काठमाडौं, चैत्र ११
राष्ट्रपति रामवरण यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेट भएको छ । शीतल निवासमा भएको भेटमा शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका विषयमा छलफल भएको छ ।
भेटमा राष्ट्रपति यादवले म्याद सकिन लाग्दा पनि संविधान निर्माण र शान्ति प्रक्रियाले गति लिन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । उनले ‘शान्ति प्रक्रिया र संविधान निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?’ भनी दाहालसमक्ष जिज्ञासा राखेका थिए ।
जवाफमा दाहालले संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले धेरै विवादित विषयमा सहमति जुटाइसेको बताएका थिए । ‘धेरै विवादित विषयहरुमा सहमति भइसकेको छ, बाँकी असहमतिका मुद्दामा पनि सहमतिको प्रयास भइरहेको जानकारी गराएँ,’ भेटपछि दाहालले सञ्चारकर्मीसित भने ।
दाहालले लडाकु समायोजनका लागि विशेष समितिले गठन गरेको कार्यदलले समायोजनको ‘मोडाडिटी’ तयार गरिरहेको भन्दै त्यसबारे छिट्टै ठोस कार्ययोजना ल्याइने जानकारी राष्ट्रपतिलाई दिएको बताए ।