काठमाडौँ, २८ चैत
सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तय गर्ने, सरकार सञ्चालन कार्यविधि तयार पार्ने र सरकारमा सहभागी हुने मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गर्नका लागि गठित कार्यदलले आज बेलुकासम्म आफ्नो कार्य सम्पन्न गर्ने भएको छ ।
सत्ता सहयात्री दल एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीचको हिजो भएको छलफलले दुई दिनभित्र प्रतिवेदन तयार गर्नेगरी सो कार्यदल गठन गर्ने सहमति गरेको थियो । कार्यदलका सदस्य तथा एकीकृत नेकपा (माओवादी)का नेता देव गुरुङले आज तयार पारिने प्रतिवेदनलाई दुई दलका शीर्ष नेताबीच छलफल गराएर भोलिसम्म अन्तिम रुप दिइने बताए ।
सो कार्यदलमा एनेकपा (माओवादी)का तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू पोष्टबहादुर बोगटी, दिनानाथ शर्मा र देव गुरुङ हुनुहुन्छ भने एमालेका तर्फबाट उपप्रधानमन्त्री भरतमोहन अधिकारी, भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य रहेकाछन ।