काठमाडौँ, १४ चैत
एनेकपा (माओवादी) उपाध्यक्ष डा. बाबुराम भट्टराईले समय भड्किसकेकाले अब राज्य पुनःसरचना आयोग गठन गर्दा तोकिएको समयमा संविधान जारी गर्न कठिन हुने बताएकाछन ।
संवैधानिक समितिको आजको बैठकमा भाग लिएर बाहिरिएपछि लगतै कुराकानी गर्दै उनले भने– संवैधानिक व्यवस्था भएको हुनाले सयममै आयोग गठन गर्न सकेको भए राम्रो हुन्थ्यो, तर अब सयम भड्किसकेको छ, अहिले आएर आयोग गठन गर्दा बाँकी समयमा संविधान जारी गर्न भ्याइँदैन ।
संविधान लेखनका क्रममा दलहरुबीच देखिएका विमतिहरु सुल्झाउने विषयमा संवैधानिक समितिमा राम्रो ढङ्गले छलफल भइरहेको र निष्कर्ष सकारात्मक आए दलहरुले नै संविधानको प्रक्रिया निर्धारण गरेकाले प्रक्रिया छोट्टयाएर भए पनि जेठ १४ गते संविधान जारी गर्न सकिन्छ भने ।
संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले राज्य शक्तिको बाँडफाँड र राज्य पुनःसरचनासम्बन्धी विषयमा छलफल जारी रहेको र यी विषयमा रहेका ७८ विवादित बुँदामध्ये २४ वटा बुँदामा सहमति कायम भएको बताए ।
उनले अहिलेकै ढङ्गले काम अगाडि बढे दुई तीन दिनभित्रमा नै एकसरो छलफल सकिने र प्रदेशको निर्माण, सङ्ख्यालगायतका विषय राजनीतिक तहमा निर्णय गर्न सकिने भए पनि विज्ञहरुको राय सल्लाहसहितको योगदान आवश्यक छ भन्ने पक्षमा समितिमा भनाइ आएको बताए ।
समितिका सदस्य लोकेन्द्रबहादुर चन्दले राज्य पुनःसरचनासम्बन्धी विषयमा बैठकमा छलफल केन्द्रित रहेको र थोरै समय दिएर भए पनि राज्य पुनःसरचना आयोगको सुझाव लिनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।
अर्का सदस्य चित्रबहादुर केसीले सङ्घीयता चाहिन्छ भन्ने पक्षहरुबीच नै विमति देखिएको, मुलुकलाई कस्तो सङ्घीयतामा लान खोजिएको भन्ने स्पष्ट खाका कसैसँग नभएको बताए ।