काठमाडौँ, १३ जेठ
चुरेभावर राष्ट्रिय एकता पार्टीबाट विभाजन भएको समूहको आह्वानमा भएको नेपाल बन्दका क्रममा आज राजधानीका विभिन्न स्थानमा सवारीसाधनमा तोडफोड भएका छन् ।
बन्दकर्ताहरूले विहानैदेखि राजधानीका विभिन्न स्थानमा जम्मा भएर सवारी आवागमनमा अवरोध सिर्जना गर्दै तोडफोड कार्यमा उत्रिएपछि राजधानीमा सवारीसाधनको चाप निकै कम भएको छ ।
बन्दकर्ताहरूले शान्ति र संविधानप्रति दलहरू जिम्मेवार नभएकाले निर्धारित समयमा संविधान आउन नसकेको जनाउँदै आज दिउँसो नयाँबानेश्वरस्थित संविधानसभा भवन घेराउ गरेको थियो ।
त्यस्तै सुकेधारामा बा१ज ७५४८ नम्बरको ट्याक्सीको पछाडिको भागमा आक्रमण गर्दा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान ७ः४० बजे बन्द गराउँदै हिँडेका दुईजनालाई न्यूरोडबाट नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी बन्दकर्ताले विहान ५ः०५ बजे बा१ज ६२५५ नम्बरको माइक्रोबसमा आगजनी गर्दा पूर्णरूपमा क्षति भएको छ । आगजनीमा परेका सवारीसाधनलाई दमकल र प्रहरीको सहयोगमा आगजनी नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।
सो क्षेत्रबाट प्रहरीले आगजनीमा संलग्न सङ्कास्पद दुईजनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको छ ।
त्यस्तै बन्दकर्ताले जडिबुटीस्थित पुलनजिक नेपाल यातायातको बा१ख ७३२४ नम्बरको यात्रुबाहक बसमा आज बिहान ४ः४५ बजे आगजनी गर्दा सो गाडी पूर्णरूपमा क्षति पुगेको जनाइएको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घ कान्तिपुर टेलिभिजन शाखाले घटनाको घोर भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
प्रहरीका अनुसार पुतलीसडकबाट निलो रङ्गको नम्बर छोपिएको पल्सर बाइकमा सवार तीनजनाले पिछा गर्दै औद्योगिक क्षेत्र पुगेर भ्यानमा आगजनी गर्दा पूर्णरूपमा क्षति हुन पुगेको हो ।
बन्द आह्वानकर्ताहरूले आज बिहान ५ बजे बालाजु औद्योगिक क्षेत्रमा कान्तिपुर टेलिभिजनको बा५च ९३७५ नम्बरको मारुती भ्यानमा आगजनी गर्दा सो भ्यान पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
लोकतान्त्रिक परिवेशको बन्दले सुदूर पश्चिम ठप्प
संयुक्त लोकतान्त्रिक परिवेशले आह्वान गरेको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन प्रभावित भएको छ । सेती–महाकालीलाई विभाजन हुनेगरी सङ्घीय राज्य बनाउन नहुने, राज्य सञ्चालनको नेतृत्व युवालाई दिनुपर्ने लगायतका माग राखी सो सङ्गठनले बन्द आह्वान गरेको हो ।
बन्दका कारण यहाँबाट सञ्चालन हुने लामो दूरीका यातायातका साधन सञ्चालनमा रहेका छैनन् भने बजार बन्द भएको छ । तर फाट्टफुट्ट रूपमा केही मोटरसाइकल चलिरहेका छन् । बन्दको प्रभाव शिक्षण संस्था, उद्योगधन्दामा समेत परेको छ ।