काठमाडौँ, ९ जेठ
माओवादी सेनाका लडाकूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको आजको बैठकले सो समिति मातहत रहेको सचिवालयको जनशक्ति वृद्धि गरी छिटो शिविरमा पठाउने निर्णय गरेको छ ।प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सो बैठकले प्रत्येक शिविरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र माओवादी सेनाका लडाकू चार चार जनाका दरले १६ जना बहालवाला सुरक्षाकर्मी पठाउने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै समितिका सदस्य डा रामशरण महतले माओवादी सेनाका लडाकूको समायोजनको विषयलाई छिटो टुङ्ग्याउनुपर्छ भन्ने विषयमा छलफल भएको तथा माओवादीका शिविर घटाउने, हतियार सरकारलाई बुझाउने, शिविर अनुगमनका लागि चारवटै सुरक्षा निकायका बहालवाला कर्मचारी पठाउने विषयमा दलहरूबीच सहमति भएको बताए ।