काठमाडौँ, १९ वैशाख
एनेकपा (माओवादी) र नेकपा (एमाले) बीच संविधानसभा संवैधानिक समितिको बैठक सुचारु गर्न र बजेट प्रस्तुत गर्ने सम्बन्धमा दलहरुबीच देखिएका मतभेद अन्त्य गर्न नेपाली काँग्रेससहितको तीन दलको बैठक आजै बस्ने सहमति भएको छ ।
एनेकपा (माओवादी) को आह्वानमा सो पार्टीको संसदीय दलको कार्यालयमा एमालेका शीर्ष नेताहरुसहितको बैठकमा शान्तिप्रक्रिया छिटो टुङ्ग्याउने, जेठ १४ गते अगावै संविधानको खाका ल्याउने, संवैधानिक समितिको बैठक सुचारु तुल्याउने र संविधानसभाको म्याद थप्ने विषयमा छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले शान्तिप्रक्रिया, संविधान लेखन, व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्ने विषयमा नेपाली काँग्रेससहितका दलहरुसँग छलफल गरी त्यसका आधारमा अघि बढ्ने सहमति भएको बताए ।
उनले आगामी जेठ १४ गतेअघि संविधान लेखनका सबै विषय समाधान गर्न सकिन्न भन्ने निष्कर्षसहित दलहरुबीच संवाद र सहमतिका आधारमा समयावधि थप्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीको भर्खरै सम्पन्न केन्द्रीय कमिटीले शान्तिप्रक्रिया र संविधान लेखनको विषयलाई तीब्र बनाउने निष्कर्षका आधारमा आज नेकपा (एमाले) सँग छलफल भएको जानकारी दिए ।
उनले व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्ने, संवैधानिक समितिको बैठकलाई सुचारु गराउने र शान्तिप्रक्रियाअन्तर्गत शिविरमा रहेका लडाकूहरुको समायोजनसम्बन्धी विषयलाई तीब्रता दिने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितका दलहरुसँग छलफल र परामर्श गर्ने सहमति भएको बताए ।