काठमाडौँ, १० जेठ
राष्ट्रपति डा रामवरण यादव र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रपति निवास, महाराजगन्जमा भेटवार्ता भएको छ ।
भेटको अवसरमा राष्ट्रपति डा यादवले मुलुकमा राष्ट्रिय सहमति होस् र सहमतिको प्रक्रिया अघि बढोस् भन्ने चिन्ता र चासो लिनुभएको अध्यक्ष दाहालले जानकारी दिए ।
करिब एकघण्टा भएको भेटमा उहाँहरुबीच वर्तमान राजनीतिक अवस्था, शान्तिप्रक्रिया र संविधानसभाको म्याद थपबारे छलफल भएको भेटपछि अध्यक्ष दाहालले बताए ।
अध्यक्ष दाहालले भने– ‘राष्ट्रपति डा यादव मुलुकमा छिट्टै सहमतिबाट केही निकास निस्कने कुरामा आशावादी रहनुभएको छ । शान्तिप्रक्रिया, संविधान निर्माणको विषयमा पछिल्लो समयमा एनेकपा (माओवादी) ले लिएको निर्णयबारे पनि राष्ट्रपति डा यादवलाई जानकारी गराएको र राजनीतिक दलहरूसँग भइरहेको छलफलको विषयमा आफूले बताएको अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष दाहालले आफ्नो पार्टीको तर्फबाट राष्ट्रिय सहमतिका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल भइरहेको र राष्ट्रिय सहमतिमा कसैको विमति नपाएको विषयमा आपूले राष्ट्रपति डा यादवलाई जानकारी गराएको बताए ।