पोखरा, २६ चैत
नेपाल सितोरियो कराँते सङ्घको मातहतमा रहेको अर्मला डोजोको आयोजना तथा रिभरेल स्कुलको सहयोगमा अर्मला गाविसको जोगिमडीस्थित रिभरडेल स्कुलको प्राङ्गणमा शनिबारदेखि ११ औं कास्की जिल्लास्तरीय कराँते प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक यादवराज खनालले व्यक्तिगतरूपमा खेलिने कराँते खेलले आत्मरक्षाको साथै देशको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरैभन्दा धेरै मेडल दिलाउन सक्ने बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलकुदको विकासको लागि सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिंदै पोखरामा सक्रिय खेलमध्ये कराँते पनि रहेको दाबी गरे ।
खेलकुद पत्रकार मञ्च कास्कीका सचिव प्रेमनारायण न्यौपानेले विगतका एसियन गेम तथा साफ गेममा मार्सल आर्टले नेपाललाई धेरै मेडल जिताउन सफल भएको भए पनि खेलकुदमा चरम राजनीति बढेकोले अपेक्षाकृत सफलता हात पार्न नसकेको बताए ।
रिभरडेल स्कुलका संस्थापक विजय गुरुङले आफूले खेलको कराँते विकास हुने ठानेर नै सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास दिलाए।
सो अवसरमा पत्रकारितामार्फत कराँते खेलको विकास, विस्तार, प्रवद्र्धन तथा कराँते खेलका गतिविधिलाई जनसमक्ष पु¥याएको भन्दै खेलकुद पत्रकारहरु प्रेमनारायण न्यौपाने, विनोद लामिछाने, दिननाथ बराल र शिव शर्मालाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक यादवराज खनालले सम्मानपत्रले सम्मान गरेका थिए। यस्तै कास्की जिल्लामा सितोरियो खेल भिœयाउने एल बी थापालाई पनि सो अवसरमा सम्मान गरिएको थियो।
महिलातर्फ सात तथा पुरुषतर्फ आठ गरी १५ ईभेन्टमा प्रतिस्पर्धा हुने सो प्रतियोगितामा कास्कीका विभिन्न स्थानमा रहेका १२ वटा डोजोबाट एक सय ९३ जनाले प्रतियोगितामा सहभागी छन् । छ-छ महिनामा निरन्तर हुँदै आएको उक्त प्रतियोगिताबाट सङ्घले कास्कीबाट १२ राष्ट्रिय तथा आठजना अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको छ ।
सोही अवसरमै रेफ्रीद्वय कृष्णकुमार लामा र सुब्बा गुरुङलाई राष्ट्रिय रेफ्रीको प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता सञ्चालन गर्न अफिसियलको तर्फबाट राष्ट्रिय रेफ्री कृष्णकुमार लामा र खेलाडीको तर्फबाट नारायण केसीले सपथ लिएका थिए।
नेपाल सितोरियो कराँते सङ्घ कास्कीका अध्यक्ष फत्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धनकुमार लामाले स्वागत तथा दीपक केसीले सञ्चालन गरेका थिए।
प्रेम न्यौपाने