बाँके (खजुरा), १९ वैशाख
बाँके जिल्लामा मधेसवादी दलको विरोधका कारण फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य अवरुद्ध भएको छ ।
मधेसवादी दलहरुको अवरोधका कारण नेपालगन्ज नगरपालिकामा सङ्कलन कार्य असहज भएपछि क्षेत्रीय निर्वाचन कार्यालयले जिल्लाका गाविसमा सङ्कलन कार्यलाई तीव्रता दिएको थियो ।
तर मधेसवादी दलका नेता तथा कार्यकर्ताले गाविसमा गएर मतदाता नामावली सङ्कलनमा खटिएका कर्मचारीलाई धम्क्याउन थालेपछि नामावली सङ्कलन कार्य तत्कालका लागि रोकिएको क्षेत्रीय निर्वाचन कार्यलयका प्रमुख कृष्णप्रसाद खरेलले जानकारी दिए ।
निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य मधेसी जनजाति र दलित जातिको विरुद्ध भएको ठहर गर्दै संयुक्त मधेसी मोर्चाले विरोध जनाउँदै आएको छ ।
मोर्चाका अध्यक्ष हीरालाल लोनियाले आजदेखि ठाउँठाउँमा कार्यकर्ता खटाएर मतदाता नामावली सङ्कलन कार्यलाई रोकिएको चेतावनी दिए ।