वैशाख २३ गते
टेलिभिजनका तथा रेडियोका पत्रकार, प्राविधिक तथा कार्यक्रम उत्पादकहरुको अन्तरराष्ट्रिय सम्मेलन तथा तालिम चीनको राजधानी बेइजिङ्गमा सुरु भएको छ । विभिन्न दश देशका ३० जनाको सहभागिता रहेको तालिम ५६ दिनसम्म संचालन हुनेछ । जनवादी गणतन्त्र चिन सरकारको निमन्त्रणामा भएको तालिममा नेपालसहित टर्की, घाना, जोर्डन, अफ्रिका, नाइजेरीयाका प्रतिनिधीहरु सहभागी छन् । चाइना रेडियो एन्ड टिभी कर्पोरेसनले तालिम दिन लागेको हो ।
तालिममा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल, काठमाण्डौका रोहित दाहाल र हेटौडाका रामकुमार एलन सहभागी रहेका छन् । पौडेल, दाहाल र एलन क्रमश नेपाल टेलिभिजन तथा रेडियो अन्नपुर्ण, एभिन्युज टेलिभिजन र न्युज २४ सँग आवद्ध रहेका छन् ।तालिममा विश्व पत्रकारितामा भइरहेको विकास र प्रयोग भएका प्रविधीका साथै टेलिभिजन र रेडियोको डिजिटल प्रविधीका बारेमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । टोलीका सदस्यहरुलाई चिनको राष्ट्रिय टेलिभिजन सिसिटीभीको प्रसारण केन्द्रमा भ्रमण गराएर, त्यहाँ प्रयोग भएका प्रविधीहरुको जानकारी गराइने भएको छ । वेइजिङ्गमा रहने टोलीले यस क्रममा चिनका पर्यटकिय शहरहरु, ऐतिहासिक स्थलहरु तथा ब्यबसायिक क्षेत्रहरुको समेत अवलोकन गर्नेछ ।
त्रिभुवन पौडेल, वेइजिङ्ग