सप्तरी, २२ जेठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले राष्ट्रिय सहमतिको पूर्ण आधार निर्माण नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् ।
सदरमुकाम राजविराजमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री यादवले राष्ट्रिय सहमतिको आधार निर्माण नहुँदै प्रधानमन्त्रीले राजीनामा दिए देशमा झन् अनिश्चय उत्पन्न हुने भएकाले नयाँ राष्ट्रिय संयुक्त सहमतिको सरकारको आधार निर्माण नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने बताए ।
दलहरूबीचको आन्तरिक कलह नै राष्ट्रिय सहमतिको बाधक रहेको बताउनुहुँदै उनले भने– ‘‘दलहरू आन्तरिक र बाह्य कलहका कारण राष्ट्रिय सहमति गर्न चाहे पनि सम्भव भइरहेको छैन ।”
संविधानसभाको म्याद थप गर्ने क्रममा तीनदलबीच भएको पाँचबुँदे सहमति कार्यान्वयन गरी दलहरू अघि बढ्नुको विकल्प नभएको बताउदै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले सो सहमति कार्यान्वयन गर्न दलहरू इमान्दार हुनुपर्ने बताए ।
विगतमा प्रधानमन्त्रीले राजीनामा दिएपछि लामो समयसम्म मुलुक कामचलाउ सरकारको भरमा चलेको उदाहरण कायम रहेको चर्चा गर्दै उहाँले पुनः विगतको जस्तो प्रवृति दोहोरिन नदिइने उल्लेख गरे ।