भक्तपुर, ११ वैशाख
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभाको म्याद थप्ने नाममा ६०१ सभासद्लाई पालेको पाल्यै गर्ने योजनाको जनताले अब विरोध गर्नुपर्ने बताएकाछन् ।
नेकपा (एमाले) मध्यपुर थिमीले लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संविधान बनाउने नाममा अनन्तकालसम्म संविधानसभाको म्याद थपिरहन नहुने बताए ।
उनले भने – ‘अहिले एकथरि समूह एमाओवादीको चाकरी गरेर पछिपछि लाग्दै सही गरिदिनुहोस् भन्दै हिँडेको छ । अब बुझ्ने बेला भइसकेको छ, उसले केही गर्न सक्दैन ।’
यता , नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अबको ३३ दिनभित्र अहिलेको परिस्थिति कायम रहे नयाँ संविधान नबन्ने ठोकुवा गरेकाछन ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा उहाँले दलहरू संविधान लेखनमा गम्भीर नबनेकाले जेठ १४ गते संविधान नबन्ने बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दिनभित्र संविधान बनाउने घोषणा गरेका छन् तर हतियार र लडाकूको भरमा संविधान बन्न सक्दैन । – उनले भने ।
हतियारविहीन भई बहुलवादलाई स्वीकारेर लोकतन्त्रलाई साथ दिने हो भने काँग्रेस संविधान लेखनमा माओवादीसँग हातेमालो गर्नसक्ने उनले बताए ।