काठमाडौँ, २० जेठ
एकीकृत नेकपा (माओवादी) का स्थायी कमिटी सदस्य वर्षमान पुनले शान्तिप्रक्रिया र संविधान लेखनका लागि प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिन हतार नभएको बताएका छन् ।
रिपोर्टस क्लबले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा उहाँले तीन महिनाको समयमा शान्तिप्रक्रिया र संविधान लेखनको काम पूरा गर्नुपर्ने भएकाले तत्काल प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने एमाओवादी पार्टीको निर्णय नभएको स्पष्ट पारे ।
वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि सबै राजनीतिक दलहरूले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
शान्तिप्रक्रिया र संविधान लेखनका साथै राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सबै दलहरूले आधार तयार पार्नुपर्ने बताउँदै नेता पुनले एमाओवादीलाई ठूलो पार्टीको हिसाबले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न दिन अन्य दलहरू तयार रहेको उल्लेख गरे ।
नेता पुनले पाँचबँुदे सहमति शान्तिप्रक्रिया र संविधान लेखनका लागि महत्वपूर्ण भएको र त्यसको कार्यान्वयन गर्न हिजो नै विशेष समितिको बैठक बसी माओवादी नेताका सुरक्षार्थ खटिएका लडाकूहरू जुन शिविरमा दर्ता भएका हुन् उनीहरूलाई त्यही शिविरमा पठाउने र काठमाडौँमा दर्ता भएका लडाकूलाई चितवनको शक्तिखोरमा राख्न विशेष समितिले निर्णय गरेको बताए ।
जेठ १७ गतेदेखि २१ गतेसम्म शिविरमा अनुगमन गर्ने, विशेष समितिको बैठक हरेक हप्ताको तीन दिन आइतवार, मङ्गलबार र बिहीबार बस्ने भएकाले शान्तिप्रक्रिया पूरा गर्नका लागि चाँडै समय तालिका बाहिर आउने उनको भनाइ थियो ।
दोहोरो सुरक्षा प्रणालीको विषयमा पार्टीमा विवाद भइरहेको विषयमा उहाँले विवाद चाँडै टुङ्गिने र पार्टीमा फरक मतहरूको पनि सम्मान गर्नुपर्नेमा जोड दिए ।