चितवन (रत्ननगर), ९ वैशाख
अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा भएको विवादका कारण चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत दुई महिनादेखि सेवा प्रभावित हुँदै आएको छ । अस्पतालमा नेतृत्वविहीनसँगै प्रशासनिक भवनमा दुई महिनादेखि तालाबन्दी भएपछि अन्य प्रशासनिक कामसमेत हुन पाएको छैन ।तालाबन्दीका कारण गरीब बिरामीका लागि दिइने छुट सेवा तथा निःशुल्क उपचार सेवा प्रभावित भएको छ भने अस्पतालका कर्मचारीहरुले तलबसमेत पाउन नसकेको गुनासो गरेका छन् ।
गत फागुन १५ गते अस्पताल सञ्चालक समितिले डा लक्ष्मीनारायण सिंहलाई कार्यकारी निर्देशकमा चयन गरेपछि अस्पतालमा विवाद सुरु भएको हो ।उनलाई अवैधानिक रुपमा नियुक्त गरिएको भन्दै निवर्तमान कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठ समर्थित कर्मचारीले विरोधसँगै अस्पतालमा तालाबन्दी गरेपछि अहिले क्यान्सर अस्पताल राजनीति गर्ने थलोजस्तै बनेको छ ।
अस्पतालको विषय संसदसम्म पुगिसक्दासमेत समस्या समाधान हुन नसक्नु विडम्बनाको कुरा भएको चिकित्सक अनिल कार्कीले बताए । विवादपछि वर्तमान सरकारले नियुक्त गरेको सञ्चालक समितिका अध्यक्ष रामेश्वर मान श्रेष्ठले समेत तालाबन्दीका कारण पदभार ग्रहण नै गरेका छैनन् । सञ्चालक समितिले कार्यकारी नियुक्ति गरेका डा सिंहले भने यो केन्द्रीय तहबाट मात्र समस्या समाधान गर्न सकिने बताए । उनले आफू वैधानिक बाटोबाट कार्यकारी निर्देशक बनेको समेत दावी गरेका छन् ।
यता म्याद सकिएका कार्यकारी निर्देशक भक्तमान श्रेष्ठले भने वैधानीक तवरबाट निर्देशक नआएसम्म आफूले कार्यभार नसुम्पने दाबी गर्दै आएका छन् ।यसैबीच लामो समयसम्म अस्पताल बन्द गराएर सेवा ठप्प भएपछि अस्पता कर्मचारी सङ्घले यही ११ गतेसम्ममा पनि अस्पताल सहज सुचारु नभए आन्दोलन थाल्ने चेतावनी दिएको छ । सङ्घका सचिव रमेश पाण्डेले सेवा सुचारु नगरिए १२ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।