रोल्पा, २३ बैशाख
विगत सशस्त्र द्वन्द्वको बेलामा वेपत्ता भएका रोल्पाका एक व्यक्ति आठ वर्षपछि घर फर्केका छन् ।
रोल्पा गजुल गाविस–१ दलंगाका ३५ वर्षीय केशव थापा क्षेत्री २०६० असार १४ गतेदेखि वेपत्ता भएका थिए । उनी ०६८ बैशाख २० गते घरमा आएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार २०६० असार १४ गतेदेखि घोराहीबाट गिरफ्तार गरिएको उल्लेख छ । उनी माओवादीको जनमुक्ति सेनामा कार्यरत् थिए । उनी वेपत्ता भएपछि घर परिवारले खोजीका आग्रह गरेका थियो ।
घरमा नफर्केपछि राहतका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । उनको बारेमा सिफारिसलाई प्रक्रियाका लागि २०६६ माघमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पठाइएकोमा अझैसम्म राहत नआइपुगेको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा बामदेव शर्माले बताए ।
वेपत्ता भएको आठ वर्षपछि घर फर्केका केशवले उतैबाट विबाह गरी २ छोराछोरीसहित आएको स्थानीय शान्ति समितिका सदस्य ऋषिराम रोकाले जानकारी दिए । विगतको द्वन्द्वको बेलामा रोल्पामा २८ जना वेपत्ता भएको इन्सेकको तथ्यांक रहेको छ भने जिल्ला प्रशासनमा ६० जना भन्दा बढीको निवेदन रहेको छ ।