काठमाडौँ, २३ चैत
पछिल्लो समयमा संवैधानिक समितिमा देखिएको विवादमा सहमति जुटाउन प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको अनौपचारिक बैठकले चैत २५ गते बस्ने संवैधानिक समितिको बैठकबाट निकास निकाल्ने सहमति गरेको छ ।
सिंहदरबारमा आज बिहान बसेको सो बैठकले संविधान लेखनका क्रममा दलहरूबीच देखिएका विवाद सहमतिमा परिणत गर्ने र दलित तथा मुस्लिम समुदायका जायज मागलाई सम्बोधन गरी संविधानमा समेटिने पनि जनाएको छ ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक समितिमा देखिएको गतिरोध अन्त्य गर्नेलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको जानकारी दिए ।
बैठकमा विवाद समाधान उपसमितिको संरचना परिवर्तन गर्ने सम्बन्धमा आफ्नो पार्टीले प्रस्तुत गरेको विषयमा संवैधानिक समितिको चैत २५ गते बस्ने बैठकले संरचना परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गरिने वताए ।
संविधानका विषयमा देखिएका २१० वटा असहमतिका बुँदामध्ये ३० वटामा मात्रै सहमति जुट्न बाँकी रहेको र विवाद समाधान उपसमितिको संयोजकको छिनोफानो भई दलहरूबीच सहमति कायम हुन सकेमा तोकिएको समयभित्रै संविधान लेखन कार्यले पूर्णता पाउनेमा नेताहरूको जोड रहँदै आएको छ ।