काठमाडौँ, २७ चैत
सत्ता साझेदारीका विषयमा पछिल्लोपटक उत्पन्न सङ्कट समाधान गर्नका लागि सत्ता सहयात्री दल एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच कार्यदल गठन गर्ने सहमति भएको छ ।
सत्ता साझेदार एनेकपा (माओवादी) र नेकपा (एमाले)का शीर्ष नेताबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने, सरकार सञ्चालन कार्यविधि तयार पार्ने र मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गर्नका लागि सो कार्यदल गठन गर्ने सहमति भएको हो ।
विगत केही सयमदेखि सरकार गठनमा देखिएको ढिलाइ र सत्ता बाँडफाँडका विषयमा भएका अन्योलतालाई चिर्नका लागि दुई दिनभित्र सरकार सञ्चालनको न्यूनतम् साझा कार्यक्रम तय गर्ने, सञ्चालन कार्यविधि तयार पार्ने र आचारसंहिता निर्माण गर्न कार्यदल गठन गरिएको एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम् साझा कार्यक्रम तय गर्ने, सरकार सञ्चालनमा कस्तो कार्यविधि तयार पार्ने र सरकारमा प्रतिनिधित्व गर्नेहरुले पालना गर्नुपर्ने आचारसंहिता कस्तो रहने भन्ने बारेमा स्पष्ट खाका तयार गर्नुपर्ने छ ।
सत्ता साझेदार दुई दलका तर्फबाट चार–चारजना रहने गरी गठित सो कार्यदलमा एनेकपा (माओवादी)का तर्फबाट उपाध्यक्ष श्रेष्ठ, र नेताहरु पोष्टबहादुर बोगटी, दिनानाथ शर्मा र देव गुरुङ हुनुहुन्छ भने एमालेका तर्फबाट भरतमोहन अधिकारी, भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य रहेकाछन ।
छलफलमा सत्ता साझेदारी, बजेट र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल भएको जानकारी दिँदै एनेकपा (माओवादी)का उपाध्यक्ष श्रेष्ठले गृह मन्त्रालयका सम्बन्धमा अर्को वार्ता सकारात्मक भएपछि मात्र सरकारमा अन्य मन्त्री पठाइने बताए ।
छलफलमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालसँग सरकार गठनताका भएको सातबुँदे सहमतिअनुरुप गृह मन्त्रालय माओवादीलाई दिनुपर्ने अडान एनेकपा (माओवादी)ले अघि सारेपछि प्रधानमन्त्रीले सो विषयमा छलफल अगाडि बढाउन नमानेकाले तत्काललाई आफ्नो पार्टीका तर्फबाट अन्य मन्त्री सरकारमा नपठाउने निर्णयमा एमाओवादी पुगेको जनाइएको छ ।
छलफलमा पूरक बजेट ल्याउने की पूर्ण बजेट ल्याउने भन्ने विषयमा अन्य दलहरुको आर्थिक राय समेट्ने गरी बजेट ल्याउन सैद्धान्तिक सहमति भएकाले यस विषयमा छिट्टै निर्णय लिइने जनाइएको छ ।
गत माघ २० गते प्रधानमन्त्री बन्नुभएका झलनाथ खनाल नेतृत्वको सरकारले सत्ता साझेदार पार्टीबीचको विवादका कारण अहिलेसम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एनेकपा (माओवादी)ले गरेको निर्णायक वार्ताका क्रममा आज दोस्रोपटक सो छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री खनाल, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष दाहाल र सरकारलाई पूर्ण दिन दुई दलका नेता सम्मिलित वार्ता टोलीका सदस्यहरुको पनि उपस्थिति थियो ।