काठमाडौँ, ८ जेठ
आफूहरूलाई आदिवासी÷जनजातिमा सूचीकृत गरिनुपर्ने माग राख्दै संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन केन्द्रीय समितिले गरेको उपत्यका बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित बनेको छ ।
राष्ट्रिय अखण्डता, जातीय सद्भाव र क्षत्रीको पहिचानका लागि राज्यले खस क्षत्रीलाई आदिवासीमा सूचीकृत नगरेको, संविधानमा खस क्षत्रीलाई आरक्षणको व्यवस्था गरिनुपर्ने र तोकिएको समयमै संविधानको स्वीकृत मस्यौदा ल्याउनुपर्ने माग राख्दै आयोजना गरिएको बन्दले जनजीवन कष्टकरसमेत भएको छ ।
बन्दकर्ताले उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् । कोटेश्वर, नयाँबानेश्वर, महाराजगन्ज, बबरमहल, चाबहिल, सातदोबाटो, कलङ्की, कालिमाटी, गोङ्गबु, बागबजार, रत्नपार्क, ताल्सिखेललगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका करिब ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
संयुक्त क्षत्री राष्ट्रिय आन्दोलन परिचालन केन्द्रीय समितिका संयोजक कुमारबहादुर थापाले बन्दमा एम्बुलेन्स, शववाहक, सञ्चारका सवारी, दमकल, विदेशी कूटनीतिक नियोगका सवारी भने निर्वाधरूपमा सञ्चालन गर्न दिइने जानकारी दिनुभयो ।
बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन, ठूला गाडी चलेका छैनन् । मुख्य सडकछेउका पसलकवल बन्द रहेका छन् भने भित्री सडकका पसलकवल, मोटरसाइकल, ट्याक्सी र केही निजी सवारीसाधन भने सञ्चालनमा रहेका छन् ।
संविधान सबैलाई चाहिएको तर त्यसका लागि बन्द आवश्यक नरहेको भन्दै पर्यटन व्यवसायी, सरकार र नागरिक समाजद्वारा बन्द नगर्न पटकपटक गरिएको आग्रहलाई बेवास्ता गर्दै बन्द आह्वान गरिएपछि पर्यटन व्यवसायीले बन्दकाविरुद्ध विरोध ¥याली निकाल्ने तयारीसमेत गरिरहेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै गोङ्गबुमा बा२ख ५४५५ नंको फोहर बोक्ने गाडी, टोखा जानेबाटोमा एउटा ट्याक्सी, महाराजगन्ज र नयाँबानेश्वरमा एक–एक मोटरसाइल प्रदर्शनकारीद्वारा तोडफोड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
बन्दका क्रममा प्रदर्शनकारीले ललितपुुरको बालकुमारीमा त्रिविवि शिक्षण अस्पतालको बा१प ३५९४ नंको स्टाफ बोक्ने सवारीसाधन तोडफोड गरेका छन् भने तोडफोडका क्रममा शिक्षण अस्पतालका कर्मचारी विक्रम गजुरेल घाइते भएका छन् ।