काठमाडौं, वैशाख ९
कांग्रेस सभापति सुशील कोइरालाले रामचन्द्र पौडेललाई उपसभापति र कृष्णप्रसाद सिटौलालाई महामन्त्रीका लागि गरेको मनोनयन प्रस्ताव केन्द्रीय समितिले पारित गरेको छ ।
शुक्रबारको बैठकमा सभापति कोइरालाले राखेको प्रस्तावमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाहेक अरुले विरोध गरेनन् । यसअघि शेरबहादुर देउवा पक्षधर तथा संस्थपन पक्षकै केन्द्रीय सदस्यहरु गगन थापा, सुजाता कोइराला, केवी गुरुङलगायतले प्रस्तावप्रति असहमति जनाउँदै आएका थिए ।
बैठकअघि सभापति कोइराला र नेता देउवाबीच महाराजगञ्जमा भएको छलफलमा बाँकी केन्द्रीय सदस्य र विभाग तथा बोर्डको गठनमा दुवै पक्षका नेताहरुलाई समेटेर लैजाने सहमति भएपछि पदाधिकारीहरुको मनोनयन सहज भएको हो । छलफलमा देउवा निकट विमलेन्द्र निधि र महामन्त्रीका प्रस्तावित कृष्ण सिटौला पनि सहभागी थिए ।
छलफलमा दुवै नेता प्याकेजमा सहमति गर्न राजी भएपछि पदाधिकारी मनोनयन प्रस्ताव पारित गर्न र भातृ संगठन विवाद अन्त्य गर्न कोइरालालाई सहज भएको हो । दुई नेताबीच पार्टीका विवाद समाधानका लागि दुवै पक्षका दुई(दुई जनालाई समेटेर टोली बनाउने सहमति भएको छ ।देउवाले शुक्रबारको बैठकमा आफ्नो भागमा परेको सहमहामन्त्रीमा कसैलाई प्रस्ताव गरेनन् ।
कांग्रेस उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौला
Read Time:1 Minute, 54 Second