्ता विषय देखाउँदा ध्यान दिने गरेको छु । यद्यपि चलचित्रमा भएको कमीकमजोरी हामीले स्विर्कानै पर्दछ । हाम्रो निर्देशन, स्क्रिटराईटिङ्ग पक्ष कमजोर हुँदा मगर चलचित्रमा पनि मगरपन नभएजस्तो देखिएको मात्रै हो । सबैले आफ्नो चलचित्रमा मगरपन देखाउन खोजेकै हुन्छ । आफ्नोपन भन्दा पनि अन्यपक्ष कमजोर भएकाले मगरपन नभएजस्तो देखिएको हो ।
रोम थापा मगर : मगर को हो भनेर परिभाषित गर्न सजिलो छैन । मगरत्व र मगरपन भनेको उस्तै कुरा हो । तर मगरपन भनेको स्थिर हुँदैन । सन्दर्भ अनुसार मगरपन फरक फरक हुन्छ । दुई चार विषयमा वाहेक मगरहरुवीच साझा कुरा पाउन गाह्रो छ ।
चलचित्र बनाउँदा मगरपन बुझ्न सम्बन्धित ठाउँमै गएर बस्नुपर्दछ । एकै पटक सुटिङ्ग युनिट बोकेर गएर मगरपनलाई चलचित्रमा उतार्न सकिदैन । मगरहरुमा भएको राम्रो अभ्यासलाई चलचित्रमा ल्याउनुपर्दछ । जस्तो मेलापातमा हुने पर्म सिस्टम । म नायक भएको चलचित्रको सुटिङ्गका लागि स्याङ्जाको आलमदेवि पुगेँ । त्यतिबेला मैले आलमदेविको मगरहरुमा भएको मगरपन के हो भन्ने बुझ्न सकेको भए पनि मेरो अभिनय अझै राम्रो हुने थियो भन्ने लाग्छ ।
अन्र्तक्रियाको भिडीयो पनि छिटै आँउदैछ । प्रतिक्षा गर्नुस् ।