काठमाडौँ, २० जेठ
राष्ट्रपति डा रामवरण यादवले दलहरूबीच भएको पाँचबुँदे सहमतिले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनचाहनाअनुरुप नयाँ संविधान बनाउन सहयोग पुग्ने बताएका छन् ।
उनले भने– ‘आशा र विश्वास गरौं, पाँचबुँदे सहमतिपछि अब शान्ति प्रक्रिया टुङ्गिन्छ र नयाँ संविधान बन्छ ।’
आरोग्य प्रतिष्ठानद्वारा नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण अघि परीक्षण गरिने एचएलए (हयुमन लियुकोविट एक्टिगन) को परीक्षण प्रयोगशालाको आज पुल्चोकमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले यही जेठ १४ गते संविधानसभाको समयावधि तीन महिना थप्ने क्रममा पाँचबुँदे सहमति गरेका थिए ।
राष्ट्रपति डा यादवले राजनीतिक सङ्क्रमणकाललाई छिटो भन्दा छिटो व्यवस्थापन गरी विकासलाई अगाडि बढाउन सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नेपालीसँग आह्वान पनि गरे ।