काठमाडौँ, १८ चैत
व्यवस्थापिका–संसद, सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संविधानसभाका सदस्यहरूको कूटनीतिक राहदानी दुरुपयोग भएको सम्बन्धमा प्राथमिकताका साथ छानबिन कार्य अघि बढाउन निर्देशन दिएको छ ।
समितिको आज बिहान बसेको बैठकमा आयोगका सचिव भगवतीप्रसाद काफ्ले र सहसचिव रामकुमार आचार्यसँगको छलफलमा राहदानी दुरुपयोगको विषय सभासद्हरूको प्रतिष्ठासँग जोडिएकोले यो विषयलाई प्राथमिकतामा राखी चाँडो छानबिन गर्न निर्देशन दिएको हो ।
सचिव काफ्लेले १२ देखि १५ सभासद्को कूटनीतिक राहदानी दुरुपयोगसम्बन्धी आयोगमा परेको उजुरीका सम्बन्धमा दुईजनाको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले सभासद्द्वय बीपी यादव र गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग भएको विषयमा दुवैजनाको राहदानी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको बताए ।
बैठकमा सहभागीहरूले सभासद्हरूले मात्र नभई अन्यले पनि कूटनीतिक राहदानीको दुरुपयोग गरेकाले तिनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका थिए ।