भक्तपुर, १४ चैत
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य निकट मजदुर सङ्गठनबीच आज भक्तपुरमा झडप भएको छ ।
झडपमा तीन जना घाइते भएका छन् । कुटपिटको विषयमा भने दुवै पक्षले केही बताउन चाहेका छैनन् ।
सूर्यविनायकस्थित मजदुर कार्यालयमा भएको कुटपिटमा वैद्य निकट मानिएका सुन्दर श्रेष्ठ, देवराज गुरुङ र राजकुमार तिमल्सिना घाइते भएका छन् ।
घाइतेमध्ये गुरुङ र तिमल्सिनाको सल्लाघारीस्थित इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने श्रेष्ठको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको माओवादी जिल्ला कमिटी समितिका सचिव राजकाजी महर्जनले बताए ।
श्रेष्ठको टाउकामा गहिरो चोट लागेकाले २२ टाँका लगाइएको छ भने घाइते सबैको टाउको र अनुहारमा चोट लागेको छ ।
आज बिहान मजदुर कार्यालयमा तिमल्सिना, गुरुङ, श्रेष्ठ, दीपक डोटेल बसिरहेको अवस्थामा माओवादीका जिल्ला नेता भाष्कर प्रधानाङ्ग र सुरेश न्यौपानेको निर्देशनमा सुनिल गोठे, सानुकान्छा नेतृत्वमा आएको समूहले आक्रमण गरेको महर्जनले आरोप लगाए ।
भक्तपुर अस्पतालमा वैद्य निकट महर्जनको समूहले पत्रकार सम्मेलन गरी घटनामा संलग्न सुनिल गोठे, सानु कान्छा, श्याम ठोकर, सूर्य ब्लोन, उमा कपाली, भावना श्रेष्ठलाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेको बताए ।
महर्जनले जारी गरेको विज्ञप्तिमा भाष्कर प्रधानाङ्ग, सुरेश न्यौपानेलाई कारबाहीको सिफारिस गरेको उल्लेख छ ।
पत्रकार सम्मेलनमा खुकुरी, रड, ढुङ्गा प्रहार गरी घाइते बनाएको महर्जनले आरोप लगाए ।
यस्तै सूर्यविनायक घलातेस्थित दाहाल निकट मजदुर सङ्गठनले पनि आजै पत्रकार सम्मेलन गरी घटनामा आफ्नो समूहको संलग्नता नरहेको बताएको छ ।
अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सचिव एवम् भक्तपुरका इन्चार्ज ओम वाग्लेले पत्रकार सम्मेलनमा घटनामा आफ्नो पक्षको संलग्नता नरहेको बताए ।
मजदुर सङ्गठन र व्यवसायीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन गराउने पक्षमा आफ्नो समूह रहेको तर घाइते समूहले त्यसको विरोध गरेकाले विवाद सुरु भएको बताए ।