काठमाडौँ, १३ वैशाख
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जेठ १४ गतेभन्दा अगाडि शान्तिप्रक्रिया टुङ्गो नलागेसम्म संविधान निर्माणको कुनै औचित्य नरहने हुदा संविधान सभाको म्याद थप गर्न नहुने निष्कर्ष निकालेको छ ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीद्वारा गठित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पत्रकार सम्मेलन गरी मधेसका मुद्दाप्रति वर्तमान सरकार गम्भीर नरहेकाले आन्दोलनको विकल्प नरहेको जनाएको छ ।
तीनै पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको सो पत्रकार सम्मेलनमा मधेसी दललाई पन्छाएर संविधान जारी भएमा त्यस्तो संविधान मान्य नहुने जानकारी गराइयो ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी राजनीतिक दल र मधेसीको अधिकारलाई लत्याएर सङ्घीयताबिनाको संविधान बनाइए त्यसको औचित्य नरहने बताए ।
उनले संविधान लेखनका क्रममा धु्रवीकरण गरिएमा संविधान दिगो नहुने र देशमा द्वन्द्व उत्पन्न हुने स्पष्ट गर्दै सरकार निर्माण भएको तीन महिना बितिसक्दा पनि पूर्णता नपाएको सरकारले ३१ दिनमा संविधान निर्माण गर्न नसक्ने बताए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले माओवादी लडाकू र हतियारको व्यवस्थापन नभएसम्म मुलुकमा दिगो शान्ति नहुने उल्लेख गरे ।
उनले मधेसी मोर्चा संविधानसभाको म्याद थप्ने पक्षमा नरहेको स्पष्ट पार्दै शान्ति र संविधान आगामी जेठ १४ गतेभित्र पूरा हुनुपर्छ भने ।
संविधानसभाको म्याद थप्दैमा मुलुकका समस्या समाधान हुँदैनन्, त्यसैले संविधानसभाको म्याद थप्नु हुँदैन, उनले भने ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको संविधान निर्माण तथा शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउने मनसाय नरहेको चर्चा गर्दै संविधानका लागि आफूहरू आन्दोलनमा जाने बताए ।
सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा राष्ट्रलाई दुर्घटनाबाट जोगाउन र जनतामा सूचना जारी गर्न देशव्यापी आमसभा गर्ने जनाइएको छ । उक्त आमसभाको मिति नतोकिए पनि विराटनगर, जनकपुर, कञ्चनपुर, नेपालगन्ज, भैरहवा र वीरगन्जमा आमसभा गरिने बताइएको छ ।
त्यस्तै विज्ञप्तिमा सङ्घीयतासम्बन्धी विषयजस्तो राज्य पुनःसंरचना र केन्द्र÷प्रदेशको शक्तिको बाँडफाँडलाई जानीजानी पछाडि धकेल्दै जानु र यसको औचित्यमाथि चारैतिरबाट निरन्तर प्रहार भइरहेको उल्लेख गरिएको छ ।