रोजगारीको सिलसिलामा कतारमा पुगेका पर्वत जिल्लाको भङ्गारा-७ का विक्रम विकको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ । जेसिसी गल्फ कन्सल्ट कम्पनीमा कार्यरत २७ वर्षीय विकको गत जेठ २७ गते ज्यान गएको हो ।
मृतक विकको शव असार ५ गते नेपाल आइपुगेको छ । आर्थिक अवस्था कमजोर भएका विकका एक श्रीमती र छोरा रहेका छन् । विकको मृत्युपछि कम्पनीले कुनै विमा र अन्य सुविधा नदिएको दाजु किरण विकले जानकारी दिए । डेढ वर्ष पहिलेदेखि कतारमा कार्यरत विकले डाइभिङ काम गर्दै आएका थिए ।
उनको विमा तथा अन्य राहतका लागि सरकारले प्रभावकारी कदम चालेको छैन ।