काठमाडौँ, १६ चैत
संवैधानिक समितिको आजको बैठकले विवाद समाधान उपसमितिको समयावधि आगामी वैशाख १ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
विवाद उपसमितिको योसमेत गरी तीनपटक थप गरिएको हो । बैठकले संविधान लेखनका क्रममा देखिएका विवादहरु सुल्झाउने काममा महत्वपूर्ण निर्वाह गर्दै आएको छ । संविधान लेखनका क्रममा राजनीतिक दलहरुबीच शासकीय स्वरूप, राज्य पुनःसंरचनालगायतका १०० भन्दा बढी विवाद कायमै छन् ।
संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले विवाद उपसमितिको म्याद वैशाख १ गतेसम्म विस्तार गरिएको र सो समितिले संविधान लेखनका क्रममा देखिएका विवादहरु क्रमशः समाधान गर्दै आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्ने विश्वास व्यक्त गरे ।
एनेकपा (माओवादी)का अध्यक्ष एवम् विवाद समाधान उपसिमितका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसमितिको म्याद हिजो सकिएकाले वैशाख १ गतेसम्मका लागि म्याद थप्ने निर्णय आजको बैठकले गरेको बताए ।
माओवादीका नेता देव गुरुङले उपसमितिको संयोजकमा माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठको आफ्नो पार्टीको तर्फबाट प्रस्ताव गरिएकोमा अन्य दलहरुबाट त्यसमा विवाद खडा गरिएको आरोप लगाए ।
उपसमितिको मङ्गलबारको बैठकमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण बैठक प्रभावित हुन सक्ने भएकाले उपसमितिको संरचना हेरफेर गर्नुपर्नेबारे छलफल भएको थियो ।