लमजुङ, १५ चैत
गोरखाको सुदूर उत्तरमा रहेको छेकम्पार गाउँ विकास समितिमा बाटो खन्ने क्रममा सोमबार पाँच मजदुरको माटो र ढुङ्गाले पुरिएर मृत्यु भएको छ ।
छेकम्पार गाविसमा गाउँ विकास समितिबाट विनियोजन भएको रकमबाट वडा नम्बर ६ र ७ मा पर्ने पाङ्धा गाउँमा बाटो खन्ने क्रममा सोमबार दिउँसो ४ः३० बजे ढुङ्गा माटोको ढिस्कोले पुरेर स्थानीय दोर्जे लामा, आङ्दो लामा, डुप लामा, बुझ्यो लामा र याङ्जेल लामाको घटनास्थलमा नै मृत्यु भएको हो ।
खुन्जु खोला नजिक रहेको उक्त बाटो खन्नका लागि दुईवटा गाउँबाट स्थानीय बासिन्दाको सहभागिता रहेको स्थानीय दावाग्यालजेन लामाले जानकारी दिनुभयो ।
गोरखा सदरमुकामदेखि हिँडेर छ दिनमा पुग्न सकिने उक्त स्थानमा रहेको प्रहरी चौकीबाट घटना थाहा भएलगत्तै उद्धारका लागि सातजना प्रहरी गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।