काठमाडौँ, वैशाख २९
सत्तारुढ तीन दलको बैठकले संविधान सभाको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ। टर्कीको भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्री कार्यालयमा बसेको सत्तारुढ तीन दल एमाले, माओवादी, फोरमको बैठकले यस्तो निर्णय गरेको हो।
तीन दलको प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरे पनि कांग्रेस, फोरम लोकतान्त्रिक, तमलोपा लगायतका प्रतिपक्षी दल भने सहभागी भएन। साना दल र स्वतन्त्र सभासदहरु भने बैठकमा सहभागी भए।
बैठकमा एमालेबाट अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल तथा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।
अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधान सभाको म्याद दुई वर्ष रहने उल्लेख थियो । गत वर्ष जेठ १४ गते मध्यरात यो धारालाई संशोधन गरी तीन वर्ष बनाइएको थियो ।
आजै अपराह्न बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सभाको म्याद थप गर्न अन्तरिम संविधान संशोधन गर्ने प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गर्ने प्रस्ताव पास गर्दैछ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत चाहिन्छ ।