काठमाडौं, चैत्र २०
माओवादी पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सिन्धुपाल्चोक पुगेका माओवादी नेताहरुले आन्तरिक विवाद मिलाएरमात्रै छलफल टुंग्याउने वताएका छन् ।
बैठक सुरु हुनेवित्तिकै उदघाटन, भेटघाटको निम्तो आएर पूरा समय दिन नसकिएको भन्दै नेताहरु स्थायी समितिको बैठकका लागि शनिबार सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्ट पुगेका हुन् । विवाद मिलाएर उठ्नकै लागि उपाध्यक्ष मोहन वैद्यले आइतबार राजधानीको एक कार्यक्रम स्थगन गरेका छन् ।
दोस्रो दिन पनि बिहानैदेखि बसेको बैठकमा पार्टीका शीर्षस्थ तीन नेताबीच बढेको विवाद मिलाउन प्रयास भइरहेको एक नेताले जानकारी दिए । समसामयीक राजनीति र पार्टी विवादबारे शनिबार बसेको बैठकमा स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए ।
जारी बैठकले पार्टीबाट सरकारमा जाने थप व्याक्तिको नाम समेत टुंगो लगाइने बताइएको छ । माओवादीले केहीलाई सरकारमा पठाए पनि शीर्षष्थ नेताको विवादका कारण मन्त्रिमण्डलमा सहभागी सबैको नाम तय गर्न सकेको छैन ।
यस्तै शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा समेत माओवादीले ठोस निर्णय गर्ने बताएको छ । शनिबार बसेको बैठकमा स्थायी समिति सदस्यबीच पार्टी विवादबारे आरोप, प्रत्यारोप भएको थियो ।