ललितपुर, १३ वैशाख
प्रधानमन्त्री झलनाथ खनालले मुलुक यतिबेला जटिल सङ्क्रमणकालमा रहेकाले शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न त्यसका संवाहक शक्तिहरूबीच एकता र सहकार्य अत्यन्त जरुरी भएको बताएका छन् ।
नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको १२ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा उनले सङ्क्रमणकालको अन्तिम चरणमा पनि प्रमुख र अन्य राजनीतिक शक्तिहरूबीच एकता र सहकार्यको प्रयत्नले सार्थकता पाउन नसकेको टिप्पणी गरे ।
अहिलेको मुख्य कार्यभार शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याएर नयाँ संविधान जारी गर्नु रहेको भन्दै प्रधानमन्त्री खनालले मुलुकको अग्रगामी रूपान्तरणका निम्ति परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्न वर्तमान सरकार अर्जुनदृष्टिका साथ कटिबद्ध रहेको दोहो¥याए ।
मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले स्वर्गीय अधिकारीले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी समिति सदस्य केपी शर्मा ओलीलगायतका नेता एवम् वाम बुद्धिजीवीहरूको सहभागिता थियो ।