झापा ,१३ चैत । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले नेपाली काँग्रेससँग चलिरहेको वर्ता सकारात्मक भएकाले वर्तमान सत्ता गठबन्धनमा सो पार्टी पनि सहभागी हुने निश्चित भएको दाबी गरेकाछन ।
नेपाली काँगे्रससँग चलिरहेको वार्ता सकरात्मक छ, एमालेद्वारा गठित वार्ता टोलीका सदस्यसमेत रहेका ओलीले भने— “काँग्रेस सरकारमा सहभागी हुन्छ ।”
आगलागिबाट ध्वस्त भएको गोलधाप स्थित भुटानी शरणार्थी शिविरको अवलोकनका लागि आउनुभएका ओलीले आज झापाको भद्रपुरस्थित भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
उनले नेपाली काँगे्रस एउटा मुख्य सक्ति भएकाले त्यसलाई पाखा लगाएर शान्तिप्रक्रिया र संविधान निर्माणप्रक्रिया पूरा नहुने प्रतिक्रिया दिए ।
एक अर्को प्रसङ्गमा नेता ओलीले संविधान निर्धारित समयमै बन्ने ठोकुवा गर्दै तर एकीकृत माओवादी समयमै संविधान बन्न नदिने षडयन्त्रमा लागेको आरोपसमेत लगाए ।
गृहमन्त्रालयको विवादसम्बन्धी पत्रकारको जिज्ञासामा नेता ओलीले गृहमन्त्रालय एमालेले नै राख्ने बताउँदै पार्टीको निर्णयविपरीत प्रधानमन्त्री झलनाथ खनालले तलमाथि गर्न नपाउने बताए ।